स्वास्थ्य अनुसन्धान परिषद्को नेतृत्वमा डा. सुधा बस्नेत
काठमाडौं । स्वास्थ्य अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै अनुसन्धानबाट प्राप्त प्रमाणलाई स्वास्थ्य नीति र सेवासँग जोड्ने जिम्मेवारीसहित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नेतृत्वमा डा. सुधा बस्नेत नियुक्त हुनुभएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै डा. बस्नेतलाई परिषद्को अध्यक्षमा नियुक्त गर्नुभएको हो। उहाँसँगै परिषद्को उपाध्यक्षमा प्रा.डा. नारायणबहादुर महोत्रा नियुक्त हुनुभएको छ।
त्यसैगरी परिषद्को सदस्यमा डा. गणेश दंगाल, डा. सन्तोषकुमार ठाकुर, डा. सतिशकुमार देव, डा. धर्मागत भट्टराई र डा. रबा थापा नियुक्त हुनुभएको छ।
नवनियुक्त अध्यक्ष डा. बस्नेत त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज मेडिकल क्याम्पसको बालरोग विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ। बालरोग विशेषज्ञका रूपमा चिकित्सकीय सेवामा सक्रिय उहाँ चिकित्सा शिक्षा र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा समेत लामो समयदेखि संलग्न हुनुहुन्छ।
डा. बस्नेतले भारतको युनिभर्सिटी अफ कलकत्ताबाट एमबीबीएस अध्ययन पूरा गर्नुभएको छ। उहाँले त्रिभुवन विश्वविद्यालयबाट बालरोगमा एमडी तथा नर्वेको युनिभर्सिटी अफ बर्गेनअन्तर्गत सेन्टर फर इन्टरनेसनल हेल्थबाट पीएचडी गर्नुभएको हो।
उपाध्यक्षमा नियुक्त प्रा.डा. महोत्रा पनि महाराजगञ्ज मेडिकल क्याम्पसमा क्लिनिकल फिजियोलोजीका प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ। उहाँले चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमबीबीएस तथा क्लिनिकल फिजियोलोजीमा एमडी गर्नुभएको छ। उहाँले जनरल मेडिसिनमा प्रमाणपत्र तहको अध्ययनसमेत पूरा गर्नुभएको छ।
स्वास्थ्य अनुसन्धानको क्षेत्रमा पनि डा. महोत्राको अनुभव रहेको छ। उहाँले यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नैतिक समीक्षा समिति (एथिकल बोर्ड) मा रहेर अनुसन्धानसम्बन्धी कार्यमा योगदान पुर्याउनुभएको थियो।
परिषद्को नयाँ नेतृत्वले स्वास्थ्य अनुसन्धानको गुणस्तर अभिवृद्धि, अनुसन्धानका लागि आवश्यक प्राथमिकता निर्धारण तथा अनुसन्धानबाट प्राप्त निष्कर्षलाई स्वास्थ्य नीति र सेवामा उपयोग गर्ने विषयलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्रीको सचिवालयका अनुसार नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले स्वास्थ्य अनुसन्धानलाई थप व्यवस्थित, गुणस्तरीय र प्रमाणमा आधारित बनाउँदै अनुसन्धानका उपलब्धिलाई स्वास्थ्य नीति निर्माण तथा सेवा प्रवाहसँग जोड्ने दिशामा काम गर्नुहुनेछ।
नेपालको स्वास्थ्य क्षेत्रमा भइरहेका अनुसन्धानलाई व्यवहारिक रूपमा उपयोग गर्ने र अनुसन्धानका निष्कर्षलाई नीति निर्माणको आधार बनाउने विषय महत्वपूर्ण रहँदै आएको छ। नयाँ नेतृत्वले अनुसन्धानकर्ता, स्वास्थ्य संस्था र नीतिनिर्माण तहबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउँदै अनुसन्धानको प्रतिफल जनस्वास्थ्य सुधारमा उपयोग गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ।
हेल्थपाटी
तपाईँको अभिमत