नेपालमै पहिलो पुरुष स्वास्थ्य क्लिनिक सञ्चालनमा
काठमाडौँ । पुरुषमा देखिने यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या पहिचान र उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपालकै पहिलो पुरुष स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ ।
पुरुषमा देखिने यौन दुर्बलता, यौन इच्छा तथा उत्तेजनामा कमी, यौनसम्पर्कका क्रममा हुने पीडा, चरम आनन्द प्राप्त गर्न नसक्ने तथा यौन सन्तुष्टि नहुनेलगायतका समस्याको एकीकृत रूपमा पहिचान र उपचार गर्ने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको हो ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए), सुनौलो परिवार नेपाल र स्थानीय एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल)को सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले क्लिनिक सञ्चालनमा ल्याएको हो ।
मंगलबार आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्राडा मोहनराज शर्माले क्लिनिकको शुभारम्भ गर्नुभयो । उहाँले पुरुष स्वास्थ्यका समस्या लामो समयदेखि पर्याप्त रूपमा सम्बोधन हुन नसकेको अवस्थामा विभिन्न विधाका विशेषज्ञको समन्वयमा सेवा सुरु हुनु महत्वपूर्ण भएको बताउनुभयो ।
पुरुष स्वास्थ्य क्लिनिक सञ्चालनको नेतृत्व गर्नुभएका महाराजगञ्ज मेडिकल क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. खेमबहादुर कार्कीले पुरुषका यौन स्वास्थ्यसम्बन्धी समस्या एउटा मात्र रोग वा एउटा मात्र चिकित्सकीय विधासँग सम्बन्धित नहुने बताउनुभयो ।
“पुरुषका यौनसम्बन्धी समस्या बृहत् र बहुपक्षीय हुन्छन् । एउटै समस्याको पछाडि शारीरिक, हर्मोनसम्बन्धी, स्नायुसम्बन्धी तथा मानसिक कारण हुन सक्छन् । त्यसैले एउटै ठाउँबाट विभिन्न विशेषज्ञको सेवा उपलब्ध गराउने गरी क्लिनिक स्थापना गरिएको हो,” उहाँले बताउनुभयो ।
उहाँका अनुसार यौन इच्छामा कमी हुनु, यौन उत्तेजना नहुनु वा कम हुनु, चरम आनन्दको अवस्थामा पुग्न नसक्नु, यौनसम्पर्क गर्दा पीडा हुनु र यौन सन्तुष्टि प्राप्त गर्न नसक्नेजस्ता समस्या पुरुषमा देखिने गरेका छन् । यस्ता समस्या उमेर बढ्दै जाँदा मात्र देखिने नभई विभिन्न शारीरिक तथा मानसिक कारणले जुनसुकै उमेरमा देखिन सक्ने उहाँले बताउनुभयो ।
तीनमध्ये दुईमा समस्या
डा. कार्कीका अनुसार सन् २०२४ मा नेपालका ३४ जिल्लालाई समेटेर गरिएको राष्ट्रियस्तरको अध्ययनले यौन स्वास्थ्यसम्बन्धी समस्या उल्लेख्य रहेको देखाएको थियो । अध्ययनले पुरुषमा यौन दुर्बलताको समस्या ७२ प्रतिशतसम्म रहेको देखाएको उहाँले जानकारी दिनुभयो ।
“नेपालमा पहिलो पटक राष्ट्रियस्तरमा गरिएको अध्ययनले पुरुषमा यौन दुर्बलताको समस्या ठूलो रहेको देखाएको थियो । तर, समस्या भए पनि उपचारका लागि कहाँ जाने भन्ने स्पष्ट र एकीकृत सेवा थिएन,” उहाँले भन्नुभयो, “महिलाका लागि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवामार्फत यौन स्वास्थ्यका समस्या सम्बोधन गर्ने संरचना थिए । पुरुषका लागि भने छुट्टै एकीकृत सेवा अभाव थियो । त्यसैले यो क्लिनिक सुरु गरिएको हो ।”
चिकित्सकका अनुसार पुरुषमा देखिने यौन स्वास्थ्यसम्बन्धी समस्या केवल यौन जीवनसँग मात्र जोडिएको विषय होइन । उच्च रक्तचाप, मधुमेह, मुटु तथा रक्तनलीसम्बन्धी रोगलगायतका दीर्घकालीन नसर्ने रोगका कारण पनि यौन स्वास्थ्यमा असर पर्न सक्छ ।
त्यस्तै, हर्मोनको असन्तुलन, स्नायुसम्बन्धी समस्या, तनाव, चिन्ता तथा अन्य मानसिक स्वास्थ्यसम्बन्धी समस्याले पनि यौन क्षमतामा प्रभाव पार्न सक्ने चिकित्सकहरूको भनाइ छ ।
त्यसैले पुरुष स्वास्थ्य क्लिनिकमा समस्या देखिएको अंगको मात्र उपचार गर्नेभन्दा पनि समस्याको मूल कारण पहिचान गरी आवश्यकताअनुसार विभिन्न विधाका चिकित्सकको सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
चार विधाका विशेषज्ञबाट सेवा
शिक्षण अस्पतालका युरोलोजी विभाग प्रमुख डा. पवनराज चालिसेले पुरुष स्वास्थ्यसम्बन्धी समस्या धेरै भए पनि उपचारका लागि छुट्टै र समन्वित सेवा उपलब्ध नहुँदा धेरै पुरुष समस्या लिएर अस्पतालसम्म नआउने अवस्था रहेको बताउनुभयो ।
“पुरुषत्वसम्बन्धी स्वास्थ्य समस्या उल्लेख्य छ । तर, त्यसको समाधानका लागि कहाँ जाने र कसलाई देखाउने भन्ने अन्योल थियो । यही आवश्यकता पूरा गर्न पुरुष स्वास्थ्य क्लिनिक सञ्चालन गरेका हौँ,” उहाँले बताउनुभयो ।
हाल क्लिनिकबाट मूत्ररोग, स्नायुरोग, मानसिक रोग तथा हर्मोन वा ग्रन्थीरोग विशेषज्ञबाट सेवा उपलब्ध हुने भएको छ । आवश्यकता हेरी सम्बन्धित अन्य विधाका विशेषज्ञको सेवा पनि जोड्दै जाने तयारी अस्पतालको छ ।
डा. चालिसेका अनुसार पुरुष स्वास्थ्यसम्बन्धी सेवा थप प्रभावकारी बनाउन यस क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न चिकित्सकलाई विशेष प्रशिक्षण तथा फेलोसिपका लागि पठाउने तयारीसमेत भइरहेको छ ।
कार्यक्रममा हर्मोनरोग विशेषज्ञ डा. नरेश पराजुली तथा मानसिक रोग विशेषज्ञ प्राडा मनिषा चापागाईँले पनि पुरुष स्वास्थ्यका समस्या शारीरिक अवस्थासँग मात्र नभई मानसिक स्वास्थ्य तथा जीवनशैलीसँग समेत जोडिने भएकाले बहुविशेषज्ञ सेवा आवश्यक रहेको बताउनुभयो ।
कसरी पाइन्छ सेवा ?
पुरुष स्वास्थ्य क्लिनिकमा हरेक दिन बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म प्रारम्भिक परीक्षण तथा स्वास्थ्य जाँच गरिने भएको छ । सोमबार, मंगलबार र बिहीबार समस्याको प्रकृतिअनुसार सम्बन्धित विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध गराइनेछ ।
सेवा लिन चाहने सेवाग्राहीले अस्पतालको बहिरङ्ग सेवा (ओपिडी)बाट पुरुष स्वास्थ्य क्लिनिकको टिकट लिनुपर्नेछ । त्यसपछि आवासीय चिकित्सकले प्रारम्भिक परीक्षण र समस्या पहिचान गर्नेछन् । प्रारम्भिक परीक्षणबाट थप विशेषज्ञ सेवा आवश्यक देखिएमा सम्बन्धित विशेषज्ञ चिकित्सककहाँ पठाउने व्यवस्था गरिएको डा. कार्कीले बताउनुभयो ।
उहाँका अनुसार पुरुषले यौन स्वास्थ्यसम्बन्धी समस्या खुलेर बताउन नसक्ने तथा लाज र सङ्कोचका कारण उपचारमा नआउने समस्या पनि रहेको छ । यही कारण कतिपय सामान्य रूपमा उपचार गर्न सकिने समस्या लामो समयसम्म जटिल बन्ने गरेको उहाँले बताउनुभयो ।
पुरुष स्वास्थ्यलाई यौन स्वास्थ्यमा मात्र सीमित नगरी शारीरिक, मानसिक तथा प्रजनन स्वास्थ्यसँग जोडेर हेर्नुपर्ने भएकाले क्लिनिकले समग्र पुरुष स्वास्थ्य सेवामा नयाँ सुरुवात गर्ने अस्पतालको अपेक्षा छ ।
हेल्थपाटी
तपाईँको अभिमत