डाक्टर बाबुछोराका कुरा : एउटै पदमा बुबा दुई दशकपछि, छोरा एक वर्षमै (भिडियो)
छोराछोरीले बाबुआमाको बिडो थाम्छन् वा थाम्नुपर्छ भन्ने कुरा नेपाली समाजमा प्रचलित मान्यता हो । बिडो थाम्नु भन्नुको तात्पर्य यसअघि कसैले गरिआएका कर्मलाई उसले जसरी नै निरन्तरता दिनु हो । अर्को अर्थमा भन्नुपर्दा अग्रजहरूका तौर-तरिका र शैलीलाई पछ्याउनु बिडो थाम्नु हो।
हाम्रो समाजको आम मान्यताअनुरुप नै डा.अभियानले बुबाका पदचाप पछ्याउँदै बिडो थाम्ने काम गरिरहेका छन्।
डा.अभियान गौतम अहिले स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाको प्रमुख छन् । उनले यो जिम्मेवारी पाउनु भन्दा करिब २ वर्षअगाडि यही शाखाको प्रमुख थिए उनका बुबा डा. झलक गौतम ।
अन्य सन्दर्भमा बुबाले छाडेको जिम्मवारी छोराले सम्हाल्नु समान्य नै हुन सक्ला तर सरकारी सेवामा बुबाले छाडेलगत्तै त्यो जिम्मेवारीमा छोरा पुग्नु निकै दुर्लभ संयोग हो ।
बाल स्वास्थ्य तथा खोप शाखा प्रमुखको जिम्मेवारी पाउन डा.झलकले सरकारी सेवामा प्रवेश गरेपछि झण्डै २२ वर्ष प्रतीक्षा गर्नुपर्यो । १७ वर्ष बाहिरी जिल्लामा काम गरेपछि मात्रै काठमाडौं सरुवा हुने अवसर मिल्यो।
बुबाले यति लामो समय कुरेर पाएको यही जिम्मेवारी डा.अभियानले सरकारी सेवामा प्रवेश गरेको करिब एक वर्षमै पाउन सफल भए।
डेढ वर्ष पढेर डाक्टर बन्न खोज्दा
डा.झलकको ज्नम पर्वत राम्जा भन्ने ठाउँमा भएको हो । बाल्यकाल त्यहीँ बित्यो । ४ कक्षासम्म पढाइ हुने प्राथमिक स्कुल गाउँमै थियो । त्यो पछिको पढाइका लागि डेढ घण्टाको बाटो हिँडेर स्कुल जानुपर्थ्यो ।
त्यही स्कुलबाट २०३६ सालामा एसएलसी पास भएपछि झलक आइएससी पढ्न पोखरा आए । आइएससीमा ६ महिनाजति पढेपछि डाक्टर बन्ने अठोट मनमा पलायाे ।
डाक्टर बन्ने मोह मनमा आएपछि कसरी छिटो डाक्टर बन्न सकिन्छ भनेर खोज्दै जाँदा झलकले सीएमए पढ्ने अठोट लिए । सीएमए पढेर डाक्टर नभई अहेब मात्रै बनिन्थ्यो । तर झलकलाई त्यो कुरा थाहै थिएन । यसबारे उनले न कसैलाई साेधे, न कसैले सिकाए ।
'अहेबलाई गाउँ-घरमा डाक्टर नै भनिन्थ्यो । सिएमए पढ्यो भने त डेढ वर्षमै डाक्टर हुन पाइँदोरहेछ भन्ने लाग्यो' डा.झलक सुनाउछन्, 'आइएसी पढेर पनि डाक्टर बन्ने बाटो खुल्छ भन्ने ज्ञानै थिएन । अहेब र डाक्टर फरक हो भनेर सम्झाइदिने कोही भएन ।'
आफ्नै निर्णयमा उनले विज्ञान विषयको पढाइ छाडेर सीएमए पढ्न पाल्पा गए।
२०३९ सीएमए पास भएपछि झलक स्वास्थ्य सेवा विभागबाट नियुक्ति लिएर स्वास्थ्य चौकी प्रमुख भई आफ्नै गाउँ पर्वत गए ।
जागिर त्यागेर राजनीतिमा
केही सयय गाउँकै स्वास्थ्यचौकीमा काम गरेपछि झलकको सदरमुकाम कुश्मामा सरुवा भयो । कुश्मामा काम गर्दागर्दै उनलाई थाहा भयो-अहेब भनेको त डाक्टर होइन रहेछ । आफूले चाहे भन्दा फरक बाटो पो लागिएछ भनेर ।
जागिर सुरु गरेको एक वर्ष पुग्दा नपुग्दै त्यो छाडेर हेल्थ असिस्टेन्ट पढ्न काठमाडौँ आए । महाराजगन्ज चिकित्सा क्याम्पसमा हेल्थ असिस्टेन्टमा भर्ना गरे। पढिसकेपछि २०४२ सालको अन्तिमतिरमा हेल्थ असिस्टेन्टको लोकसेवा पनि पास भए । अछाममा पोस्टिङ भएको थियो ।
त्यति बेलासम्म झलक राजनीति माहोलमा भिजिसकेका थिए । उनलाई जागिर भन्दा राजनीतिले बढी आकर्षित गर्यो । लोकसेवाको जागिर छाडेर, त्यत्रो रहरले छानेको पेशाबाट पूरै अलग भएर राजनीतिमा होमिए ।
नेकपा मालेको पूर्णकालीन कार्यकर्ता भएर काठमाडौंको काँठ क्षेत्रमा काम गर्न थाले ।
यसबीचमा देशमा बहुदलीय व्यवस्था स्थापना भयो । २०४७ सालसम्म झलक पूर्णकालीन कार्यकर्ताकै रुपमा थिए ।पछि फेरि उनलाई लाग्यो-यो तरिकाले हुँदैन, पढ्नुपर्छ ।
त्यसपछि प्रवेश परीक्षा दिएर महाराजगन्ज क्याम्पसमा बीएमएमस पढ्न थाले ।
पढाइ सक्किएपछि २०५३ सालमा फेरि मेडिकल अफिसरको पदबाट सरकारी सेवामा जागिर सुरु गरे । सुरु नियुक्ति सल्यानमा भयो । त्यसपछि पेशागत जीवन निरन्तर रहयो ।
थुप्रै जिल्लामा पुगेर विभिन्न अस्पतालको प्रमुख भएर, जिल्ला स्वास्थ्य कार्यलय प्रमुखको रुपमा डा.झलकले सेवा दिए।
सेवामा हुँदाहुँदै उनले जनस्वास्थ्य विषयमा महाराजगन्ज क्याम्पसबाटै स्नातकोत्तर गरे । यसका अवला मानविकीतर्फ मानवशास्त्र विषयमा पनि स्नातकोत्तर गरे ।
१०औँ तहसम्म बढुवा भएका डा.झलकले २०७५ जेठ देखि २०७८ भदौसम्म बाल स्वास्थ्य तथा खोप शाखाको प्रमुखको रुपमा काम गरे।
आफ्नो अनुभव अनुसार काम देखाउन पाएको र सेवा अवधिमा चित्त बुझेको जिम्मवारी यही रहेको उनी सुनाउनछन्।
'पेशागत जीवनको सन्तुष्टि मिलेको शाखा रह्यो' डा.झलक भन्छन्, 'कोभिडका बेला धेरै खटेर काम पनि गरियो । उर्जा, सीप, क्षमता सबै देखाउन पाएँ त्यसले मलाई एक खालको एक्पोजर पनि दियो ।'
त्यहाँबाट हटाएर अर्को जिम्मेवारी दिएपछि डा.झलकले उमेरको अवधि करिब एक वर्ष बाँकी छँदै सेवाबाट अवकास लिए।
बुबाको बाटो पछ्याउँदा डा. अभियानलाई सहज
बुबाआमाका एक्ला सन्तान अभियानलाई घर-परिवारको माहोलले नै डाक्टरबाहेक अन्य क्षेत्रमा लाग्न दिएन । अलिअलि थाहा पाउने हुँदादेखि नै अभियानलाई भविष्यको डाक्टरका रुपमा चित्रण गरिन्थ्यो। घरमा आउने आफन्त, बुबाका साथीभाई सबैजसोले यो पछिको डाक्टर हो, यो बन्ने नै डाक्टर हो भन्ने गर्थे । 'बुबाले सुरुमै बाटो बनाएकाले कता लाग्ने भनेर अलमल भएन' डा. अभियान सुनाउन छन् ।
उनलाई डाक्टर नै पढ्नुपर्छ डाक्टर नै बन्नुपर्छ भनेर बुबाले कहिल्यै दवाव दिएनन् । बुबाले हिँडेको बाटो नै सबैभन्दा उत्तम लाग्यो, अनि त्यही बाटोमा पाइला अगाडि बढाए ।
बेला–बेलामा डाक्टर बन्दिन भन्ने भवना पनि मनमा पलाउथ्यो अभियानको मनमा, तर परिस्थितिले त्यो सोचलाई धेरै बेर मनमा रहन दिँदैनथ्यो ।
बौद्धको अरुणिमा स्कुलबाट अभियानको विद्यालय तहको पढाइ भयो । त्यसपछि ललितपुरको प्रसादी एकेडेमीबाट प्स टु गरे ।
पहिलो पटक प्रवेश परीक्षा दिँदा नै उनले एमबीबीएस पढ्न नाम निकाले । २०६६ सालमा नेपालगन्ज मेडिकल कलेजमा भर्ना भए ।२०७१ सालमा एमबीबीएस पढाइ सक्कियो । त्यसपछि भूकम्पका बेला विश्व स्वास्थ्य संगठनमा जोडिएर काम गर्ने मौका मिल्यो ।
६ वर्ष त्यहाँ बसेर बिताए । त्यही दौरानमा पब्लिक हेल्थमा मास्टर डिग्री गरे कोभिड–१९ मा काम गर्न अवसर मिल्यो । २०७८ सालमा लोकसेवामा ९औँ तहमा नाम निस्कियो। त्यसपछि विश्व स्वास्थ्य संगठनको जागिर छाडेर सरकारको जागिर सुरु गरे । जागिर सुरु गरेपछि उनलाई अनुभूति भयो अब त बुबा हिँडेकै बाटोमा आइपुगेछु।
'पहिलो पटकमै लोकसेवामा नाम निकाल्दा, म बुबाकै बाटोमा लाग्न सकेँ भन्ने अनुभूति भयो' डा.अभियान भन्छन्। एमबीबएस सक्काउनेवित्तिकै विश्व स्वास्थ्य संगठनमा काम गर्ने अवसर मिलेपछि उनलाघ पनि अन्य विषय भन्दा जनस्वास्थ्य विषय नै पढ्न रुची लाग्यो । यसमा पनि उनले बुबाकै बाटो समाए। बुबाकै पाइला पछ्याउँदा-पछ्याउँदै झा.अभियानलाई परिस्थितिले त्यहीँ पुर्यायो, जुन शाखाको नेतृत्वमा २ वर्षअघि बुबा डा.झलक थिए ।
बुबाले २ दशक संघर्ष गरेर पाएको जिम्मेवारी आफूले छिटै पाउनुमा अहिलेको प्रणालीले सहयोग गरेको डा.अभियान सुनाउँछन् । लोकसेवाबाट उनले पास गरेको पदको दरबन्दी कि संघीय स्वास्थ्य मन्त्रालय कि स्वास्थ्य सेवा विभागमा मात्रै छ ।
सरुवा हुँदा पनि यिनै दुई कार्यालय मातहतमा मात्रै हुन्छ । सुरुको पोस्टिङ विभागमै भयो । त्यसको एक वर्ष नबित्तै खोप शाखा प्रमुखको जिम्मेवारी प्राप्त भयो । यो जिम्मेवारी डा.अभियानले पाएको पनि एक वर्ष हुनलाग्यो ।
कोभिडका बेला सँगै काम
डा.झलक र डा.अभियानलाई कोभिड-१९ महामारीका बेला एकसाथ काम गर्ने अवसर पनि मिल्यो । डा.झलक खोप शाखा प्रमुख, डा.अभियानलाई पनि विश्व स्वास्थ्य संगठनमा खोपतर्फकै जिम्मेवारी थियो । विश्व सवास्थ्य संगठनले पनि खोपमा सहयोग गर्थ्यो । अफिस एकै ठाउँ थियो, टेकु स्वास्थ्य सेवा विभागको परिसरभित्र ।
दुवैजना बिहान ८ बजे सँगै घरबाट निस्कन्थे । राति ११ बजेसम्म पनि दुवै जना कार्यालयमै रहनुपर्ने अवस्था थियो । ११ बजेसम्म काम गर्ने कोठा कहिले डा.झलकको कार्यकक्ष हुन्थ्यो भने कहिले डा.अभियानको हुन्थ्यो ।
दिनभरी पनि सँगै हुने हुन्थ्यो । छलफल सहयोग एक–आपसमा लिने-दिने काम हुन्थ्यो ।
'कुनै दिन त यस्तो हुन्थ्यो कि' डा.अभियान सुनाउछन्, 'काम गर्दागर्दै रात पर्थ्यो बाँकी काम उत्तै गरौँला भनेर घर आइन्थ्यो र राति १-२ बजेसम्म सँगै बसेर काम सक्काइन्थ्यो।'
घरमा अफिसमा सँगै हुँदा असजिलो पनि धेरै हुन्थ्यो । डा.अभियानलाई विश्व स्वास्थ्य संगठनको सीमाभित्र रहेर काम गर्नुपर्थ्यो । डा.झलकलाई सरकारी सेवाको सीमाभित्र रहनुपर्थ्यो। कतिपय बुबाले छोरालाई र छोराले बुबालाई सुनाउन नमिल्ने गोप्यता पनि हुन्थ्यो ।कसैले सीमा नाघ्न मिल्दैन्थ्यो । 'घरमा जे भए पनि अफिसमा व्यवसायिक भूमिका निर्वाह गरेर बसियो' डा.झलक भन्छन्।
'धेरै कुरा सहज पनि हुन्थ्यो । कुनै भन्न अप्ठेरो भएका कुरा सजिलै भन्न सकिन्यो । भनिहाल्नु पर्ने कुरामा कुनै भूमिका बाध्नु पर्दैनथ्यो । सहयोगको वातावरण हुन्थ्यो' डा.अभियान सुनाउछन् ।
बुबा र त्यसअघिका नेतृत्वले गरेका कामलाई यथावत राखेर आफूले पनि केही गरेर देखाउने चुनौती छ डा.अभियानलाई । बिहान ९ बज्दा-नबज्दै गठ्ठाघरबाट टेकुका लागि निस्कन हतारो हुन्छ डा.अभियानलाई । धेरैजसो त उठ्नेवित्तिकै पनि हिँड्नुपर्ने हुन्छ ।
आफ्नो जिम्मेवारीमा कुनै चुनौती आए, केही नयाँ योजना सुरु गर्न लागे डा.अभियान बुबासँस सल्लाह लिन्छन्। आफूले कुनैबेला सम्हालेको जिम्मेवारी छोराले कत्तिको राम्रोसँग पूरा गर्दैछ भनेर डा.झलकले पनि निगरानी गरिरहेका हुन्छन् । अहिलेको पुस्ता स्मार्ट रहेकाले आफूले भन्दा राम्रोसँग डा.अभियानले जिम्मेवारी निभाइरहेको अनुभूति डा.झलकलाई हुन्छ ।
सँगै तर भेट हुँदैन
धेरैलाई अवकासपछि कसरी दिन काट्ने के गर्ने भन्ने अलमल भइरहेको हुन्छ । तर डा.झलक पहिले भन्दा झन् व्यस्त हुने गरेको र समय नै नपुगेको सुनाउँछन् ।
'राजनीतिक काम, पेशागत काम र समाज सेवामै समय बित्छ। पहिले भन्दा बढी व्यस्त छु' डा.झलक भन्छन्, 'अवकासपछि जीवन निक्रिय हुन्छ भनिन्छ तर मेरो हकमा त्यो छैन।'
दुवै जना आ-आफ्ना लयमा व्यस्त हुँदा एउटै घरमा भएर पनि निकै दिनसम्म भेट हुँदैन । घरमै भएर पनि बाबु-छोराको १५ दिनसम्म भेट नभएका उदाहरण पनि भएको डा.अभियान सुनाउछन् ।
'कहिले एक जना घर आउँदा अर्को सुतिसकेको हुने, कहिले एकजना उठ्दा एक जना बाहिर हिडिसकेको हुने यसरी निकै दिनसम्म प्रत्यक्ष भेट नहुने पनि हुन्छ' डा.झलक सुनाउँछन्, 'भेट नभएपनि कहाँ के गर्दैछौँ भनेर अपडेट चाहिँ भइरहन्छ।'
तपाईँको अभिमत