जो हृदयघात हुँदाहुँदै पाँच घण्टासम्म फार्ममा काम गरे
हृदयघात (हार्ट अट्याक) भएर अस्पताल पुग्नुअघि पाँच घण्टा आफ्नो गाई फार्ममा काम गरेका ६० वर्षीय एक व्यक्तिले लक्षणलाई बेवास्ता नगर्न सबैलाई आग्रह गरेका छन्।
बीबीसीका अनुसार उत्तरी आयरल्याण्डको पोर्टरशका किसान रोबर्ट नेभिन फेब्रुअरी २०२४ मा रातको बीचमा उठ्दा आफूलाई अपच (ग्यास्ट्रिक) भएको जस्तो लागेको बताए।
भोलिपल्ट सबेरै उठेर उनले आफ्नै गाई फार्ममा करिब पाँच घण्टा काम गरे र त्यसपछि आफै गाडी चलाएर अस्पताल पुगे। अस्पताल पुगेपछि मात्र उनलाई हृदयघात भइरहेको जानकारी दिइयो।
बिहान उठ्दा नै छातीमा “स्पष्ट पीडा” महसुस भएको नेभिनले बताए। “कसैले मुक्का हानेजस्तो पीडा थियो,” उनले भने।
त्यतिबेला नेभिन आफ्ना दाजुसँग फार्ममा काम गर्थे। उनीहरू दैनिक रूपमा गाई दुहुनु र घाँस खुवाउने काम गर्थे। “यो काम त गर्नै पर्छ। जे भए पनि, हरेक दिन यो काम रोकिँदैन,” उनले भने।
छाती दुखिरहेको भए पनि उनले बिहानको खाना खाए र फर्ममा काम गर्न गएका थिए। करिब पाँच घण्टा काम गरेपछि दिउँसो खाना खान घर फर्किए।
घर आएपछि उनकी श्रीमती लोर्नाले उनी अझै पीडामा रहेको देखिन् र उनलाई अस्पताल लैजाने बताइन्। तर नेभिनले आफै गाडी चलाएर कोलेराइनस्थित कजवे अस्पताल जान अडान गरे।
त्यतिबेला छातीको पीडा झन् बढ्दै गएको उनले बताए।
अस्पतालमा परीक्षण गरेपछि चिकित्सकले उनलाई हृदयघात भइरहेको बताए। “यो निकै ठूलो झट्का थियो,” नेभिनले भने। “हृदयघात भएको खबरले मलाई एकैछिनमै स्तब्ध बनायो।”
“म त सामान्य दिनको काम सकेर आएको थिएँ। त्यसअघिसम्म कुनै लक्षण थिएनन्, जसलाई मैले बेवास्ता गरेको हुँ। सबै कुरा सामान्य भइरहेका बेला एकाएक यस्तो हुन्छ भन्ने कल्पनै गरेको थिइनँ,” उनले भने।
हृदयघात तब हुन्छ, जब मुटुमा जाने रगतको आपूर्ति अचानक बन्द हुन्छ। प्रायः यो रगत जमेको कारणले हुन्छ। यो एक गम्भीर आपतकालीन अवस्था हो। मुटुमा रगत नपुगेमा मुटुको मांसपेशी गम्भीर रूपमा क्षतिग्रस्त हुन सक्छ र ज्यानै जाने खतरा पनि हुन्छ।
हृदयघातका लक्षणहरू
– छातीको बीच भागमा च्यापिएको, कसेको वा दबाब परेको जस्तो पीडा
– शरीरका अन्य भागमा पीडा सर्नु (छातीबाट हात, जबडा, घाँटी, ढाड वा पेटतर्फ)
– टाउको हल्का हुनु वा चक्कर लाग्नु
– अत्यधिक पसिना आउनु
– सास फेर्न गाह्रो हुनु
– वाकवाकी लाग्नु वा बान्ता हुनु
– अत्यधिक डर वा चिन्ता महसुस हुनु
– खोकी लाग्नु वा सासमा सिटी बजेजस्तो आवाज आउनु
धेरैजसो अवस्थामा छातीको पीडा तीव्र हुन्छ। तर कतिपयमा ग्यास्ट्रिकजस्तै हल्का पीडा मात्र पनि हुन सक्छ। केही अवस्थामा भने छाती दुखाइ नहुन पनि सक्छ, विशेषगरी महिला, वृद्ध व्यक्ति र मधुमेह भएका मानिसमा।
लक्षण देखिएमा ढिलाइ नगरी तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सकहरू सुझाव दिन्छन्।
हेल्थपाटी
तपाईँको अभिमत