भारतको गोवामा भएको आगलागीमा २५ जनाको मृत्यु
भारतको गोवामा भीषण आगलागीमा परी २५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गए राति एक नाइट क्लबमा लागेको आगोमा परी विदेशी पर्यटकसहित २५ जनाको मृत्यु भएको हो ।
उत्तर गोवाको अर्पोरास्थित क्लबमा मध्यरातमा आगो लागेको थियो ।
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तका अनुसार घटनामा ६ जना घाइते भएका छन्। सबै घाइतेको अवस्था स्थिर रहेको र उनीहरूलाई उच्च स्तरको चिकित्सकीय उपचार गरिँदैछ ।
अधिकारीहरूले अधिकांश मृत्यु धुवाँको असर (सफोकेसन) का कारण भएको पुष्टि गरेका छन्। मृत्यु हुनेमध्ये ४ जना पर्यटक र १४ जना स्टाफ सदस्यको पहिचान भइसकेको छ भने बाँकी ७ जनाको पहिचान हुन बाँकी रहेको र उनीहरू कर्मचारी वा पर्यटकमध्ये को हुन् भन्ने पुष्टि भइरहेको बताइएको छ।
आगो राति करिब १ बजे लागेको थियो। सुरुवाती अनुमानमा किचन नजिकैको सिलिन्डर विस्फोट कारण हुन सक्ने आशंका गरिए पनि डीजीपीले निरीक्षणपछि सबै सिलिन्डर सुरक्षित अवस्थामा भेटिएको बताउँदै विस्फोटको कारण खारेज गरेका छन्।
प्रत्यक्षदर्शी र अधिकारीका अनुसार आगलागी यति तीव्र थियो कि केही सेकेन्डमै सम्पूर्ण भवन जलेको थियो । केही समयमै आगो फैलिएका कारण भित्र रहेका मानिसहरूलाई भाग्ने अवसर कम भएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत