तीन सय परिवारको पुनःस्थापनाका लागि युएसभी फार्माको डेढ करोड सहयोग
काठमाडौँ, भदौ २६ गते । बाढीपछि घरबारविहीन भई अस्थायी आश्रयमा बसिरहेका परिवारलाई सुरक्षित बसोबास र आधारभूत सुविधा उपलब्ध गराउने उद्देश्यले नेपाल चिकित्सक सङ्घले राहत तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा हिमबाढीका कारण प्रभावित परिवारलाई लक्षित गरी सञ्चालन हुने उक्त अभियानका लागि युएसभी फर्मास्युटिकल्सले एक करोड ५० लाख रुपियाँ सहयोग उपलब्ध गराएको छ । सङ्घका अनुसार सहयोगबाट करिब तीन सय परिवारका एक हजार पाँच सय जनालाई प्रत्यक्ष लाभ पुग्नेछ ।
बाढीबाट प्रभावित परिवारको अवस्था र स्थानीय आवश्यकताका आधारमा राहत कार्यक्रम सञ्चालन गरिने नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजालले बताउनुभयो । प्रभावित क्षेत्रमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमार्फत आवश्यकताको विवरण सङ्कलन गरी सोही आधारमा सामग्री तथा सेवा उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।
डा. रिजालका अनुसार राहत कार्यक्रमलाई केवल तत्काल खाद्यान्न तथा सामग्री वितरणमा सीमित नराखी प्रभावित परिवारलाई सामान्य जीवनमा फर्काउन आवश्यक सहयोग उपलब्ध गराउने गरी अघि बढाइनेछ । घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माणलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।
अस्थायी आवाससँगै प्रभावित परिवारलाई ओछ्यान, ओढ्ने सामग्री, सौर्य बत्ती र मोबाइल चार्ज गर्ने सुविधा उपलब्ध गराउने योजना रहेको छ । बाढीका कारण खानेपानी तथा सरसफाइमा समस्या भएका स्थानमा स्वच्छ खानेपानी र सरसफाइका सामग्री पनि उपलब्ध गराइने सङ्घले जनाएको छ ।
प्रभावित समुदायको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी आवश्यक औषधि तथा स्वास्थ्य सामग्री वितरण गरिनेछ । बाढीपछि स्वास्थ्य संस्था तथा नियमित स्वास्थ्य सेवामा पहुँच प्रभावित भएका परिवारलाई आवश्यक स्वास्थ्य सहायता उपलब्ध गराउने तयारीसमेत गरिएको डा. रिजालले बताउनुभयो ।
यसै क्रममा बिहीबार नेपाल चिकित्सक सङ्घ र युएसभी फर्मास्युटिकल्सबीच राहत सहयोगसम्बन्धी सम्झौता भएको छ । सङ्घका अध्यक्ष डा. रिजाल र युएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज एस. सिसोडियाले सम्झौतापत्र आदानप्रदान गर्नुभएको थियो ।
युएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत सिसोडियाले विपद्को समयमा प्रभावित समुदायलाई सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्वसँग जोडिएको विषय भएको बताउनुभयो । स्वास्थ्य तथा औषधि क्षेत्रमा कार्यरत संस्थाका रूपमा विपद्बाट प्रभावित परिवारको आवश्यकतामा सहयोग पु¥याउनु आफ्नो दायित्वसमेत भएको उहाँले बताउनुभयो ।
राहत सही व्यक्तिसम्म पुग्न स्थानीय आवश्यकता पहिचान महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष संलग्नतामा सञ्चालन हुने अभियानबाट सहयोग प्रभावकारी रूपमा प्रभावित परिवारसम्म पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
युएसभी फर्मास्युटिकल्सका नेपाल प्रमुख सुरज श्रेष्ठले विपद्का कारण तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउन चिकित्सक सङ्घसँग सहकार्य गरिएको बताउनुभयो । स्वास्थ्यसँगै प्रभावित परिवारको दैनिक जीवन सहज बनाउन आवश्यक सामग्री उपलब्ध गराउनेतर्फ पनि सहयोग केन्द्रित गरिने उहाँले बताउनुभयो ।
युएसभी फार्माका मानव संसाधन विभाग प्रमुख रोहित शर्माले विपद्पछिको पुनःस्थापना लामो प्रक्रिया भएकाले सरकारी निकाय, निजी क्षेत्र, स्वास्थ्य संस्था र सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । प्रभावित परिवारको वास्तविक आवश्यकताअनुसार सहायता पु¥याउन सामूहिक पहल प्रभावकारी हुने उहाँले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत