नसर्ने रोगका रोकथाम गर्ने उपायहरू
नसर्ने रोगहरू (Non-Communicable Diseases - NCDs) आज विश्वव्यापी रूपमा जनस्वास्थ्यको प्रमुख चुनौती बनेका छन् । सन् २०२१ को तथ्याङ्कअनुसार, विश्वभर करिब ४३ लाख मानिसहरूको नसर्ने रोगका कारण मृत्यु भएको छ। यसमध्ये, ७३ प्रतिशत मृत्युहरू नेपाल जस्ता न्यून तथा मध्यम आय भएका देशहरूमा हुने गरेको छ । यो चिन्ताजनक तथ्यले नसर्ने रोगको भयावहतालाई स्पष्ट पार्दछ ।
तर, सकारात्मक पक्ष पनि छ । लगभग ८० प्रतिशत नसर्ने रोगहरू रोकथाम गर्न सकिन्छ । यी रोगहरू हाम्रो जीवनशैलीमा परिवर्तन गरेर नियन्त्रण गर्न सकिने भएकाले यिनलाई 'परिवर्तन गर्न सकिने जोखिम कारक' (Modifiable Risk Factors) भनिन्छ । यदि हामीले मानिस-केन्द्रित नीतिहरू बनाउन सक्यौँ र ती नीति अनुसार जनचेतना तथा व्यवहार परिवर्तनमा जोड दियौँ भने यी रोगहरूबाट जोगिन सकिन्छ ।
नेपालमा नसर्ने रोगको अवस्था र यसको प्रभाव
नेपालमा नसर्ने रोगको भार बढ्दै गइरहेको छ। सन् १९९० मा कुल मृत्युको करिब ३१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेकोमा, सन् २०१९ सम्म आइपुग्दा यो आँकडा बढेर ७१.१ प्रतिशत पुगेको छ। प्रमुख नसर्ने रोगहरूमा मुटु रोग (३०%), क्यान्सर (९%), दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोगहरू (१०%) र मधुमेह (४%) रहेका छन्। सन् २०५० सम्ममा विश्वव्यापी रूपमा शीर्ष पाँच रोगहरूमध्ये सबै नसर्ने रोगहरू नै हुने अनुमान गरिएको छ। नेपालको सन्दर्भमा पनि सन् २०१९ को तथ्याङ्कले नै शीर्ष तीन रोगहरू नसर्ने रोगहरू (मुटु रोग, श्वासप्रश्वास सम्बन्धी रोग, क्यान्सर) रहेको देखाएको छ, जसले विश्वव्यापी प्रवृत्तिसँग नेपालको अवस्था मिल्दोजुल्दो रहेको सङ्केत गर्छ।
नसर्ने रोगले मानिसको जीवनको गुणस्तरमा प्रत्यक्ष असर पार्छ। अल्पायुमै मृत्यु (Premature Death) हुनुका साथै मानिसहरू ओछ्यानमा पर्नुपर्ने, परनिर्भर हुनुपर्ने र दैनिक जीवन कष्टकर हुने अवस्था सिर्जना हुन्छ। यसले स्वास्थ्यमा भारी आर्थिक भार पनि थोपर्छ। नसर्ने रोगको उपचारमा हुने खर्च अत्यधिक हुने गर्दछ र स्वास्थ्य क्षेत्रमा हुने कुल खर्चमध्ये सबैभन्दा बढी खर्च नसर्ने रोगमा नै हुने गरेको तथ्याङ्कले देखाउँछ।
नसर्ने रोग न्यूनीकरणका उपायहरू
नसर्ने रोगहरू मुख्यतया निम्न पाँच जोखिम कारकहरूसँग सम्बन्धित छन्, जसलाई हामीले नियन्त्रण गर्न सक्छौँ:
धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन : चुरोट, बिँडी, सिगार, सुपारी, गुट्खा (नेपालमा १०० भन्दा बढी प्रकारका गुट्खा उपलब्ध छन्) आदिको प्रयोग नसर्ने रोगको प्रमुख कारक हो । निष्क्रिय धुम्रपान (Passive Smoking) अर्थात् धुम्रपान गर्ने व्यक्तिको नजिक बस्दा निस्कने धुवाँको सम्पर्कमा आउँदा पनि उत्तिकै असर गर्छ। नेपालमा १४ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्याङ्क छ, जसमध्ये पुरुषमा यो दर बढी देखिएको छ। सुर्तीजन्य पदार्थको सेवन पूर्ण रूपमा बन्द गर्ने र निष्क्रिय धुम्रपानबाट बच्न सार्वजनिक स्थानमा धुम्रपान नगर्न भन्न सकिन्छ ।
अस्वस्थकर खानपान: अस्वस्थकर खानपान, विशेषगरी ट्रान्स फ्याट (Trans Fat) युक्त खानेकुरा (पुरानो/पुनः प्रयोग गरिएको तेलमा तारेका परिकार), प्रशोधित तथा बोसो, चिनी र नुनको मात्रा बढी भएका जंक फुडहरू नसर्ने रोगको लागि महत्त्वपूर्ण जोखिम कारक हुन्। नेपालमा ९६.७ प्रतिशत मानिसले दैनिक ५ सर्भिङ फलफूल तथा तरकारी सेवन गर्दैनन्। तेल एकपटक मात्र प्रयोग गर्ने, तेलको मात्रा कम गरी खाना पकाउने गर्नाले आफ्नो भान्सामा पाकेको खानेकुरा अस्वस्थ हुनबाट जोगिन्छ । डेजर्टको रूपमा फलफूल खाने र हरियो सागसब्जीको सेवन बढाउन जरुरी छ । प्याकेज गरिएका खानेकुरा किन्दा लेबल पढेर त्यसमा भएको बोसो, चिनी र नुनको मात्रा जाँच गर्न आवश्यक छ ।
शारीरिक निष्क्रियता: लगातार कुर्सीमा बस्ने (डेस्क पोटेटो) वा सोफामा बसेर फोन चलाउने (काउच पोटेटो) जस्ता बानीहरू शारीरिक निष्क्रियताका उदाहरण हुन्। दिनमा कम्तीमा ३० मिनेट मध्यम वा उच्च शारीरिक व्यायाम (जसले मुटुको धड्कन बढाओस् र हल्का सास फुलोस्) हप्ताको ५ दिन गर्ने विज्ञको सुझाव छ । लिफ्टको सट्टा भर्याङको प्रयोग गर्ने, छोटो दूरीमा हिँड्ने र दिनभरी सक्रिय रहने प्रयास गर्नुपर्छ । शारीरिक रूपमा दुब्लो वा स्वस्थ देखिए पनि व्यायाम नगर्ने व्यक्तिमा नसर्ने रोगको जोखिम उत्तिकै हुन्छ ।
मद्यपान : मद्यपानले स्वास्थ्यमा नकारात्मक असर पार्ने कुरा प्रमाणित भइसकेको छ। नेपालमा मद्यपानको सेवन पुरुषमा बढी देखिएको छ। मद्यपानको सेवनबाट सकेसम्म टाढै रहने वा अत्यन्त कम गर्ने।
वायु प्रदूषण : वायु प्रदूषण पनि नसर्ने रोगको एक प्रमुख जोखिम कारक हो। यो व्यक्तिगत नियन्त्रणमा मात्र नभई सामूहिक प्रयासबाट न्यूनीकरण गर्न सकिने कारक हो। नवीकरणीय ऊर्जाको प्रयोग गर्ने र वायु प्रदूषण नियन्त्रणमा सरकार तथा समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ।
सामूहिक प्रयासको आवश्यकता
नेपालमा नसर्ने रोगको व्यवस्थापन र रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाले काम गर्दछ। तर, सरकारको मात्र नभई वकालत गर्ने संस्थाहरू, सञ्चार माध्यम, अस्पतालहरू, गैर-सरकारी संस्थाहरू र आम नागरिक सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ। नसर्ने रोगबाट बच्नका लागि हामी सबै सचेत हुनुपर्छ र सरकारको मात्र भर नपरी आफ्नो जीवनशैलीमा सुधार ल्याउनुपर्छ।
नसर्ने रोगहरू उपचार गर्न महँगो र कष्टकर हुने भएकाले यिनको रोकथाम नै सबैभन्दा उत्तम उपाय हो। स्वस्थ जीवनशैली अपनाएर, जोखिमका कारकहरूलाई न्यूनीकरण गरेर र सामूहिक प्रयासबाट मात्रै हामी नसर्ने रोगको भयावहताबाट बच्न सक्छौँ र गुणस्तरीय जीवन बाँच्न सक्छौँ ।
(नेपाल-एनसीडी अलायन्सकी आजीवन सदस्य डा. मनिता प्याकुरेलले बुधबार बानेश्वरमा आयोजित 'मिडिया एड्भोकेसी वर्कसप' दिनुभएको प्रस्तुतीका आधारमा तयार पारिएको सामग्री ।)
हेल्थपाटी
तपाईँको अभिमत