चुरोट, सुर्तीको कर ७५ प्रतिशत बनाउन माग, थप ४६ अर्ब ८९ करोड राजश्व उठ्ने
सुर्तीजन्य पदार्थको नियन्त्रण, नियमनका लागि काम गर्दै आएको संस्था एक्सन नेपालले सुर्तीजन्य उत्पादनका कर वृद्धिको माग गरेको छ।
एक्सन नेपालले बिहीबार पत्रकार सम्मेलन गर्दै सुर्तीजन्य पदार्थमा विश्व स्वास्थ्य संगठनको सिफारिसअनुसार ७५ प्रतिशत कर पु¥याउन माग गरेको हो।
अहिले सुर्तीजन्य पदार्थमा लगाइएको कर दक्षिण एसियाकै सबैभन्दा कम रहेको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले बताए ।
गत सोमबारको गोरखापत्र दैनिकमा नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका नाममा प्रकाशित विज्ञप्तिप्रति एक्सन नेपालले आपत्ति जनाएको छ ।
उक्त विज्ञप्तिमा सुर्तीजन्य पदार्थमा ७१ प्रतिशतसम्म कर लाग्ने गरेको दावी गरिएको छ । सुर्तीजन्य पदार्थ कर वृद्धि गर्नुप¥यो भनी विभिन्न संस्थाले नीति निर्मातालाई प्रभाव पार्न खोजेको आरोप पनि लगाइएको छ ।
कुल राजस्श्वमा सरकारको कुल राजश्वमा सुर्तीजन्य उद्योगको ४ प्रतिशत योगदान रहेको, उद्योगहरु संकटपूर्ण अवस्थामा रहेका बेला कर बढाउन नहुने राय प्रकट गरिएको छ । ३३ प्रतिशत मात्रै कर छ भनी गरिएको प्रचार झुटो रहेको दावी पनि संघले गरेको छ ।
स्वदेशी उत्पादनमा करवृद्धि गरे अवैधरुपमा विदेशबाट सुर्तीजन्य उत्पादन भित्रिने जोखिम रहेको पनि भनिएको छ ।
उक्त विज्ञप्ति भूमपूर्ण रहेको भन्दै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले बताए। ‘करको प्रतिशत र करको विधासहित प्रकाशित गरेको विज्ञप्ति भ्रमपूर्ण रहेको पनि चन्दको भनाइ छ।
सूर्ती उद्योगीहरुले संसारभरी नै भ्रामक सूचना सम्प्रेषण गर्ने गरेको आरोप चन्दले लगाए । वैज्ञानिक विधिमा आधारित नभएका तथ्य बाहिर ल्याउने र नीति निर्माणमा संलग्न नेता तथा कर्मचारीलाई भ्रम छरेर आफू अनुकुल नीति निर्माण गर्न उनीहरु खप्पिस रहेको आरोप उनको छ ।
सूर्तीजन्य पदार्थमा अहिले अन्तशूल्क १६ प्रतिशत, भ्याट १३ प्रतिशत र स्वास्थ्य जोखिम कर ४ प्रतिशत गरी ३३ प्रतिशत मात्रै कर लाग्ने गरेको चन्दले जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसार अन्तशुल्क ४२ प्रतिशत र स्वास्थ्य जोखिम कर २० प्रतिशत पु¥याउनु पर्ने माग एक्सन नेपालको छ । भ्याट १३ प्रतिशत गर्दा ७५ प्रतिशत कर हुन आउँछ ।
अहिले मौजाद करमा अन्तशुल्क कर १६२ प्रतिशत र स्वास्थ्य जोखिम कर ४०० प्रतिशतसम्म बढाउन एक्सन नेपालले माग गरेको हो ।
विश्व स्वास्थ्य संगठनको सिफारिस गरेअनुसार करवृद्धि गरेका अहिलेको भन्दा थप ४५ अर्ब ८९ करोड बढी राजरश्व उठ्ने जानकारी दिइएको छ ।
उद्योगीले दावी गरेजस्तो कर वृद्धि गर्दा बाहिर देशबाट सूर्तीजन्य उत्पादन आयात हुने अवस्था नरहेको दावी अध्यक्ष चन्दको छ । अहिले पनि अन्य देशमा भन्दा नेपालमा चुरोटको मूल्य धेरै सस्तो भएकाले बाहिरबाट नआउने उनको भनाइ छ। बरु अहिले पनि नेपालबाट भारतमा चुरोट तस्करी भइरहेको दावी चन्दले गरे ।
‘नेपालमा सर्वाधिक बिक्रि हुने चुरोटको मुल्य रु ३२० पर्छ भने भारतमा त्यस्तै चुरोटको मुल्य करिब नेपाली रु ५४४ छ’ चन्द भन्छन्, ‘तसर्थ कर बढे पनि भारतबाट नेपालमा अवैध रुपमा चुरोट नभित्रिने प्रष्ट हुन्छ ।’
सूर्तीेजन्य पदार्थबाट लाग्ने रोग जनस्वास्थ्यको प्रमुख चिन्ताको रुपमा देखिएकोले यसमा सरकार गम्भीर हुनु जरुरी रहेको चन्दले बताए ।
हेल्थपाटी
तपाईँको अभिमत