अस्पताल बन्द गर्नु डाक्टरको पेशागत मर्यादाभित्र पर्दैन
गत भदौ २७ गते हेटौँडाको सन्चो अस्पतालमा कार्यरत डा.विकास थापा र डा.प्रशान्त विंडारीमाथि कुटपिट भयो । यो घटनापछि अहिले नेपालको स्वास्थ्य क्षेत्र निकै तातेको छ । यसै घटनाको विरोधमा चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्यो ।
डाक्टरमाथि कुटपिटमा संलग्न चार जनालाई प्रहरीले भोलिपल्टै पक्राउ गरी हिरासतमा राखेको छ । अब यस्तो घटना कहिल्यै नहुने वातावरण सरकारले बनाओस् भनी दवाव दिन अस्तपाल बन्द गर्नुपरेको तर्क डाक्टरहरूले गर्दै आएका छन् ।
एक्कासी अस्पतालका स्वास्थ्य सेवा बन्द गर्दा देशभरका लाखौँ सेवाग्राही, बिरामीहरू मर्कामा परेका छन् । घटनाका दोषी पक्राउ परिसकेको र थप कारबाही अगाडि बढिरहेको अवस्थामा नेपाल चिकित्सक संघले एक्कासी देशभरका अस्पताल बन्द गर्ने घोषणा गर्यो ।
जघन्य अपराध गरेर दोषी ठहर भएको मान्छेलाई त मनलाग्दी कसैले कुटपिट गर्न पाउँदैन । उपचार चित्त नबुझेकै आधारमा चिकित्सक, स्वास्थ्यकर्मीलाई कुट्नु कुनै तरिकाबाट जायज हुने कुरै भएन । यसको कहीँ कतै कसैले समर्थन गरेको पनि छैन ।
यस्ता घटनाका दोषीलाई सजाय दिन कानुनी व्यवस्था पनि छ । धेरै विकल्पहरू हुँदाहुँदै पनि अस्तपाल नै बन्द गर्ने खालको आन्दोलनको कार्यक्रम किन ल्याइयो ? यो अर्को आश्चर्यको कुरा हो । कोही एक व्यक्तिले डाक्टरमाथि कुटपिट गर्यो भन्दैमा त्यसको सजाय देशभरका लाखौँ बिरामीलाई दिनु वुद्धिमानी हुन्छ र ?
यसरी अस्तपालको सेवा बन्द गरेकै कारण भावी दिनमा डाक्टर कुटिँदैनन् भन्ने कुनै वैज्ञानिक आधार छ ? कोही व्यक्तिले गरेको गल्तीको विरोधमा डाक्टरहरूले थप गल्ती गर्नु कति उचित कदम हो ? यी र यस्ता प्रश्न उठ्नु स्वभाविक हो ।
डाक्टरहरू भनेको त समाजका लागि आदर्श व्यक्तिहरू हुन् । उनीहरूबाट समाजले जिम्मेवार व्यवहारको अपेक्षा गरेको हुन्छ ।अनेक पेशा व्यवसायमा संलग्न व्यक्तिले पनि कुनै गल्तीबिना यसरी कुटाइ खाइरहेका त पक्कै छन् । ती घटनाहरूको यो तहमा चर्चा हुने गरेको छैन ।
कुटिएका डाक्टरको हकमा मात्रै यति धेरै सहानुभूति र सद्भाव किन आउँछ त ? समाजमा यो पेशाप्रति रहेको सम्मान, डाक्टरको क्षमता, समाजमा डाक्टरहरूको महत्व जस्ता कुराले यत्रो सद्भाव पाएको होइन र ? तर यो सम्मान, श्रद्धा र विश्वास अनुसारनै डाक्टरहरू पनि जिम्मेवार बन्ने कि नबन्ने ? ड्राइभर, कुटिँदा गाडी बन्द गर्छन्, डाक्टर कुटिँदा अस्तपाल बन्द नगरेर के गर्नु त ? भन्ने तर्क कतिको जायज होला ? ड्राइभरले गाडी नचलाउँदा हुने क्षति र डाक्टरले अस्पताल बन्द गर्दा हुने क्षति समान किसिमका हुँदैनन् ।
घटना भएको भोलि पल्टैदेखि चिकित्सकहरूले सामाजिक सञ्जालमा राखेको अभिव्यक्ति हेर्दा केही डाक्टरले लगातार उग्र किसिमका तर्क गरेको देखिन्थ्यो । जिल्ला - जिल्लामा डाक्टरले सेवा बन्द गर्दा त्यो कार्यको प्रशंसा भइरहेको थियो ।
अस्पतालहरू बन्द गनुपर्छ भन्ने खालका तर्कहरू चिकित्सकीय मर्यादा र अभ्यास भन्दा पनि राजनीतिक रङ्ग देखिएन र ? गत निर्वाचनतिर उम्मेदवार नै बन्नुभएका चिकित्सकसमेत पनि बन्दको पक्षमा लागिरहनुले के कुराको सङ्केत गर्दछ होला ? समस्या समाधानमा केन्द्रीत हुने भन्दा पनि मौकामा भेल छोपेर आफू कसरी हिरो बन्ने भन्ने ध्याउन्नमा लागेको हो कि भन्ने आशङ्का केही चिकित्सकको व्यवहारले प्रस्तुत गरिरहेको देखिन्छ ।
यस्तो बेलामा चिकित्सक संघले के गर्यो त ? चिकित्सक संघ के हेरेर बसेको छ ? भने जस्ता प्रश्न आफ्ना सदस्यहरूबाटै आएपछि त्यसलाई केही मथ्थर बनाउन पनि अस्तपाल बन्दको कदम चालेको हुनसक्छ ।
संघले बोल्नै पर्ने मुद्दामा चिकित्सक संघ मौन रहँदै आएका घटना पनि थुप्रै छन् । केही समयअघि स्वास्थ्य मन्त्रीले एकजना डाक्टरलाई आत्महत्या गर्ने भए डोरी म किनिदिन्छु भन्दा संघ किन केही बोलेन ? सिनियर डाक्टरहरूले जुनियर डाक्टरमाथि श्रमशोषण गरिरहेका धेरै गुनासा आइरहेका छन् यस सम्बन्धमा संघ किन मुख खोल्दैन ? निजी अस्पतालहरूमा कार्यरत डाक्टर र नर्सहरू पर्याप्त पारिश्रमिक पाइरहेका छैनन्, यहाँ पनि श्रमशोषण भइरहेको छ, किन बोल्दैन ?
कोही पनि बिरामी वा बिरामीका आफन्तले समान्यतया उपचार गर्ने चिकित्सक, स्वास्थ्यकर्मीलाई कुटपिट, दुर्व्यवहार गर्दैन । तर पनि यस्ता घटना हुने वातावरण किन बनिरहेका छन् त ? त्यता ध्यान दिएर दीर्घकालिन समस्या समाधानतर्फ ध्यान जानु पर्ने हैन र ? अथवा उपचारमा बिरामीको हक र डाक्टरको पेसागत कर्तव्यबारे राम्रो जानकारी गराउन पो नसकिएको हो कि ?
उपचारका क्रममा यदि कमजोरी भैहाल्यो भने डाक्टरलाई कुटपिट नगरेरै पनि न्याय पाउन सकिन्छ, कानूनी प्रक्रिया छन् भनेर सम्झाउन पो सकेनौं कि ? बिरामीले उपचार गराइरहँदा अस्पताल र डाक्टरसँग के कस्ता विषयमा आफ्नो कुरा प्रस्तुत गर्ने अधिकार छ भन्ने बारे सुसूचित गराउन सकेनौं कि ? डाक्टरले गल्ती गरे, त्यसमा कारबाही हुन्छ अनि बिरामी तथा आफन्तले डाक्टर एवम् स्वास्थ्यकर्मीमाथि कुटपिट गरे, दुर्व्यवहार गरे त्यसमा पनि सजायको भागीदार हुनुपर्ने व्यवस्था रहेको छ भन्नेबारे पर्याप्त जानकारी गराउन पो चुक्यौं कि ?
एउटा अस्पतालको डाक्टरले अर्को अस्पतालको डाक्टरलाई उपचार उपचार केन्द्रित प्रक्रियाका बारेमा बिरामीलाई के भन्ने वा नभन्ने भनेर सचेत गराएनौ कि ? अस्पताल प्रशासनले उपचारको क्रममा हुने गल्तीका विषयमा अस्पताल प्रशासनको व्यवस्थापन भन्दा पनि डाक्टरहरूलाई दोष लगाउने प्रवृत्ति रहेको छ । तर यसमा व्यवस्थापनतर्फ प्रश्न गरिँदैन, प्रशासनिक दायरा उसको दायित्वका कुरा गरिँदैन।
यसबारे सम्बन्धित निकायले सोच्नु पर्दैन ? अस्पतालहरूमा डाक्टर र बिरामी बीचको सम्बन्धमा दरार उत्पन्न गराउने वातावरण सृजना भइरहेको छ । बिरामी र स्वास्थ्यकर्मी बीचको सम्बन्ध सुमधुर कसरी बनाउन सकिन्छ भन्ने विषयमा बहस गरौँ । जनतालाई सुसूचित गरौँ।
चिकित्सकहरू सुरक्षित हुनुपर्छ र मर्यादित पनि । उनीहरूलाई यसरी सेवा नै बन्द गरेर आन्दोलित हुने परिस्थिति सिर्जना गरिनुहुन्न । यसो गरिनु न त डाक्टरहरूको हितमा छ, न त विरामीहरूको हितमा छ, न त पेसागत मर्यादाभित्र नै पर्दछ ।
जनतालाई सुसूचित गर भनेर हामीले सम्पादकीय बिट मार्दै गर्दा सचेतना कार्यक्रम गर्ने सहमति भएछ । यसका लागि सरकार र संघलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ । यो सहमतिको कार्यान्वयन भएको हेर्न पाइयोस् । फेरि पनि उही विषयमा हामीले समाचार लेख्नु पर्ने आवश्यकता नपरोस् भन्ने चाहना लिएका छौँ ।
तपाईँको अभिमत