एकै व्यक्तिको पीसीआर रिपोर्ट ५ थरी, के हो वास्तविकता ?
काठमाडौं । पछिल्ला दिनमा नेपालमा कोरोना परीक्षण गर्ने प्रयोगशालाहरु ह्वात्तै बढेका छन् । शंकास्पद बिरामीहरुको द्रुत परीक्षण हुने र छिट्टै रिपोर्ट आउन पनि थालेको छ । तर यससँगै पीसीआर परीक्षणको विश्वासनीयतामाथि प्रश्न उठ्नुका साथै बिरामीहरु निकै समस्यामा पर्न थालेका छन्।
केही दिनअघि काठमाडौं उपत्यकाका ३ प्रयोगशालामा ६ दिनको बीचमा गरिएको एक बिरामीको पीसीआर रिपोर्टमा फरक–फरक नतिजा देखियो।काठमाडौं नरदेवीका अफताव आलम मिकरानीको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, विध प्रयोगशाला र मेडिसिटी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर रिपोर्ट फरक–फरक आएको थियो।
कोरोना परीक्षणका क्रममा एक बिरामीको ३ वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५ पटक फरक फरक नतिजा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सत्यतथ्य पत्ता लगाउन गरेको पुरानै स्वाबको पुनःपरीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ । स्रोतका अनुसार पाटन अस्पतालको प्रयोगशालामा गरिएको स्वाबको पीसीआर नतिजा पोजेटिभ आएको छ ।
एकै व्यक्तिको पीसीआर रिपोर्ट फरक–फरक आएपछि स्वास्थ्य मन्त्रालयले मिकरानीको पुरानै नमुनाको पुनःपरीक्षण गरी सत्यतथ्य पत्ता लगाउन छानबिन गरिरहेको छ ।
यसरी एउटै बिरामीको ६ दिनमा फरक–फरक रिपोर्ट आएपछि स्वास्थ्य मन्त्रालयले मिकरानीको पुरानै स्वाबलाई पाटन अस्पतालमा दोहोर्याएर पीसीआर परीक्षण गरेको थियो । मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बिरामीको रिपोर्टबारे प्रतिवेदन आइनसकेको जानकारी दिनुभयो । छानबिनका क्रममा दोषी देखिएका सबैलाई कारबाही हुने गौतमले बताउनुभयो ।
प्रयोगशालाहरुको गुणस्तर हेर्ने र सम्बन्धन दिने काम राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको हो । देशभरको प्रयोगशालाको माउ रहेको यस प्रयोगशाला आफैँ पनि पटक–पटक विवादमा पर्दै आएको छ । मिकरानीको स्वाब पुन परीक्षण गर्न भनी स्वास्थ्य मन्त्रालयले नमुना माग्दा पनि यस प्रयोगशालाले सो नमुना उपलव्ध गराउन आनाकानी गर्दै आफ्नै प्रयोगशालाको रिपोर्ट सही हुने बताएको स्रोतको भनाइ छ ।
यस्तै भदौ १४ गते यही प्रयोगशालाले लापारबाही गर्दै पीसीआर परीक्षण नै नगरी नागार्जुनका वडा अध्यक्ष राजेन्द्र बुढाथोकीसहित १५० जनाको रिपोर्ट गलत पठाएको थियो । प्रयोगशालाले सबैको मोबाइलमा पीसीआर रिपोर्टको नतिजा नेगेटिभ आएको भनि सन्देश पठाएको थियो ।
मिकरानीलाई के भएको थियो ?
पुरानो घर रौतहट भएका ४७ वर्षीय मिकरानीका साथी ललितपुर निवासी सन्तोष श्रेष्ठका अनुसार सामान्य ज्वरो आएपछि मिकरानी नरदेवीकै एक क्लिनिकमा स्वास्थ्य परीक्षणका लागि पुग्नुभयो । त्यहाँ परीक्षण गर्दा टाइफाइड पोजेटिभ आयो। डाक्टरले भने अनुसार औषधि खाएपछि ५–६ दिनमा मिकरानी सामान्य अवस्थामा आउनु भएको थियो।
‘साथीले आफूलाई सञ्चो भइसकेको बताएकाले १–२ दिनमा भेट्ने सल्लाह गरेका थियौँ श्रेष्ठले भन्नुभयो–‘रातो मच्छिन्द्रनाथको रथ तान्ने विवादले एक्कासी कर्फ्यू लागेकाले पूर्वनिर्धारित दिनमा हाम्रो भेट हुन सकेन।’
सोही दिन साँझ श्रेष्ठले फोन गर्दा मिकरानीले आफूलाई सास फेर्न गाह्रो भइरहेको बताउनु भएको श्रेष्ठले जानकारी दिनुभयो। त्यसपछि चिनजानका एकजना भाइले कलंकीस्थित नेशनल अस्पताल पुर्याउनु भएछ।
कोरोनासँग मिल्दाजुल्दो लक्षण देखिएपछि अस्पतालले भदौ १९ गते मिकरानीको स्वाब निकालेर पीसीआर परीक्षणका लागि विध प्रयोगशाला पठायो । यसअघि स्टार अस्पतालको प्रयोगशालामा स्वाब पठाइएको भन्ने समाचारहरु आए तर मिकरानीको स्वाब स्टार अस्पताल नभई विध प्रयोगशाला पठाइएको थियो । विधले भदौ २१ गते रिपोर्ट नेगेटिभ आएको प्रमाणपत्र दियो।
रिपोर्ट नेगेटिभ आए पनि मिकरानीको स्वास्थ्य अवस्था सुधार हुनुको साटो झन्–झन् बिग्रिरहेको थियो । सो रिपोर्टमा विश्वास नलागेपछि मिकरानीले भदौ २१ गते नै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा फेरि पीसीआर परीक्षणका लागि स्वाब दिनुभयो । भोलिपल्ट केन्द्रीय प्रयोगशालाले पनि नेगेटिभ रिपोर्ट नै निकाल्यो।
मिकरानीको स्वास्थ्य समस्या बीसबाट उन्नाइस भएन । स्वास्थ्य थप जटिल हुँदै गइरहेको थियो । यसअघिका दुबै प्रयोगशालाको रिपोर्टप्रति भर नलागेर भदौ २३ गते मिकरानी आफ्नो साथीको सल्लाहमा भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल पुग्नुभयो।
साँझ ५ बजेतिर मेडिसिटी पुग्नुभएका मिकरानीको अवस्था गम्भीर भइसकेको थियो । अस्पतालले उहाँलाई सिधै भेन्टिलेटरमा राखेर उपचार सुरु गर्यो । मेडिसिटी अस्पतालले पनि मिकरानीको पीसीआर परीक्षण गर्यो । ३ दिनमा २ पटक रिपोर्ट नेगेटिभ आएको रिपोर्ट ७ घण्टापछि भदौ २४ गते पोजेटिभ आयो।
रिपोर्ट पोजटिभ आउने बित्तिकै मिकरानीका साथी श्रेष्ठलाई अस्पतालले राति १२ बजेतिर फोन गरी जानकारी दियो। रिपोर्ट पोजेटिभ आएको थप उपचार आफूले गर्न नसक्ने भनी ग्राण्डी अस्पताल लैजान भनियो।
भोलिपल्ट बिहान १० बजेतिर आफूहरु अस्पताल पुग्दा मेडिसिटीले २ लाख ९७ हजारको बिल थमाएको श्रेष्ठले जानकारी दिनुभयो । ‘करिव १७ घण्टा उपचार गरेको बिरामीको यति धेरै शुल्क किन लिइयो भनेर सोध्दा पीपीई र मास्कसहित औषधिको भनेर जवाफ दियो’ श्रेष्ठले भन्नुभयो।
अन्त्यमा, मिकरानीलाई भदौ २४ गते ग्राण्डी अस्पताल लगियो । ग्राण्डीले मिकरानीको भदौ २५ गते स्वाब लिएर विध प्रयोगशाला पठायो । सोही दिन विधबाट रिपोर्ट नेगेटिभ आएको जानकारी आयो । ग्राण्डीले फेरि भोलिपल्ट पनि स्वाब निकालेर विधमा नै पठायो । विधको सो दिनको रिपोर्ट भने पोजेटिभ आयो।
हाल मिकरानी ग्रण्डीमा नै उपचाररत हुनुहुन्छ । हाल उहाँको अवस्था सामान्य रहेको श्रेष्ठले बताउनुभयो । १३ दिनसम्म विभिन्न अस्पतालमा उपचार गर्दा मिकरानीको ११ लाख भन्दा बढी खर्च भइसकेको छ।
मिकरानीको ३ प्रयोगशालामा पीसीआर रिपोर्ट ५ थरीको आयो । विध प्रयोगशालामा एकै व्यक्तिको ३ पटक स्वाब परीक्षण गर्दा २ पटक नेगेटिभ, १ पटक पोजेटिभ रिेपोर्ट आयो । जनस्वास्थ्य प्रयोगशालामा पनि नेगेटिभ र मेडिसिटीमा पोजेटिभ रिपोर्ट देखियो। यसरी पीसीआर रिपोर्ट फरक–फरक आउँदा प्रयोगशालाहरुको गुणस्तरमा प्रश्नचिह्न खडा भएको छ। । यस्तै फरक – फरक रिपोर्ट आउनुको पछाडी सही तरिकाले स्वाब संकलन हुन नसक्नुपनि रहेको विज्ञहरु बताउँछन्।
तपाईँको अभिमत