क्षयरोग रोकथामका लागि व्यक्तिगत सचेतना र सरसफाई अपरिहार्य
नेपालमा क्षयरोग (टिबी) को प्रकोप चुनौतीपूर्ण रहेको र यसको रोकथामका लागि व्यक्तिगत सतर्कता, सरसफाई तथा पौष्टिक आहारको सेवन महत्वपूर्ण रहेको स्वास्थ्य विशेषज्ञहरूले बताएका छन्। विशेषगरी धुम्रपान र मध्यपानबाट टाढा रहनुका साथै भीडभाड हुने स्थानमा मास्कको प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ।
क्षयरोगबाट बच्ने मुख्य उपायहरूः
– धुम्रपान र मध्यपानका वस्तुहरूको सेवन नगर्ने।
– भीडभाड हुने ठाउँहरूमा जाँदा मास्कको प्रयोग गर्ने।
– खोकिरहेको व्यक्तिको नजिकबाट बच्ने।
– व्यक्तिगत सरसफाईमा ध्यान दिने र पौष्टिक आहारको सेवन गर्ने।
– धुलो र धुवाँबाट बच्ने, किनकि यसले फोक्सोको रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) कमजोर बनाउँछ र टिबीका किटाणुहरूलाई बढ्न मद्दत गर्दछ।
– क्षयरोगको शङ्का लागेमा वा रोग पत्ता लागेमा समयमै स्वास्थ्य संस्थामा गएर औषधि सुरु गर्ने। औषधि सुरु गरेपछि यो सर्ने सम्भावना कम हुँदै जान्छ र अरूलाई सर्दैन।
– परिवार, व्यक्ति र समाज सबै तहबाट सतर्कता अपनाउनुपर्छ र यसमा राज्यको मात्र भर पर्नु हुँदैन।
जोखिममा रहेका वर्ग र स्थानहरूः
अहिलेको तथ्याङ्क अनुसार, नेपालमा विशेषगरी वृद्धवृद्धाहरूमा यसको प्रकोप बढी देखिएको छ। एचआइभी सङ्क्रमित, मधुमेहका बिरामी र क्षयरोगका बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूमा पनि यसको जोखिम उच्च हुन्छ। सानो कोठामा धेरै मानिस बस्ने स्थानहरू जस्तै गार्मेन्ट उद्योग, गलैँचा कारखाना, गुम्बा, होस्टल र वृद्धाश्रमहरूमा पनि क्षयरोगको प्रकोप चुनौतीपूर्ण रहेको छ। नेपालमा, काठमाडौं उपत्यका जनसङ्ख्याको हिसाबले सबैभन्दा बढी प्रकोप भएको जिल्ला मानिन्छ।
क्षयरोगका लक्षण र निदानः
क्षयरोगका मुख्य लक्षणहरूमा खोकी लाग्ने, साँझपख पसिना आउने, हल्का ज्वरो आउने, खान मन नलाग्ने, तौल घट्दै जाने र कसैकसैमा खकारसँग रगत पनि आउने हुन्छ। सन् २०१९ को राष्ट्रव्यापी सर्वेक्षणले ७० प्रतिशतमा लक्षण नभएको अवस्थामा पनि क्षयरोग देखिएको थियो, जसलाई सबक्लिनिकल स्टेज भनिन्छ। छातीको एक्स–रे क्षयरोग पत्ता लगाउने एक उत्तम प्रविधि मानिन्छ, किनभने यसले सबक्लिनिकल चरणमा पनि रोग पत्ता लगाउन मद्दत गर्दछ।
सामाजिक धारणा र आर्थिक बोझः
क्षयरोगलाई अझै पनि धेरै ठाउँमा (सहरी र ग्रामीण दुवै क्षेत्रमा) नराम्रो दृष्टिकोणले हेर्ने चलन छ। यही कारणले गर्दा धेरै बिरामीहरू नजिकको स्वास्थ्य संस्थाबाट औषधि नखाई टाढा गएर खाने गर्छन्, ताकि उनीहरूलाई क्षयरोग लागेको कुरा गाउँलेलाई थाहा नहोस्। यद्यपि, औषधि सुरु गरेपछि यो सर्ने क्रम कम हुँदै जान्छ।
क्षयरोग लागेका व्यक्तिलाई आरामको आवश्यकता पर्ने भएकाले उनीहरूले आर्थिक आम्दानी गर्न सक्दैनन्, जसले गर्दा परिवारमा आर्थिक बोझ पर्न जान्छ। ढिलो अवस्थामा पत्ता लागेका बिरामीहरूलाई औषधि खाएपछि पनि दमको समस्या हुन सक्छ।
(क्षयरोग विशेषज्ञ डा. प्रमोदराज भट्टराईसँग गरिएको कुराकानीमा आधारित)
हेल्थपाटी
तपाईँको अभिमत