एसिडपीडितको पक्षमा बच्चन, नेपाल सरकार र अभियन्ताको प्रशंसा
काठमाडाैं । नेपाल सरकारले एसिडपीडितको पक्षमा कडा कानुन ल्याउन लागेकोमा बलिउड महानायक अमिताभ बच्चनले सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत स्वागत गर्नुभएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १२ जना एसिडपीडितसँग छलफल गरेर पीडितको मागअनुसार अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाहीका लागि अध्यादेशमार्फत कडा कानून ल्याउने प्रतिबद्धता जनाएपछि बच्चनले सरकारकाे प्रशंसा गर्नुभएकाे हाे ।
प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा एसिडपीडितको उपचारको प्रबन्ध मिलाउने, पीडितको सम्पूर्ण खर्च सरकारले र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्चसमेत सरकारले बेहोर्ने घोषणा गर्नुभएकाे छ । हरेक वर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरुद्धको जागरण दिवसका रूपमा मनाउन समेत आह्वान गरिएको छ ।
साथै, एसिडपीडितको पक्षमा कानून बनाउन सरकारलाई बारम्बार झकझक्याउने काममा लागेको भन्दै बच्चनले अभियन्ता उज्जवल थापाको प्रशंसा गर्नुभएकाे छ ।
उहाँले यो निर्णय नेपालकाे मात्र नभई भारतका लागि पनि प्रेरणाको स्रोत हुने उल्लेख गर्दै थापालाई यसका लागि बधाई दिनुभयाे । यसअघि बच्च्नले वीरगञ्जकी एसिड पीडित मुस्कान खातुनलाई भिडियो सन्देश पठाउनु भएकाे थियाे ।
प्रधानमन्त्रीले एसिडपीडितको शिक्षा, तालिम, रोजगारी, व्यवसाय र जीविकाको प्रबन्ध पनि सरकारले मिलाउने, एसिड प्रहार गर्ने अपराधीको सम्पत्ति रोक्का गरी उसैबाट क्षतिपूर्ति भराएर उपचार गर्ने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्याएर उपचार गर्ने व्यवस्था सहितको कानून निर्माण गर्न मस्यौदा तयार गर्न कानून मन्त्रालयलगायत सम्बन्धित निकायलाई १५ दिनको समय दिनुभएकाे छ ।
तपाईँको अभिमत