चुरोट, सुर्तीले मान्छेलाई मात्रै होइन, सडकलाई पनि रोगी बनाइरहेको छ
सडक तथा सार्वजनिकस्थल, बस स्टप जस्ता ठाउँमा उभिएर चुरोट तान्यो ठूटो फ्यात्त फाल्यो। हिँड्दै चुरोट तान्यो हुत्त ठूटो सडकमा फाल्यो । गाडीमा बसेर चुरोट तान्यो झ्यालबाट ठूटो सडकमा फाल्यो । गुड्खा, पराग स्वाट्ट मुखमा हाल्यो खोल फ्यात्त भुइमा फाल्यो ।

सुर्तीजन्य पदार्थ सेवन गर्ने सबैजसो नेपालीले बिनाहिचकिचाहट गर्ने हर्कत हो यो।
यो अति सामान्य जस्तो देखिएपनि शहरलाई कुरुप बनाउने, वातारण दूषित बनाउने कोणबाट हेर्दा निकै गम्भीर विषय देखिन्छ।
भर्खरै सफा गरेको ठाउँमा पनि उत्तिकै
बिहाबार काठमाडौंको बुद्धनगरस्थित एएसजी आँखा उपचार केन्द्रले बानेश्वर क्षेत्रमा सरसफाइ कार्यक्रम आयोजना गरेको थियो ।

आँखा उपचारका अलवा अस्पतालको सामाजिक उत्तरदायित्व समेत रहने भएकाले सरसफाई कार्यक्रम आयोजना गरेको केन्द्रका कर्पोरेट मेनेजर राजीव रञ्जन झाको भनाइ थियो।
सरसफाइ टोली केन्द्रको कार्यालय अगाडिबाट बानेश्वर हुँदै थापागाउँबाट घुम्दै पुनः वुद्धनगर फर्केको थियो। सडक किनार तथा फुटपाथ वरपर रहेका फोहोर टिपेर सरसफाइ गरिएको थियो।
ती अधिकाशं ठाउँमा सडक किनार तथा सडक पेटीलाई सबैभन्दा धेरै फोहोर चुरोटका ठूटा र गुड्खा, परागका खोल थिए। महानगरका कर्मचारीले बिहान सफा गरिसकेको फुटपाथ, सडक किनारमा पनि उत्तिकै रोटका ठूठा र गुड्खा, परागका खोल देखिन्थ्यो।

ती साना हुने र भुइमा, नालामा टाँस्एिर बस्ने भएकाले सरसफाइकर्मीले झाडु लगाएर बढार्दा, उठाउँमा पनि सजिलै आउँदैन र सडकमै रहन्छ।

यो कुनै लुकेको नयाँ तथ्य वा नयाँ विषय हुँदै होइन । तर कसैको ध्यान नपुगेको गम्भीर विषय भने पक्कै हो।
हामीले फुटपाथ, सडक किनार, नाला, सार्वजनिकस्थल, पार्क, शहरका अलिकति पनि खाली रहेका ठाउँमा हेर्यो भने त्यहाँका धैरैजसो ठाउँ चुरोटका ठूठा, अनि चुरोट खोल, गुड्खा, सुर्तीका खोलले ढाकेको देखिन्छ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानले केही महिनाअघि सार्वजनिक गरेको रिपोर्ट अनुसार प्रत्येक वर्ष नेपालमा सुर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५२९ जनाको मृत्यु हुने गरेको छ ।
यो आँकडा अनुसार प्रति घण्टा ४ जनाले सुर्तीजन्य पदार्थको सेवनका कारण ज्यान गमाइरहेका छन्।
नेपालमा हुने कुल मृत्युको १९.४१ प्रतिशत मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने पनि यस प्रतिवेदनले भनेको छ।
जसरी सुर्तीजन्य पदार्थको सेवन स्वास्थ्यका लागि ठूलो चुनौतीको रुपमा देखिएको छ, सुर्तीजन्य पदार्थको सेवनबाट निस्कने फोहोर पनि वातवरणका लागि ठूलै चुनौतीको रुपमा देखिन्छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ ले सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई दण्ड जरीवाना गर्ने व्यवस्था गरेको छ।
उक्त ऐन कत्ति पनि लागू हुन सकेको छैन भन्दा फरक पर्दैन । यसै ऐनमा टेकेर काठमाडौं महानगरले गत असोज १ गतेबाट सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थ प्रयोगलाई पूर्ण रुपमा निषेध गर्ने उर्दी जारी गरेपनि कार्यान्वयन हुन सकेको छैन ।
सुर्तीजन्य पदार्थ सेवन गरेर निर्वाध फोहोर फाल्नेलाई के गर्ने भन्नेबारे कहीँ कुरा उठेको देखिँदैन।

हेल्थपाटी
तपाईँको अभिमत