स्वास्थ्य व्यवसायी परिषद्को नेतृत्वमा सगुन पौडेल
काठमाडौं, । स्वास्थ्य नीति, स्वास्थ्य प्रणाली र जनस्वास्थ्यका क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका सगुन पौडेल नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा नियुक्त हुनुभएको छ।
स्वास्थ्य क्षेत्रमा १३ वर्षभन्दा लामो व्यावसायिक अनुभव सम्हाल्नुभएका पौडेलले समुदायस्तरका स्वास्थ्य संस्थादेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थासम्म विभिन्न प्राविधिक तथा नेतृत्वदायी जिम्मेवारी निर्वाह गर्नुभएको छ।
उहाँले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नेपाल, आरटीआई इन्टरनेसनल, अन्तर्राष्ट्रिय रेडक्रस तथा क्यानडियन रेडक्रस, यूएस फार्माकोपिया र क्राउन एजेन्ट्सलगायतका संस्थामा रहेर स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न जिम्मेवारी सम्हाल्नुभएको हो।
स्वास्थ्य प्रणालीको सुदृढीकरण, स्वास्थ्य नीति तथा योजना निर्माण, स्वास्थ्य क्षेत्रको वित्तीय व्यवस्थापन, स्वास्थ्य जनशक्ति विकास तथा कार्यान्वयन अनुसन्धान पौडेलका प्रमुख कार्यक्षेत्र हुन्। यी क्षेत्रमा प्राप्त अनुभवले परिषद्को नियमनकारी तथा व्यावसायिक भूमिकालाई थप प्रभावकारी बनाउन उहाँलाई सहयोग पुग्ने विश्वास गरिएको छ।
पौडेलको शैक्षिक पृष्ठभूमि पनि स्वास्थ्य नीति, जनस्वास्थ्य र स्वास्थ्य व्यवस्थापनसँग सम्बन्धित छ। उहाँले बेलायतस्थित लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन तथा लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्वास्थ्य नीति, योजना तथा वित्तसम्बन्धी स्नातकोत्तर अध्ययन गर्नुभएको छ।
त्यसैगरी, इन्डोनेसियाको योग्याकार्तास्थित गाड्जाह माडा विश्वविद्यालयको चिकित्सा, जनस्वास्थ्य तथा नर्सिङ संकायबाट उहाँले सन् २०१९ मा जनस्वास्थ्यमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको हो। उहाँले पोखरा विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातक तहको अध्ययन पूरा गर्नुभएको छ।
स्वास्थ्य व्यवसायीको व्यावसायिक दक्षता र सेवा गुणस्तर कायम गर्न परिषद्को भूमिका महत्वपूर्ण रहन्छ। स्वास्थ्य व्यवसायीको दर्ता, व्यावसायिक मापदण्डको पालना तथा नियमनसँगै क्षमता अभिवृद्धि र पेशागत विकासका विषयमा परिषद्ले काम गर्दै आएको छ।
नवनियुक्त अध्यक्ष पौडेलको स्वास्थ्य नीति, प्रणाली विकास तथा जनशक्ति व्यवस्थापनसम्बन्धी अनुभवलाई परिषद्को कामसँग जोडेर अघि बढाउन सके स्वास्थ्य व्यवसायीको व्यावसायिक मापदण्ड तथा सेवा गुणस्तर सुधारमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
पौडेलको नेतृत्वमा परिषद्ले स्वास्थ्य व्यवसायीको व्यावसायिक क्षमता विकास, नियमन प्रणालीलाई थप प्रभावकारी बनाउने तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा केन्द्रित भएर काम गर्ने विश्वास गरिएको छ।
हेल्थपाटी
तपाईँको अभिमत