देशका लागि साँच्चिकै राम्रो गर्ने हो भने सुर्तीजन्य पदार्थ उत्पादन बन्द गर्नुपर्छ : प्रा. डा. आचार्य (भिडियो)

सुर्तीजन्य पदार्थबाट निम्तिने समस्या समाधानका लागि सुर्तीजन्य पदार्थ उत्पादन कार्य नै बन्द गरिनुपर्ने वीर अस्पतालका क्यान्सररोग विभाग प्रमुख प्रा.डा. विवेक आचार्य बताउभयो । सरकारले दीर्घकालीन योजना ल्याएर सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योग र यसको उत्पादन नै बन्द गर्नुपर्ने उहाँको भनाइ छ ।
‘कर वृद्धिले मात्र त समस्या समाधान हुँदैन’, हेल्थपाटीसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘देशको लागि साँच्चिकै सोचेर गर्ने हो भने विकल्प दिएर दीर्घकालीन योजनाका साथ उत्पादन नै बन्द गर्नुपर्छ ।’
उहाँले बन्द गर्दा उद्योगमा काम गर्ने मजदुरलाई सरकारले अर्को रोजगारीको व्यवस्था गर्नुपर्ने, उद्योगलाई अन्य उत्पादनमुखी विकल्प दिनुपर्ने बताउनुभयो । ‘विकल्प दिएर बन्द गर्दा राज्यलाई दीर्घकालमा राम्रो हुन्छ’, उहाँले भन्नुभयो, ‘यसका लागि समय र लगानी आवश्यक हुन्छ । राज्यले व्यवस्था गर्न सक्नुपर्छ ।’ उहाँका अनुसार बन्द गर्नु नै सबभन्दा ‘अचुक’ उपाय हो । यसरी गर्दा कम्तिमा पनि १० देखि १२ वर्षको लामो योजना निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।
सुर्तीजन्य पदार्थको नियन्त्रण नगरिए आउँदो ३०-४० वर्षमा भयावह स्थिति आउने उहाँले चेतनावनी समेत दिनुभयो । पछिल्लो समय युवा तथा विद्यार्थी वर्गले चुरोटभन्दा हुक्का तथा इ-सिगरेट जस्ता चिज राम्रो भन्ने मानसिकताकासाथ सेवन गरिरहेकाले त्यस्तो स्थिति आउन सक्ने चेतावनी दिनुभएको हो । उहाँका अनुसार हुक्का चुरोटभन्दा खराब हुन्छ । 'यो कुरा युवाहरूलाई बुझाउन सकिएको छैन', उहाँले चिन्ता व्यक्त गर्नुभयो । सुर्तीजन्य पदार्थले शारिरीक र मानसिक दुवै स्वास्थ्य खराब हुने भन्नुहुँदै उहाँले सरकारले रणनीतिक कार्य तुरुन्त अघि ल्याउनुपर्ने बताउनुभयो ।
प्रा.डा. आचार्यका अनुसार सुर्तीले असर नगर्ने लगभग कुनै अङ्ग छैन । मुख, फोक्सो, आन्द्रा, नसा लगायतका विभिन्न अङ्गमा यसले असर गर्छ । पछिल्लो समय यसको असर महिलाको मुखको क्यान्सर गराउनमा समेत जिम्मेवार रहेको अध्ययनले देखाएको उहाँको भनाइ छ ।
हेर्नुहोस् प्रा.डा. आचार्यसँग हेल्थपाटीका लागि सन्तोष निरा राईले गर्नुभएको कुराकानी :
तपाईँको अभिमत