कोरोनाकाे कारण स्वास्थ्यकर्मीको मृत्यु भएमा २५ लाख राहत दिइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोग(काेभिड-१९)को उपचारमा खटिएका स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण मृत्यु भएमा स्वास्थ्यकर्मीको परिवारलाई राहत स्वरुप २५ लाख राहत दिने प्रस्ताव मन्त्रिपरिषदमा लगेकाे छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि सो प्रस्ताव गरि मन्त्रिपरिषदमा पठाएको जानकारी दिनुभयो। स्वास्थ्यकर्मीलाई उच्च मनाेवलकासाथ उपचारमा खटिन प्राेत्साहन गर्ने उदेश्यले मन्त्रालयले राहतको व्यवस्था गरेकाे बताउनुभयो ।
कोरोना संक्रमित स्वास्थ्यकर्मीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने र यदि मृत्यु भइहालेकाे खण्डमा मृतकका परिवारलाई नगद २५ लाख राहत दिने प्रवक्ता गौतमले बताउनुभयो ।
'अहिले कोरोना संक्रमण बढिरहेको अवस्थामा स्वास्थ्यकर्मीको हौसलामा कमी आउन दिनुहुँदैन, मन्त्रालय सधै उहाँहरुको कामकाे सम्मान गर्छ, अहिले संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मी उच्च जोखिममा दिनरात खटिरहेकाे अवस्थामा राहतकाे प्रस्ताव गरेका हौं', प्रवक्ता गौतमले भन्नुभयो।
सरकारले स्वास्थ्यकर्मीकाे प्रोत्साहनका लागि जाेखिमभत्ता लगायतका सुबिधा दिइरहेकाे छ। मन्त्रिपरिषद्ले पारित गरेपछि यो व्यवस्था पनि लागू हुनेछ ।
नेपालमा हालसम्म कोरोनाका कारण एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । उहाँ एक निजी स्वास्थ्य संस्थामा हेल्थ असिसेन्टको रुपमा कार्यरत हुनुहुन्थ्यो । नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ जना पुगेको छ । जसमध्ये ४१ हजार ७०६ उपचारपछि निको भएका छन् भने ३७९ जनाको मृत्यु भइसकेको छ ।
तपाईँको अभिमत