‘सेतो दुबीले शरीरका भित्री अङ्गलाई असर गर्दैन, बरु मानसिक समस्या निम्त्याउन सक्छ’ (भिडियो)

छालामा विभिन्न किसिमका रोगहरू लाग्छन् । तीमध्ये सेतो दुबी पनि एक हो । यो छालाको रङसम्बन्धीको ‘बिमार’ भएको निजामति कर्मचारी अस्पतालमा कार्यरत छाला, यौन तथा सौन्दर्य विशेषज्ञ डा. रविन्द्र शर्मा बताउनुहुन्छ ।
डा. शर्माका अनुसार सेतो दुबीजस्तै देखिने अरू छालाका समस्या पनि हुन्छन्, जसले दुबीभन्दा अन्य रोगको सङ्केत गर्छन् । तर दुबीकै कारण अन्य खतरनाक रोग भने लाग्दैन । उहाँका अनुसार यो सेतो रङ देखिने समस्या हो । विशेषगरी यसियन तथा अफ्रिकी मानिसमा यो समस्या हुँदा दाग देखिने भएर सौन्दर्यसँग जोडिँदा यसलाई ठुलो समस्याका रूपमा लिने गरिएको छ । यद्यपि यो कुनै ठुलो रोगको लक्षण भने नभएको उहाँको भनाइ छ ।
के हो सेतो दुबी ?
सेतो दुबी छालामा देखि सेतो धब्बा वा दाग हो । यो बुट्टाजस्तो देखिन्छ । छालाको रङ उडेर सेतो दाग देखिनु पनि दुबी नै हो । यो शरीरको छालाको जुनसुकै भागमा हुनसक्छ ।
दुबी हुनुका कारण
छालामा विभिन्न किसिमका कोषिकाहरू हुन्छन् । ‘ती कोषिकाहरूमध्ये छालमा रङ दिने कोषिकालाई हामी मेलानोसाइट (melanocyte) भन्छौँ’, डा. शर्मा भन्नुहुन्छ, ‘त्यो मेलानोसाइट मर्यो भने सेतो दुबी वा धब्बा देखिन्छ ।’ कहिलेकाहीँ शरीरको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताले मेलानोसाइटलाई नचिन्दा नष्ट गर्ने गर्छ । यसलाई अङ्ग्रेजीमा ‘अटोइम्यून डिजिज’ भनेर चिन्छौँ ।
सन्तुलित आहार नभएका बेलामा यस्तो समस्या हुनसक्ने सम्भाना बढी हुने डा. शर्मा बताउनुहुन्छ । ‘यही कारण भनेर वैज्ञानिक कारण त पत्ता लागेको छैन । तर कतिपय वेला चाहिँ मानिसको सन्तुलित आहारमा समस्या तथा तनाव हुँदा प्रतिरोधात्मक क्षमता झुक्किने सम्भावना हुन्छ’ डा. शर्मा बताउनुहुन्छ ।
बालबालिकामा देखिने दुबीको उपचारका विकल्पहरू कम
बालबालिका वा बच्चाहरूमा देखिने दुबीको उपचारका विकल्पहरू कम रहेको डा. शर्मा बताउनुहुन्छ । बच्चाहरूमा दुबी न्यून सङ्ख्यामा दुबी देखिने भएकाले यसको अनुसन्धान कम भएका छन् । अनुसन्धान कम भएकाले औषधि वा उपचारका विकल्पहरू पनि न्यून भएका हुन् ।
बच्चामा दुबी देखिएमा त्यसको अवस्था र त्यसले भविष्यमा पार्ने अन्य मानसिक जटिलताहरूको ख्याल गरेर संवेदनशील भएर उपचार गर्नुपर्ने डा. शर्मा सुझाउनुहुन्छ । यदि कुनै बच्चामा त्यस्तो देखिएमा जनरल प्राक्टिसनर (जिपी) डाक्टरलाई देखाएर त्यसको अवस्थाअनुसार सही विशेषज्ञकहाँ उहाँहरूले ‘रिफर’ गर्ने उहाँले बताउनुभयो । उहाँले बच्चामा अन्य वयस्कमा भन्दा संवेदनशील हुनुपर्ने भएपनि आत्तिनुपर्ने अवस्था भने नहुने बताउनुभयो ।
दुबीले दैनिक मारिरहेको हुन्छ
दुबी सौन्दर्यसँग जोडिएकाले शरीर वा हात वा अनुहारमा सेतो धब्बा देखिँदा सुन्दरता नहुने विश्वास गरिन्छ । यसले गर्दा अविवाहित महिलाहरूमा चिन्ता परेको हुन्छ । ‘विवाह नै हुँदैन कि भन्ने पीर पर्छ’, डा. शर्मा भन्नुहुन्छ, ‘क्यान्सर जस्ता रोगले बरु एकपटक मार्छ, यो दुबीले दैनिक मारिरहेको हुन्छ । मानसिक समस्या पारिरहेको हुन्छ ।’
दुबीले शरीरका अन्य भित्री अङ्ग वा कुनै समस्या नपार्ने भएपनि मानसिक समस्या निम्त्याउन सक्ने हुन्छ । ‘एन्जाइटी, डिप्रेसन जस्ता मानसिक समस्याहरू चाहिँ दुबीले निम्त्याउन सक्छ’, डा. शर्मा बताउनुहुन्छ ।
तपाईँको अभिमत