प्रोस्टेट समस्याबाट क्यान्सरसम्म : लक्षण र उपचार
प्रोस्टेट पुरुषहरूमा जन्मजात पाइने एक ग्रन्थी हो। यो पिसाबथैलीको तल्लो भागमा, घाँटी नजिक अवस्थित हुन्छ। समयसँगै यो विस्तारै बढ्दै जान्छ, विशेषगरी ४०-४५ वर्षको उमेरपछि यसको आकार बढ्न थाल्छ र यसले विभिन्न लक्षणहरू देखाउन सक्छ। प्रोस्टेटको धेरै कामहरू हुन्छन्। युवावस्थामा यसले शुक्रकीटको स्वास्थ्यका लागि आवश्यक स्रावहरू उत्पादन गर्दछ।
प्रोस्टेट स्वास्थ्यका लागि किन महत्त्वपूर्ण छ ?
यसले पिसाब प्रणालीमा प्रत्यक्ष असर पार्छ। जब प्रोस्टेट बढ्छ, यसले पिसाबको नलीलाई साँघुरो पार्छ, जसले पिसाब फेर्न गाह्रो बनाउँछ र पिसाब राम्रोसँग बाहिर आउन पाउँदैन। पिसाबको नलीमा अवरोध भएमा पिसाबथैलीमाथि दबाब पर्छ र समयसँगै पिसाबथैलीले काम गर्न छोड्न सक्छ, जसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ।
प्रोस्टेटको स्वास्थ्यले पुरुषको प्रजनन क्षमता र शुक्रकीटको गुणस्तरमा पनि भूमिका खेल्छ। यस सम्बन्धी समस्याहरू (जस्तै प्रोस्टेटको सुन्निने वा क्यान्सर) ले दैनिक जीवन, निद्रा र काममा ध्यान केन्द्रित गर्ने क्षमतामा ठूलो असर पार्न सक्छ।
प्रोस्टेट क्यान्सरको रोकथाम र लक्षणहरू
प्रोस्टेट क्यान्सरको ठ्याक्कै यही कारणले हुन्छ भन्ने कुनै निश्चित कारक छैन। यसमा धेरै कुराले भूमिका खेल्छ। वंशानुगत कारकहरू महत्त्वपूर्ण हुन्छन्। यदि बुवा वा हजुरबुवालाई प्रोस्टेट क्यान्सर भएको छ भने, यो हुने सम्भावना बढी हुन्छ। आमापट्टि कसैलाई स्तन क्यान्सर (Breast Cancer) भएको छ भने पनि ब्रिका म्युटेसन (BRCA mutation) का कारण यसको सम्बन्ध प्रोस्टेट क्यान्सरसँग हुन सक्छ।
प्रोस्टेट क्यान्सरका लक्षणहरू प्रायः प्रोस्टेट वृद्धिका लक्षणहरूसँग लगभग समान हुन्छन्। यी लक्षणहरू निम्न हुन्:
- छिनछिनमा पिसाब लाग्ने
- पिसाबको धारा कमजोर हुने
- राति धेरै पटक पिसाब फेर्न उठ्नुपर्ने
- पिसाब गर्दा बल गर्नुपर्ने
- कहिलेकाहीँ पिसाबमा रगत आउने
यी लक्षणहरू देखिएमा, यो प्रोस्टेट वृद्धि भएको हो वा क्यान्सर हो भनेर पत्ता लगाउनुपर्छ, किनकि दुवैको उपचार फरक हुन्छ। एसियालीहरूमा ४५ वर्षपछि क्यान्सरको लागि स्क्रिनिङ गर्नुपर्ने सुझाव दिइएको छ, जबकि अफ्रिकी मूलका मानिसहरूका लागि अलि चाँडै गर्न सकिन्छ। रोकथाम भन्दा पनि समयमै लक्षणहरू पहिचान गरी उचित उपचार गराउनु यसमा महत्त्वपूर्ण छ।
नेपालमा प्रोस्टेटसम्बन्धी स्वास्थ्य अवस्था
नेपालमा प्रोस्टेटसम्बन्धी समस्याहरूका लागि स्वास्थ्य सेवा पहिलेभन्दा धेरै उन्नत भएको छ। सानो शल्यक्रियाका लागि पनि पहिले विदेश जानुपर्ने अवस्था थियो, तर अहिले धेरैजसो शल्यक्रिया र उपचार नेपालमै उपलब्ध छन्। रोबोटिक सर्जरी समेत नेपालमा सम्भव भएको छ। यद्यपि, केही चुनौतीहरू अझै पनि छन्:
- धेरै बिरामीहरूले प्रोस्टेटका लक्षणहरूलाई उमेरको कारण मान्छन् वा क्रमिक रूपमा समस्या बढ्ने भएकाले सुरुमा ध्यान दिँदैनन्।
- धेरै मानिसहरू लाज मानेर वा जानकारीको अभावमा प्रजनन अंगसम्बन्धी समस्याहरू लुकाउँछन्, जसले गर्दा उपचार ढिलो हुन्छ।
- बिरामीहरूले लक्षणहरू कम हुने बित्तिकै औषधि सेवन अधुरो छोड्ने प्रवृत्ति पनि देखिन्छ।
- डिजिटल युगमा, मानिसहरूले इन्टरनेट (गुगल) मा स्वास्थ्य जानकारी खोज्छन्, तर त्यहाँ आवश्यक र अनावश्यक जानकारी दुवै हुन्छन्, जसले गर्दा गलत बुझाइ र आत्म-उपचारको जोखिम बढ्छ।
- डाक्टरको सल्लाहबिना ओभर-द-काउन्टर औषधि किन्ने प्रवृत्ति पनि छ, जसले गर्दा सही औषधिको छनोट नहुने र साइड इफेक्टको जोखिम हुन्छ।
* नेपालमा अहिले पनि विशेषज्ञ डाक्टरहरूसँग प्रत्यक्ष परामर्श लिन सकिने सुविधा छ, जुन धेरै पश्चिमी देशहरूमा भन्दा फरक हो जहाँ जीपी (General Practitioner) मार्फत जानुपर्छ।
केही सुझावहरू
लक्षणहरूलाई बेवास्ता नगर्नुहोस्: पिसाबसम्बन्धी कुनै पनि समस्या, चाहे त्यो क्रमिक रूपमा बढ्दै गएको किन नहोस्, त्यसलाई उमेरको कारण मात्र नमान्नुहोस् र समयमै विशेषज्ञको सल्लाह लिनुहोस्।
विशेषज्ञसँग परामर्श गर्नुहोस्: स्वास्थ्य समस्याहरूका लागि साथी, गुगल वा फार्मेसीको सल्लाहमा मात्र भर नपर्नुहोस्। युरोलोजी वा एन्डोलोजीसम्बन्धी समस्याहरूका लागि सीधै विशेषज्ञ युरोलोजिस्ट वा एन्ड्रोलोजिस्टसँग भेट्नुहोस्।
लाज वा संकोच नमान्नुहोस्: प्रजनन अंगसम्बन्धी स्वास्थ्य समस्याहरूलाई लुकाउनुहुँदैन। आमाबुवाले पनि आफ्ना सन्तानको शारीरिक विकासमा ध्यान दिनुपर्छ र आवश्यक परेमा चिकित्सकको सल्लाह लिनुपर्छ।
उपचार पूरा गर्नुहोस्: चिकित्सकले दिएको औषधि र सल्लाहलाई पूर्ण रूपमा पालना गर्नुहोस्। लक्षणहरू कम हुँदैमा औषधि छोड्नु हुँदैन। नियमित फलो-अप (सुरुमा २ हप्तादेखि १ महिना, पछि ३-६ महिनामा) जरुरी हुन्छ।
हार्मोन परीक्षण: अनावश्यक हार्मोन परीक्षण (जस्तै टेस्टोस्टेरोन) नगर्नुहोस्। यो तब मात्र आवश्यक हुन्छ जब पुरुषको शारीरिक विकासमा कमी (जस्तै जुँगा-दाह्री नपलाउने, शारीरिक वृद्धि राम्रो नहुने) वा ६० वर्षभन्दा माथिको उमेरमा इस्ट्रोजेनको अधिकता वा रक्सीको कारण कलेजोको समस्या भएकाहरूमा मात्र यो आवश्यक पर्दछ।
अकाल्पनिक स्खलन (Premature Ejaculation): यो समस्या युवावस्थामा बढी देखिने (३० वर्षमुनिका ६०% मा) र सम्बन्धमा असर पार्ने हुन सक्छ। यसका कारणहरूमा लज्जा, तनाव, छालाको संवेदनशीलता आदि हुन सक्छन्। यसको उपचारबाट ९०% भन्दा बढीलाई राम्रो अवस्थामा पुर्याउन सकिन्छ।
सन्तान प्राप्तिका लागि धैर्य र वातावरण: सन्तान प्राप्तिका लागि शारीरिक कारकहरूका साथै दम्पतीबीचको राम्रो सम्बन्ध, मानसिक तथा सामाजिक वातावरण र धैर्यता आवश्यक हुन्छ। यो एकैपटक हुने प्रक्रिया होइन।
बालबालिकाहरूको शारीरिक समस्या: यदि पिसाबको टुप्पाको छाला साँघुरो (फाइमोसिस) छ वा अण्डकोष तल झरेको छैन भने, बाल्यकालमै विशेषज्ञलाई देखाउनु पर्छ।
(गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रमा कार्यकरत कन्सल्ट्यान्ट युरोलोजिस्ट डा. चन्द्रशेखर यादवसँग मित्र बरालले गर्नुभएको कुराकानीमा आधारित)
हेल्थपाटी
तपाईँको अभिमत