स्वास्थ्यकर्मीमाथि अमानवीय हर्कत गर्नेलाई तत्काल कार्वाही गर !

तस्बिर राताेपाटी
आफू र आफ्नो निहित स्वार्थबाहेक केही नदेख्ने र नसम्झने मनोवृत्तिले हामीलाई कहाँ पुर्याउँछ ? स्वाथ्यकर्मीमाथि गरिएको यो दुर्व्यवहार विवेकशून्य र घोर अमानवीयताको पराकाष्ट हो ।
कोरोना संक्रमणको यो महामारी दिनानु दिन बढ्दै गइरहेको छ । संक्रमण नियन्त्रणका लागि भएका प्रयत्नहरू क्रमशः कमजोर सावित हुँदै गएका छन् । भेन्टिलेटर र आइसीयूको अभाव मात्र होइन हामीकहाँ अब स्वास्थ्यकर्मी समेतको अभाव महसुस हुन थालेको छ । संक्रमणबाट जटिल अवस्थामा पुगेका नागरिकले भेन्टिलेटर भएको अस्पताल खोज्दाखोज्दै मृत्यू वरण गर्नु परेको दुखदायी खबर पढ्नु पर्ने दुर्दान्त अवस्थामा हामी आइपुगेका छौँ ।
कोरोना संक्रमणले तिब्रगति लिइरहेको यो बेला नेपाली समाजमा केही भिन्न परिदृश्यहरू समेत देखा पर्न थालेका छन् । संक्रमण रोकथाम र नियन्त्रणको मोर्चामा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीमाथि सामाजिक जीवनका अगुवाहरूबाटै अमानवीय हर्कत हुने गरेको देखिँदै छ । उनीहरूलाई सुरक्षा र संरक्षण प्रदान गर्नुपर्ने प्रहरीद्वारा नै केही समयअघि महाराजगञ्जमा निर्घात कुटपिट भएको थियो ।
वीरगञ्जमा अस्पतालभित्रै पसेर स्वास्थ्यकर्मीमाथि आक्रमण र दुर्व्यवहार भएको हप्ता दिन नहुँदै भरतपुरमा डाक्टर र नर्सको घरमै पुगी ‘यो कोरोना संक्रमितको घर हो’ भन्ने बोर्ड झुन्ड्याउने प्रयास गरिएको थियो । कोभिड संक्रमणको विरुद्ध अग्रमोर्चामा खटिरहेका स्वास्थ्यकर्मीहरूको उल्लेख्य संख्या आफैं संक्रमणको चपेटामा परेको छ । आफ्नो ज्यान पीपीइ र मास्कको जिम्मा लगाइ अहोरात्र कर्मक्षेत्रमा जुटिरहेका स्वास्थ्यकर्मीलाई डेरा समेत नदिने, डेरा नदिन घरपेटीलाई धम्क्याउने जस्ता अमानवीय हर्कत देखिन थालेका छन् ।
भरखरै राजधानीको वानेश्वर क्षेत्रमा स्वास्थ्यकर्मी बसेको घर घेराउ गरिएको जानकारी सार्वजनिक भएको छ । स्वास्थ्यकर्मी बसेको घरबाट उनीहरूलाई तत्काल निकाल्न दबाव दिने हुलको नेतृत्व टोलसुधार समितिका अध्यक्ष र सचिवले गरेका छन् । अग्रमोर्चामा खटिइरहेका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न सरकारले निरन्तर अपिल गरिरहेको अवस्थामा राजधानीको मुटुमै भएको यो परिदृश्यले हामी सबैलाई अवाक पारिदिएको छ ।
उनीहरूलाई समस्याग्रस्त, असुरक्षा, मानसिक र शारीरिक तनावबाट मुक्त राख्न हरसम्भव प्रयत्न गरिनुपर्छ ।
आफू र आफ्नो निहित स्वार्थबाहेक केही नदेख्ने र नसम्झने मनोवृत्तिले हामीलाई कहाँ पुर्याउँछ ? स्वाथ्यकर्मीमाथि गरिएको यो दुर्व्यवहार विवेकशून्य र घोर अमानवीयताको पराकाष्ट हो । यस्ता हर्कतको जति भर्त्सना गरे पनि कमै हुन्छ । संक्रमणबाट आफू जोगिने र अरुलाई जोगाउने सबैभन्दा सचेत तप्का नै स्वास्थ्यकर्मीहरू हुन् । त्यो सचेतता कायम राखेर सुनिश्चित घरमा आवास गरिरहेका स्वास्थ्यकर्मीलाई कोरोना सर्छ भन्दै लखेट्न खोज्नु, आवास व्यवस्थापन गर्नेलाई ‘खुट्टा भाँचिदिने’ जस्तो धम्की दिनु पशुवत व्यवहार हो भन्ने हामीलाई लागेको छ ।
स्वास्थ्यकर्मीमाथि यस्तो पशुवत दुर्व्यवहारमा ओर्लिने ती भीडका नाइके र अगुवा पछुवाहरूलाई अब डाक्टर र नर्सहरू कहिल्यै पनि नचाहिने हो ? ती महानुभावहरूले सञ्जीवनी बुटी प्राप्त गरेका छन् ? जसलाई अब कुनै रोगव्यादले छुनै सक्दैन ? त्यसो हैन भने त उनीहरू विरामी हुँदा कुन अनुहार लिएर अस्पताल जान्छन् ? अस्पतालमा त तिनै स्वास्थ्यकर्मी सेवामा खटिरहेका हुनेछन् ।
अहँ, सक्दै सक्दैनौँ ।
कोरोना संक्रमणलाई नियन्त्रण गरी कोरोनामुक्त देश बनाउनु छ भने सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका समस्यालाई समुचित सम्बोधन गर्नेतर्फ प्राथमिकता दिनु आवश्यक छ । उनीहरूलाई समस्याग्रस्त, असुरक्षा, मानसिक र शारीरिक तनावबाट मुक्त राख्न हरसम्भव प्रयत्न गरिनुपर्छ । अन्यत्रका सेवासुविधा कटौती गरेर भए पनि उनीहरूको सेवा सुविधा प्राथमिकतामा राखिनुपर्छ ।
सरकारले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न अपील गर्नेमात्र हैन, दुर्व्यवहार गर्ने जो कोहीलाई तत्काल पक्राउ गरी कानूनको कठघरामा उभ्याएर कडाभन्दा कडा कार्वाही गरिहाल्नु पर्दछ । यसो गरे मात्र स्वास्थ्यकर्मीहरूको मनोबल उच्च हुनेछ । स्वास्थ्यकर्मीहरूको तनावमुक्त उच्च मनोबल बिना हामी कोरोना विरुद्धको लडाईं किमार्थ पनि जित्न सक्दैनौँ । अहँ, सक्दै सक्दैनौँ ।
तपाईँको अभिमत