स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई ‘जेल विथ आउट बेल’
नेपालगञ्ज स्थित भेरी अस्पतालमा ‘कोरोना संक्रमितको मृत्युको विषयलाई लिएर आफन्तहरुले स्वास्थ्यकर्मीहरुलाई लखेट्दै कुटपिट गर्नखोज्दा ज्यान जोगाउन एक जना डाक्टर र ३ जना नर्स अस्पतालको २ तला माथिबाट हाम फालेका छन् । दाङका एक पुरुषको उपचारकै क्रममा मृत्यु भएपछि उनका आफन्तहरुले अस्पतालले मान्छे मार्यो भन्दै स्वास्थ्यकर्मीहरुलाई लखेट्दै हातपात गर्न खोजेपछि अस्पतालमा भागाभाग भएको छ ।
०७८ जेष्ठ १३ गते बिहिबार राती ९ः५१ मा हेल्थपाटी डटकमले सबैभन्दा पहिला यो समाचार ब्रेक गरेको थियो ।
स्वास्थ्यकर्मीहरुको भागाभाग भएर अहिले सबै अस्पताल बाहिर बसिरहेको मेसु डा.प्रकाश थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थिति डरलाग्दो छ, बिरामीको मृत्युको विषयलाई लिएर आफन्त र भिजिटरहरुले स्वास्थ्यकर्मीहरुलाई लखेटे, घाँटी थिच्न थाले, ज्यान जोगाउन एक डाक्टर र ३ जना नर्स अस्पतालको भवनको दोस्रो तलाबाट हाम फाले, उनीहरु पनि घाइते छन् । हामी सबै आत्तिएका छौँ ।’ उहाँले अस्पतालको हालको अवस्थाले उपचारत १७५ जना बिरामीको ज्यानसमेत जोखिममा रहेको बताउनुभयो ।’ ०७८ जेष्ठ १३ गते बिहिबार राती ९ः५१ मा हेल्थपाटी डटकमले सबैभन्दा पहिला यो समाचार ब्रेक गरेको थियो ।
शुक्रबार दिउँसो आएर गएराती भेरी अस्पतालमा डाक्टर नर्सलाई अन्धाधुन्द पिटेर लखेटेपछि उपचारमा समस्या उत्पन्न हुँदा अर्काे २ जना बिरामीको मृत्यु भएको जानकारी भेरी अस्पतालले दिएको छ । अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीबाट प्राप्त यो अत्यन्त विस्मयकारी जानकारी हो । यस अपराधपूर्ण घटनासँगै केही थप तथ्य र घटना विवरणहरु बाहिर आइरहेका छन् ।
अपर्याप्त स्रोत, साधन र जनशक्तिको अभावका बीच पनि भेरी अस्पताल कोभिड–१९ संक्रमणको सुरुआतदेखि नै डटेर संक्रमितको उपचारमा लागिरहेको छ । आफ्नो बिरामीको स्थितिबारेमा जानकार हुँदाहुँदै र असामयिक निधन हुनासाथ संक्रमित विरामीहरुको उपचार र सेवामा अहोरात्र जुटिरहेका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आइसियु कक्षमै जुन प्रकारको निर्घिणी हमला भयो यो निन्दनीयमात्रै होइन दण्डनीय घटना हो । उपचार प्रक्रिया चलिरहेकै अवस्थामा बाररम्बार चिकित्सकहरुलाई धम्क्याउनु, फोन गरेर गालीगलोजका पदावली प्रयोग गरेर अनावश्यक तनाव दिनु मानवीय सभ्यता विपरित अपराध मनोवृतिको द्योतक हो भन्न सकिन्छ । उनीहरुको हिंसापूर्ण हमलाबाट अस्पतालभित्रै चिकित्साकर्मीहरु ज्यान जोगाउन दुई तलामाथिको झ्यालबाट हामफालेर घाइते हुनु पर्ने अवस्थाको सिर्जना हुनु स्थानीय प्रशासनको हदैसम्मको गैरजिम्मेवारीपन हो । दोषीहरुमाथि कार्वाहीको माग गर्दै अस्पतालको ‘ड्युटी’ छाडेर स्वास्थ्यकर्मीहरु आन्दोलनमा ओर्लनु पर्ने परिस्थितिको सिर्जना हुनु आफैंमा लज्जाजनक छ ।
राजनीतिक पहुँचको दबावका कारण प्रहरीले उनलाई छाड्न सक्ने भन्दै स्वास्थ्यकर्मीले खबरदारी गरिरहेका छन् ।
भेरी अस्पतालको यो बिस्मयकारी घटनामा सरिक हुने अपराध कर्मका खलनायकहरुमाथि तत्काल कारबाहीको माग गर्दै नेपाल मेडिकल एसोसियसन, हेल्थ असिस्टेन्ट संघ, सरकारी चिकित्सक संघ नेपाल, नर्सिङ संघ लगायत स्वास्थ्यसँग आबद्ध २० भन्दाधेरै संघसंस्था तथा राजनीतिक दलका उच्च तहका नेताहरुले चर्को विरोध–विज्ञप्ति निकालेपछि मात्र स्थानीय प्रशासनले उनीहरु मध्येका ३ जनालाई ज्यान मार्ने कसुरमा मुद्धा चलाउने प्रतिवद्धता जनाएको छ । पक्राउ परेका ३ व्यक्ति मध्ये मानबहादुर रावत सत्तारुढ दलकै प्रदेश कमिटीका सदस्य रहेको समेत खुल्न आएको छ । अस्पतालभित्रै तोडफोड र हिंसात्मक हमला गर्दा पनि उनीे प्रदेशका मुख्यमन्त्री र देशको प्रधानमन्त्रीको नाम लिइरहेका थिए । त्यसकारण पनि राजनीतिक पहुँचको दबावका कारण प्रहरीले उनलाई छाड्न सक्ने भन्दै स्वास्थ्यकर्मीले खबरदारी गरिरहेका छन् ।
पक्राउ परेका रावतको अघिल्लो पृष्ठभूमि पनि सार्वजनिक भइसकैको छ । उनका विगत क्रियाकलापले पनि उनी राजनीतिक संस्कार विपरित अपराध मनोवृति बोकेका व्यक्ति थिए । अस्पतालमा उनका आफन्तको मृत्यु भएको सूचना पाएपछि त्यस्तै अपराध मनोवृत्तिका अरु मानिसहरु सहित उनी अस्पताल परिसर प्रवेश गरेका थिए । अस्पताल प्रशासनले उनको त्यो जमातलाई रोक्न सकेन । अस्पतालको आइसियु कक्षभित्रै पसेर चिकित्साकर्मीहरुमा हमला गर्दैगर्दा, पिपिइ लगाएका नर्शहरुमाथि लखेटी लखेटी वितण्डा मच्चाएको त्यो समूहलाई त्यति लामोसमयसम्म अराजक र मैमत्त भएर अस्पताल परिसरमा रहँदा पनि स्थानीय प्रशासन किन मुकदर्शक भएर बस्यो ? आक्रमणपछि चिकित्सक र स्वास्थ्यकर्मी भागाभाग भएपछि समयमै आवश्यक उपचार नपाएर भेरी अस्पतालमा दुई जना कोभिड संक्रमित बिरामीकै मृत्यु भएको छ । यसको चाहिँ जिम्मेवारी कसले लिने ? स्पष्ट छ राउत सत्तारुढ दलको आडमा यो गरिरहेका थिए । अस्पताल परिसर जस्तो संवेदनशील ठाउँमा प्रवेश गरी यस्तो जघन्य अपराधमा संलग्न जो कोही किन नहोस् उसले यस्तो दण्डनीय अपराधबाट कुनै हालतमा पनि उन्मुक्ति पाउनु हुन्न ।
भलै शुक्रबार साँझसम्म आइपुग्दा सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीले समेत भेरी अस्पतालको घटनाप्रति खेद व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने भन्दा स्वास्थ्यकर्मीहरुलाई लागेको थियो, अब प्रधानमन्त्रीले भेरीको घटनालाई गम्भीरताका साथ लिई जेल विथ आउट बेलको प्रावधान लागू गर्ने आशा राखेका थिए तर त्यसो भएन । हुन त उहाँहरुका निम्ति यो पहिलो घटना होइन, विगतमा पनि पटक पटक चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि जघन्य आक्रमणका घटना भएका छन् । घटनाका विरुद्ध चिकित्साकर्मीहरुले चलाएका आन्दोलनलाई मत्थर पार्न कडा कार्वाहीका आश्वासन दिए पनि केही समयपछि अपराधी उन्मुक्त भएका उदाहरण नागरिकका मानसपटमा ताजै छन् । दुःख व्यक्त मात्रै गर्ने कि अपराधीलाई पक्राउ गरि तत्काल पुर्पक्षमा काराबास पठाउने ?
घोषणा गरिएकै सेवा सुविधा समेत राज्यले प्रदान गरिरहेको छैन, यो अर्को विडम्बना उत्तिकै खेदजनक छ ।
यसो त वर्षाेंदेखि नै स्वास्थ्यकर्मीहरुले कार्यस्थल खटिएको बेलामा हुने कुनै पनि हमलामा ‘जेल विथ आउट बेल’ को माग गरिरहेका छन् । कार्यस्थलमा खटेका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई गैरजमानती हिरासतमा राख्ने व्यवस्था तुरुन्तै लागू गर्न सरकारलाई के बाधक बन्यो ? आजै अपराहन्न भेरी अस्पतालको घटनाका दोषीलाई कडा कार्वाही गर्न स्वास्थ्यमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिनु भएको त छ । उता चौतर्फी दबावपछि बाँके जिल्ला प्रशासनको सक्रियतामा छानविन समिति पनि बनेको छ । हामी भन्छौँ छानविनको नाममा समय गुजारेर सत्ताशक्तिको आड र राजनीतिक दबावमा अपराधी उम्काउने विगतको परम्परा अब तोडियोस् । सम्पूर्ण चिकित्साकर्मीहरु तपाइँहरु अस्पताल फर्किएर कर्तव्यपालनमा जुटे पनि अपराधीमाथि कार्वाहीका लागि निरन्तर खबरदारी गरिरहनुहोस् ।
कोभिड–१९ को कहरबाट हामी सबै आक्रान्त छौँ । यस्तो जटिल अवस्थामा पनि हाम्रा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु जसरी आफ्नो कर्मक्षेत्रमा अहोरात्र खटिरहेका छन्, त्यस अनुरुप घोषणा गरिएकै सेवा सुविधा समेत राज्यले प्रदान गरिरहेको छैन, यो अर्को विडम्बना उत्तिकै खेदजनक छ । स्वास्थ्यकर्मीको सुरक्षा र संरक्षणको सवालमा पनि हरेक अस्पताल प्रशासन र स्थानीय सरकार एवम राज्यले उच्च सतर्कता अपनाउनु आवश्यक छ । नत्र उनीहरु कुन मनोबल लिएर कोभिडविरुद्ध अग्रमोर्चामा जुटिरहन सक्छन् ?
तपाईँको अभिमत