प्रचारमुखी र संवेदनाहीन सोचले देश हाँकिन्छ मन्त्रीज्यू ?
स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की राजनीतिमा छोटो समयमै सफलता हात पार्ने व्यक्तिमध्ये एक हुनुहुन्छ । उहाँले राजनीतिक यात्रा तय गर्नुभएको करिब ६ महिनामै सांसद हुने अवसर पाउनुभएको छ । त्यति मात्र हैन ‘राज्यमन्त्रीको कुर्सी’समेत उहाँलाई प्राप्त भएको छ । यद्यपि उहाँलाई राज्यमन्त्री नभई ‘फुल मन्त्री’ को अपेक्षा थियो । गठबन्धनमा ‘भाग’ मिलाउँदा उहाँले स्वास्थ्य राज्यमन्त्री प्राप्त गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्यको उम्मेदवारी घोषणा गर्नुभएसँगै डा.तोसिमा चर्चामा रहनुभयो । चर्चासँगै संसद्सम्म पुग्ने यात्रा पनि सफल भयो । उहाँको चर्चा वहालवाला मन्त्री पम्फा भुसाललाई पराजित गरेकाले पनि धेरै भयो । जितसँगै उहाँलाई स्वास्थ्यमन्त्रीका रूपमा चर्चा गर्न थालियो । आफैँ व्यवसायिक चिकित्सक भएको र स्वास्थ्य क्षेत्रलाई राम्रोसँग बुझेको अनि युवा भएकाले स्वास्थ्यमन्त्रीका रूपमा उहाँलाई चर्चा गर्नु त्यति अत्युक्ति थिएन । र, मन्त्री भएमा स्वास्थ्य क्षेत्रमा रहेका विद्यमान समस्या समाधान गर्नुहुन्छ भन्ने धेरैले अपेक्षा समेत गरेका थिए, अझै छन् । उहाँप्रति आशा उहाँको पृष्ठभूमिका कारण पनि भएको हो ।
संवेदनशील विषयमा समेत ख्याल नगर्ने डा. तोसिमाबाट अपेक्षाकृत सुधार हुनेमा अब आशंका गर्न थालेका छन् ।
डा. तोसिमाले इन्टर्नका डाक्टरहरूलाई बुलन्द गरेर अधिकारका लागि आवाज उठाउने काम गर्नुभयो । उहाँले डा. गोविन्द केसीको सत्याग्रह आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभयो । त्यति मात्र नभएर उहाँले स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति र अन्यायमा परेकाहरूको पक्षमा आवाज उठाउने काम गर्नुभयो । अभियानकै कारण उहाँलाई मिडियाले पनि राम्रो साथ दियो । अहिले पनि दिइरहेका छन् । तर धेरै आशा गरिनुभएकी उहाँको सुरुवाती व्यवहारले भने ‘पहिलो गाँसमा ढुङ्गा’ परेको महसुस हुँदै छ ।
डा. तोसिमा स्वास्थ्य राज्यमन्त्री हुने बित्तिकै ‘रिवन काट्ने प्रतिस्पर्धा’मा लाग्नुभयो । निष्क्रिय पद भएको थाहा हुँदाहुँदै पनि मन्त्रीले गर्नुपर्ने हस्ताक्षरमा पनि आफू हस्ताक्षर गर्न अग्रसर हुनुभयो । जसका कारण उहाँ ‘ट्रोल’ को शिकार पनि बन्नुभयो । अझ उहाँले आफूले आफैंलाई जलाएर घाइते भएका इलामका प्रेमप्रसाद आचार्यलाई अस्पतालको सघन उपचार कक्षमा भेट्न जाँदा आइसीयूको ‘इथिक्स’ नै भुल्नुभएको देखिन्छ ।
आफैँ जनरल सर्जन चिकित्सक हुँदाहुँदै सघन उपचारकक्षमा जाँदा उहाँले पञ्जा लगाउनुभएन । बिरामीलाई भेट्न बिरामीकै परिवारका मान्छेलाई समेत सहज नहुने कक्षमा उहाँ पुग्नु र प्रचारका लागि भिडियो खिच्नु संवेदनाहीन काम भएको भन्दै धेरैले आलोचना गरे । आफैँ व्यवसायिक चिकित्सक भएर पनि मेडिकल प्रोटोकल भुलेर प्रचारबाजीमा लाग्नुभयो । आइसीयू कक्षमा गएर गम्भीर अवस्थाका आचार्यसँग कुराकानी गरेको र बिनापञ्जा उहाँलाई छोएको भिडियो उहाँकै सचिवालयले सार्वजिनिक गरेको थियो । त्यस्तो संवेदनशील अवस्थाका बिरामीलाई भेट्न जाँदा पनि प्रचारबाजीका लागि भिडियो खिच्ने मान्छेसमेत सँगै लगेर भिडियो खिचाएको आरोप उहाँमाथि लागेको छ ।
अझ त्यस्तो कामको भिडियो बनाएर प्रचार गर्नु लज्जास्पद विषय भएको कुरा आफूलाई डा.तोसिमाका समर्थक नै बताउन थालेका छन् । यस्ता संवेदनशील विषयमा समेत ख्याल नगर्ने डा. तोसिमाबाट अपेक्षाकृत सुधार हुनेमा अब आशंका गर्न थालेका छन् ।
नेपाली जनजीवनले दैनन्दिन भोग्नु परेका स्वास्थ्य समस्यामा सहज उपचारको पहुँच, औषधिमा कार्टेलिङ, मुनाफाखोरी र कमिशन एवम् विचौलियाहको बिगविगीले आम नागरिक आक्रान्त भइरहेको वर्तमान अवस्थामा आशाको धिपधिपे बत्ती बाल्दै स्वास्थ्य राज्यमन्त्री बन्न पुग्नु भएकी डा.तोसिमाबाट धेरै आशा र अपेक्षा गरिएको छ ।
एकातिर पहुँच भएकाहरू राज्यकोषबाटै लाखौं रकम लिएर विदेशकै अस्पतालमा उपचार गर्न पुगिरहेका छन् अर्कोतिर विकट ग्रामीण बस्तीका स्वाथ्य केन्द्रहरूमा सिटामोल समेतको अभाव छ । पहुँचविहिन, आर्थिक स्रोत शून्य भएका र दूरदराजमा दीर्घ रोग पालेर मृत्यु कुरिरहेका नेपालीहरू चाहिँ नागरिक हैनन् ?
उनीहरूको न्यूततम स्वास्थ्य उपचारमा राज्यको पहुँच पु¥याउन के के गर्नुपर्छ ? स्वास्थ्य क्षेत्रमा विद्यमान विकराल विकृति र समस्यालाई निराकरण गर्न के कस्ता योजना परियोजनाहरू लागु गर्नु पर्ला ? यसतर्फ समुचित ध्यान दिनु पर्ने दायित्व वा जिम्मेवारी स्वाथ्य मन्त्रालय सम्हाल्ने राज्यमन्त्री तोसिमाको काँधमा आएको छ । यो गम्भीर दायित्वबोध नगरी प्रचारमुखी संवेदनाहीन कार्यमा क्यामेरा बोक्दै दौडिन पटक्कै सुहाउँदैन । यसतर्फ सचेष्ट भएर ध्यान नदिने हो भने आम नागरिकका नजरमा उहाँलाई फेरि पनि ‘जुन जोगी आए कानै चिरेका’ भन्नुको विकल्प छैन ।
तपाईँको अभिमत