नेपालमा वर्षेनी ४ हजार जनालाई मुखको क्यान्सर, प्रमुख कारक सुर्तीजन्य पदार्थ
नेपालमा वर्षेनी करीब ३५ हजार क्यान्सरका नयाँ बिरामी थपिन्छन्। क्यान्सरका कारण २० हजार जनाको मृत्यु हुने गरेको छ। नेपालमा फोक्सो, स्तन, पाठेघर, मुखको क्यान्सर अत्याधिक हुने गरेको पाइन्छ।
विज्ञहरूका अनुसार सबैखाले क्यान्सर लाग्नुको कारणमा ३३ प्रतिशत हिस्सा सुर्तीजन्य पदार्थ रहेको रहेको छ। अस्पतालहरुको तथ्यांक हेर्ने हो भने नेपालमा प्रत्येक वर्ष झण्डै ४ हजार जनालाई मुखको क्यान्सर हुने गरेको छ।
नाक, कान, घाँटी तथा क्यान्सररोग सर्जन डा.बजरंग प्रसाद शाहका अनुसार सामान्यतः अनुहारमा देखिने नाक, कान, मुख, आँखा, गालालाई मुख भन्ने बुझाइ छ। तर मुखको क्यान्सरमा गाला, जिब्रो, गिजामाथि र तलको दाँत जोडिएको हाड तथा ओठ पर्दछ। मुखको क्यान्सर नेपालमा पाचौँ नम्बरमा पर्दछ।
मुखको क्यान्सर नेपालमा पहिला देखि नै उच्च स्थानमा छ। अहिलेको तुलनामा पहिला यस्तो समस्या हुनेहरू अस्पताल नै पुग्दैनन् थिए। जसका कारण रोगको पहिचान हुँदैनथ्यो। अहिले ढिलै भएपनि अस्पताल आउने क्रम बढ्दा केस बढेको जस्तो देखिएको डा.शाहको भनाइ छ।
पहिला-पहिला क्यान्सर बुढ्यौलीमा लाग्ने रोग भन्ने सोचाइ थियो तर अहिले २०-२२ वर्षकै उमेरमा क्यान्सर देखिरहेको छ।
कुनैपनि क्यान्सरको कारकमा पहिलो नम्बरमा सुर्तीजन्य पदार्थको प्रयोग रहेको छ। क्यान्सर हुने कारकमध्ये ३३ प्रतिशत कारक सुर्तीजन्य पदार्थको प्रयोग हो। अर्काे मद्यपान हो। त्यसैले अध्ययनहरुले के देखाएका छन् भने धुम्रपान र मद्यपान नियन्त्रण गरे ५० प्रतिशत क्यान्सर घट्छ। मधु, सुपारी, रजनीगन्धा, गुट्खा, खैनी लगायतका सुर्तीजन्य पदार्थको प्रयोग नै मुख क्यान्सरको प्रमुख कारण हो। अहिले स्कुल कलेजका धेरै विद्यार्थी पनि धुम्रपानको लतमा छन्। जसका कारण युवा अवस्थामै उनीहरू क्यान्सरको शिकार हुनु परिरहेको क्यान्सर रोग सर्जन डा.शाह बताउनहुन्छ।
मुखको क्यान्सर, अरु क्यान्सरको तुलनामा छिट्टै पहिचान गर्न सकिन्छ। तर अन्तिम अवस्थामा पुगेपछि मात्रै बिरामीहरू अस्पताल पुग्ने गरेको डा.शाहले जानकारी दिनुभयो । यसरी अस्पताल पुग्दा बिरामीहरूले आफूलाई क्यान्सर भइसकेको अनुमानसमेत गरेका हुँदैनन्। क्यान्सर भइसक्दा उनीहरू सामान्य घाउ सोचिरहेका हुन्छन्।
तर अवस्था असामान्य बनिसकेको हुन्छ। समयमा नै अस्पताल पुग्नसकेको भए रोग पूर्णरुपमा निको हुनेथियो र कम खर्चमै उपचार हुनेथियो।
क्यान्सररोग विशेषज्ञ डा.शाह गिजा, गाला, जिब्रोमा आएको घाउ खटिरालाई सामान्य रुपमा लिन नहुने बताउनुहुन्छ।
घाउ २/३ हप्तासम्म पनि निको नभए चिकित्सकलाई जचाउँनुपर्छ।
सामान्य घाँउ ठानेर मेडिकलमा जचाएर औषधि खाने बानीले पनि धेरैलाई क्यान्सरको बिरामी बनाएको अनुभव उहाँ सुनाउनुहुन्छ।
क्यान्सरमा पहिलो र दोस्रो स्टेजलाई प्रारम्भिक अवस्था मानिन्छ। तेस्रो र चौथोलाई एड्भान्स स्टेज मानिन्छ। अहिलेसम्म आफूले हेरेकोमध्ये ८० प्रतिशत बिरामी एड्भान्स स्टेजमा अस्पताल आइपुगेको डा.शाहले जानकारी दिनुभयो। उहाँका अनुसार धेरै दुखाइ भएपछि, खान अप्ठेरो भएपछि, जिब्रो चल्नै छोडेपछि, दाँत पुरै हल्लेपछि, मासु नै फुटेर पीप र रगत भएपछि अन्तिम अवस्थामा कपडाले घाउ छोपेर अस्पताल आउने बिरामी धेरै हुन्छन्। कपडामै छाला, मासु टाँसिएको अवस्थामा क्यान्सरका बिरामीहरू आफूहरुकोमा आइपुग्ने गरेको अनुभव डा.शाह सुनाउनुहुन्छ।
दाँत हल्लियो भनेर आउँछन्,चारैतिर क्यान्सरले खोक्रो बनाएर दाँत हल्लिएको हुन्छ तर बिरामीलाई लाग्छ दाँत मात्रै हल्लिएको, घाउ सडेको गलेको अवस्थामा आइपुग्छन् शाह भन्नुहुन्छ, सामान्य औषधि लिने आशामा आएका उनीहरू आफूलाई क्यान्सर भएको पत्तो हुँदैन। पहिला नै घर परिवारमा कसैलाई क्यान्सर भएका परिवारका व्यक्तिहरू मात्रै सुरुवाती अवस्थामा अस्पताल आउने गरेको मैले पाएको छु।
सबैखाले क्यान्सरको उपचार सर्जरी, रेडियो थेरापी र किमोथेरापीमार्फत गरिन्छ। यदि पहिलो चरणमा अस्पताल आउन सके मुखको क्यान्सरको हकमा सर्जरी मात्रै गरेपनि हुनसक्छ।
एडभान्स अवस्थमा सर्जरीले मात्रै होइन रेडियोथेरापी पनि गर्नुपर्छ। कसै-कसैलाई किमोथरापी पनि आवश्यक पर्छ जसका कारण उपचार अनुसार खर्चको भार पनि थपिँदै जान्छ।
तपाईँको अभिमत