परिवर्तित परिस्थितिमा कोरोना जोखिमको जिम्मेवारी कसको ?
कोरोना भाइरस (कोभिड-१९) को महामारीको चपेटासँगै ‘स्वस्थ राष्ट्र निर्माणका लागि सँगसँगै’ भन्ने मूल उद्धेश्य प्राप्तिको अथकित यात्रामा हामी जुटिरहेकै छौँ । कोभिडको आक्रमणलाई परास्त गर्न सरकारबाट गरिएका निणर्यहरू आमनागरिक समक्ष पुर्याउँदा पुर्याउँदै पनि कतिपय निस्प्रभावी निणर्यहरूप्रति हाम्रो आलोचना समेत रहँदै आएको थियो ।
हामीलाई थाहा थियो राज्यसञ्चालनको बागडोर लिएको पार्टीभित्र केही असझदारी र गुटगत क्रियाकलाप भइरहेका छन् । तर इतिहासमै पहिलोपटक गठन भएको दुईतिहाइ बहुमतको नजिक पुगेर सरकार चलाइरहेको पार्टीमा यति ठूलो विग्रह र अवमूल्यन आउला भन्ने हामीलाई लागेको थिएन । कोरोनाले आक्रान्त पारिरहेको यस्तो जटील अवस्थाबाट मुलुक र मुलुकबासीलाई त्राण दिनु पर्ने बेलामा यस्तो उपक्रम सिर्जना भएको देख्दा हामी किंकर्तव्य विमुड भएका छौँ ।
राष्ट्र कोभिड-१९ महामारीको चपेटामा छ । राष्ट्रको आर्थिक, शैक्षिक सबै गतिविधि ठप्प छन् । निम्नस्तरीय नागरिक रोजगारविहिन भएर भोकभोकै तड्पिन बाध्य छन् । भोकले मर्नुभन्दा बौलाउनु निको भनेझैं उनीहरूलाई आक्रोशित र विक्षुब्ध बनाउँदै छ । यस्तो अवस्थामा सरकारको यो पछिल्लो कदमले मुलुकमा झन अस्थिरता र अन्यौलता सिर्जना गरिदियो । होला, फेरि सरकारको यस कदमको पक्षमा र विपक्षमा सडकमा नाराजुलुस भेलाहरू जस्ता गतिविधि बढ्ने छन् । यी गतिविधिहरूले एकातिर कोरोना संक्रमणलाई उच्च दरमा बढाउने छ भने सरकारको अस्थिरताले संक्रमण नियन्त्रणमा स्वभाविक ढङ्गले नकारात्मक प्रभाव पार्ने निश्चित छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले हेल्थपाटीसँग कुरा गर्दै बताउनु भयो- “बदलिएको राजनीतिक घटनाक्रमले स्वास्थ्यका कार्यक्रममा खासै असर पर्दैन । तर चिन्ताको विषय के छ भने भीडभाड, जुलुस, प्रर्दशनले संक्रमणलाई बढाउने जोखिम छ ।” अब यो जोखिमको जिम्मेवारी कसले लिने ?
जनस्वास्थ्यविद् डा.शरद वन्त भन्नुहुन्छ- ”अहिलेको विषम परिस्थितिमा अचानक फेरिएको देशको घटनाक्रमले पक्कै पनि असर त पार्छ नै ।खोपको सवालमा अन्तर्राष्ट्रिय दाताहरुको सहयोगमा त असर नपर्ला तर कार्यान्वयनको पाटोमा भने फरक पार्न सक्छ ।” स्वास्थ्यविद्हरूको यी अभिव्यक्तिले कोरोनाग्रस्त नागरिकको स्वास्थ्यस्थिति प्रतिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न खडा गरिरहेको महसुस हुन्छ ।
एकाएक बदलिएको यो परिदृश्यप्रति स्वास्थ्य क्षेत्रमा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी, डाक्टर, नर्स र अन्य कर्मचारीहरूको मनोविज्ञानमा के कस्तो असर परिरहेको होला हामी सहजै अनुमान लगाउन सक्छौँ । राजनीतिको दाउपेचमा फस्दै गएको नेतृत्वले कुन दूरदृष्टिका साथ आम नागरिकको दुर्दशापूणर् स्वास्थ्य अवस्थालाई कसरी संबोधन गर्ला । हामीलाई चिन्तित तुल्याएको छ ।
यसरी शनैशनै राष्ट्र नै अस्वस्थ हुने स्थिति पैदा भएको छ । सिङ्गो राष्ट्र अस्वस्थ भएका बेला हामी पो कसरी चुपचाप रहन सक्छौँ र !!
तपाईँको अभिमत