मेडिसिटीमा एक बिरामीलाई १७ घण्टामा २१ थान पीपीई, रु. २,९७,४६३ को बिल
काठमाडौं । ललितपुरको भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा कोरोना शंकास्पद बिरामीको १७ घण्टा उपचार गर्दा २ लाख ९७ हजार तिर्नु परेको छ। ज्वरोको साथै श्वाश्प्रश्वासमा समस्या भई भदौ २३ गते मेडिसिटी अस्पताल पुग्नुभएका काठमाडौं नरदेवीका ४७ वर्षका अफताव आलम मिकरानीको १७ घण्टा उपचार गर्दा २ लाख ९७ हजार सकियो।
तर स्वास्थ्य समस्या कम भएन । ज्वरो र श्वाश्प्रश्वासको समस्याले गम्भीर हुनुभइसकेका मिकरानीलाई अस्पताल पुग्नेबित्तिकै भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो।
भदौ २३ गते साँझ ५ बजेतिर अस्पताल पुग्नुभएका मिकरानीको सो अस्पतालमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो। मेडिसिटी अस्पताल पुग्नु २ दिन अघिमात्रै मिकरानीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र बिध प्रयोगशालामा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। रिपोर्ट पोजेटिभ आउनेबित्तिकै मेडिसिटिले आफ्नो अस्पतालमा कोरोनाका बिरामी उपचार नहुने भन्दै ग्राण्डी रिफर गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पुष्टि भएपछि बिरामीलाई सोही अस्पतालमा नै उपचार गनुपर्ने र यदि सो अस्पतलामा उपचार सम्भव नभए मन्त्रालयको समन्वयमा अन्यत्र रिफर गर्नुपर्ने र यदि नटेरि रिफर गर्दा बिरामीको ज्यान तलमाथि भए रिफर गर्ने अस्पतालले नै क्षतिपूर्ति दिनुपर्ने निर्देशन जारी गरेको छ। तर मन्त्रालयको यो निर्देशनलाई अवज्ञा गर्दै मेडिसिटीले ग्राण्डी रिफर गरेको थियो।
अघिल्लो साँझ ५ बजे अस्पताल भर्ना हुनुभएका मिकरानीलाई भोलिपल्ट बिहान १० बजेतिर अस्पतालले रिफर गर्दा उहाँका आफन्तलाई २ लाख ९७ हजारको बिल थमाएको थियो। मिकरानीका साथी सन्तोष श्रेष्ठका अनुसार डाक्टर परीक्षण शुल्क, पीपीई र मास्कको नाममा अस्पतालले अधिक शुल्क लिएको छ।
केएन–९५ मास्कको बजारमा ६० रुपैयाँदेखि १५० सम्ममा किन्न पाइन्छ । मेडिसिटीले यो मास्कको आफ्नो बिलमा ६६० देखि १५०० रुपैयाँसम्म मूल्य राखेको छ। सर्जिकल ग्लोब्सको ६२१ रुपैयासम्म लिइएको छ । जसको मूल्य बजारमा ५ रुपैयाँदेखि ४० रुपैयाँसम्ममा पाइन्छ । ५ देखि १० रुपैयाँ पर्ने सिरिन्जलाई ९० रपियाँ लिइएको छ । बिल हेर्दा अन्यको मूल्य पनि चलनचल्ती भन्दा बढि लिएको देखिन्छ।
बिल अनुसार २१ पीपीई प्रयोग गरिएको भनिएको छ। पीपीईको सेटमा नै फेससिल्ड हुन्छ तर छुटै ६ वटा फेससिल्ड प्रगोग भएको उल्लेख गरिएको छ। मूल्य २२० जोडिएको छ।
मेडिसिटीको व्यवस्थापनले भने बिरामीको उपचारमा धेरै चिकित्सक, स्वास्थ्यकर्मीको प्रयोग गरिएकाले खर्च धेरै लागेका दावी गर्याे । कोरोनाका सबै परीक्षण गरिएको अस्पतालका एक चित्सकले बताउनुभयो। ग्राण्डीमा उपचारत मिकरानीको अवस्था हाल सामान्य रहेको उहाँका साथी श्रेष्ठले बताउनुभयो।
तपाईँको अभिमत