जनता नै रहेनन् भने शासन काे माथि गर्ने ?
अक्सिजन त देउ सरकार !
नेपालले अहिले नै गल्ती सच्यायो भने कोभिड विरुद्धको संघर्ष सफलतामा परिणत हुनेछ । विकराल परिस्थितिको सामना गर्नुको विकल्प हुनेछैन । दोस्रो चरणको कोरोना भाइरस पहिलो चरणको तुलनामा खतरनाक रहेको विज्ञहरुले बताउँदै आएका छन् । समयमै नियन्त्रण गर्न सकेनौँ भने अवस्था भयावह पनि बन्न सक्छ । स्रोत साधनले नभ्याउने अवस्था आउन सक्छ । कोरोना नियन्त्रणका लागि प्रत्येक व्यक्तिले इमान्दारितापूर्वक स्वास्थ्य मापदण्डको पालना गर्नुपर्छ ।
सरकार नागरिकको पीडामा सँगै छ भन्ने महसुस गराउने बेला हैन र याे ?
कोरोनाको पहिलो लहर होस् वा दोस्रो । हामीले सिकाउन र सिक्नका लागि प्रशस्त समय र ठाउँहरु नभएका होइनन् । छिमेकी भारत जब कोरोनाको चपेटामा लपेटिँदै गयो तब मात्र नेपालको पनि यसमा चासो र चिन्ता बढ्न थाल्यो । भारतमा आँधीसरी फैलिएको कोरोना र अक्सिजनको अभाव झेलिरहेकाे देखेर नेपालले पनि त्यो दिन हाम्रो लागि पनि अब टाढा छैन भन्ने हिसाबले तयारी थाल्नुपर्थ्योे । थालिहालेकाे भए याे बेलासम्म हामीले धेरै गरिसक्ने थियाैँ तर हामी नराम्राेसँग चुक्याैँ र अझै पनि चुकिरहेको छाैँ ।
भारतमा गएको मार्चको शुरुदेखि नै कोरोना संक्रमितको ग्राफ उकालो लाग्न थालिसकेको थियो । त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने निश्चित नै थियो । अहिलेसम्म आइपुग्दा मृत्यु हुने संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । देशले नोक्सान कम गर्ने विषयमा समयमै प्रभावकारी निर्णय लिन सकेन । कोरोना फैलिनुमा स्वाभाविक रूपमा स्वास्थ्य असावधानी, भीडभाड र समयमै सरकारले पूर्व तयारीका कामतिर ध्यान केन्द्रित गर्न नसक्नु मुख्य कारण हुन् ।
कोरोनाको दोस्रो लहरमा धेरै मानवीय क्षति भइरहेको छ र यो नेपालमा अझै बढ्ने क्रममा देखिन्छ । किनभने देशभरका आइसियु र भेन्टिलेटरमा कोरोना संक्रमितको चाप बढेको बढ्यै छ । अक्सिजनको अभावमा नेपालमा पनि भारतमा जस्तै संक्रमितले छट्पटाएर प्राण पखेरु त्याग्न बाध्य भएका खबर सार्वजनिक भइरहेका छन् । जनवरीदेखि नै नेपालमा पनि कोरोनाको युके भेरियन्ट फेला परिसकेको थियो । अब याे तीव्र गतिमा समुदाय जानसक्छ भनेर जनस्वास्थ्य विज्ञहरूले राेकथामकाे आवश्यक तयारीमा रहन, पूर्वाधार निर्माणकाे कार्यमा जुटिहाल्न सरकारकाे ध्यानाकर्षण गरेकाे ४ महिना बित्याे तर नेपाली जनताकाे अभिभावक बनेकाे सरकार, स्वास्थ्य मन्त्रालय र यसका विभागीय निकायहरू कुन धुन र धन्दामा अलमलिइरहे याे एकदमै अनाैठाे पहेली बन्न पुगेकाे छ ।
आम नागरिककाे आक्राेशकाे आँधि उर्लियाे भने परिणाम के निस्कला ?
नेपालमा अहिले देखा परेको प्रकोप उचित समयमा गर्नुपर्ने सामयिक प्रयासको कमीकै परिणाम हो । सरकारले स्वास्थ्य मापदण्डका नियमहरुको रटान लगाइरहँदा कार्यान्वयनतर्फ अरूचि र अनुगमन तथा नियन्त्रणको साटो आफै उद्घाटन र राजनीतिक कार्यक्रम राख्दै भिड जम्मा गर्नेतिर सक्रिय रह्यो ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि राष्ट्रिय रणनीति बनाए पनि कार्यान्वयन पक्ष एकदमै फितलाे देखिन्छ । हाल नेपालको करिब सबै जिल्लामा संक्रमण पुगिसकेको छ । जब उपत्यकामा स्थानीय प्रशासनले निषेधाज्ञाको आदेश दियो, मानिसहरु हुलका हुल गाउँ फर्किए । याे बेलासम्म संघीय सरकार जस्तै गाउँ र जिल्लाका स्थानीय सरकारहरू मस्त निद्रैमा थिए । उनीहरू ब्युँझनुभन्दा पहिले नै स्वदेशकै राजधानी र भारतीय भूमिबाट त्रस्त बन्दै फर्किएका नागरिकलाइ पच्छ्याउँदै शहरकाे भिडभाडबाट सल्किएकाे संक्रमण अब भुसको आगो सरी दूरदराजका गाउँसम्म फैलिन पुगेको छ । अब पनि सरकारले ध्यान नदिने हो भने अकल्पनीय मानवीय क्षति हुने निश्चित छ ।
नेपाली जनतालाइ निशुल्क उपलब्ध गराउने घाेषणा गरेकाे सरकारले समयमै खाेप ल्याउन सकेन । बरू कमिसनखाेरहरूकाे चङ्गुलमा फसेकाे चर्चा चल्नु कम लज्जास्पद छैन । स्वयम स्वास्थ्यमन्त्रीकाे अभिव्यक्तिले दालमा कालाे छ भन्ने सङ्केत गरेकै छ । दिनहुँ नयाँ संक्रमितकाे सङ्ख्या बढिरहेकाे छ, अस्पताल र स्वास्थ्यकर्मीले अक्सिजनकाे अभाव, शैयाहरूकाे अभाव, आवश्यक जनशक्तिकाे अभाव, आइसियु र भेन्टीलेटरकाे अभावका कारण उपचार गर्न नसकिरहेकाे पीडा पाेखिरहेका छन् । उपचारै नपाएर ज्यान गुमाइरहेकाे समाचार सावर्जनिक भइरहेकाे अवस्था आफैमा भयावह छ । याे भयावह स्थिति घट्रने हाेइन अझ बढाेत्तरी हुँदै गइरहेकाे छ । तर सरकारकाे प्राथमिकता याे स्थितिलाइ सामान्यीकरण गर्नेतर्फ देखिँदै छैन । सबैभन्दा बढी चिन्ता र चासाेकाे विषय यही हुन पुगेकाे छ ।
जनता नै रहेनन् भने शासन काेमाथि गर्ने ? पीडा र भाेकले आक्राेश जन्माउँछ ।
अक्सिजन र अस्पतालको सुविधा धेरै नभएको हाम्रो देशमा झन् कठिन अवस्था निम्तिन सक्छ । जतिसक्दो छिटो धेरैभन्दा धेरै अस्पतालका लागि आवश्यक उपकरणहरू थप्नुपर्छ । औषधी, उपकरणका साथै अक्सिजन सिलिण्डरको कालोबजारी र तस्करीका समाचारले आम नागिरकलाइ झन त्रस्त बनाइरहेकाे छ । बजारमा अक्सिमिटर भेटिन्न, तर ८ सय, हजार मूल्य पर्ने त्याे उपकरण ३५ सय हाल्न तयार भए लुकेर लुकाएर खरिदबिक्रि भइरहेकाे छ । अक्सिजन सिलिन्डरकाे पनि हालत यस्तै छ ।
सबैजसो अस्पतालहरुमा संक्रमितको चाप बढेका कारण चिकित्सकहरु अब थेग्न नसक्ने पीडा सुनाइरहेका छन् । नियन्त्रण तथा रोकथाममा सरकारी ढिलासुस्ती अकर्मण्यताकाे परिचायक हाे । यस्ताे महामारीमा सरकार नागरिकको पीडामा सँगै छ भन्ने महसुस गराउने बेला हैन र याे ? कोरोना महामारीबाट नडराउन, बरु सजगता अपनाउन र रोग लागि नै हालेछ भने दृढ मानसिकता निर्माण गर्नुपर्दछ भनी स्वास्थ्यकर्मीहरुले भनिराखेका छन् । तर उनीहरूकाे आवाज निरीह र निरूपाय बन्नु अत्यन्त खेदजनक छ । सरकार, जनताका आँसु र पीडालाई ग्रहण गर । जनता नै रहेनन् भने शासन काेमाथि गर्ने ? पीडा र भाेकले आक्राेश जन्माउँछ । आम नागरिककाे आक्राेशकाे आँधि उर्लियाे भने परिणाम के निस्केला ?
नरनाथ लुइँटेल
तपाईँको अभिमत