चितवन मेडिकल कलेजले गर्यो काठमाडौं बाहिर पहिलो कलेजो प्रत्यारोपण

काठमाडौं । काठमाडौं उपत्यका बाहिर पहिलोपटक कलेजो प्रत्यारोपण भएको छ । चितवन मेडिकल कलेजमा चैत ८ गते ५४ वर्षकी धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको हो । भरतपुर महानगरपालिका वडा नं. १० स्थायी घर भई हाल काठमाडाैं बस्दै आउनु भएकी धनकुमारीलाई उहाँकी ३४ वर्षकी छोरी उषा तामाङले कलेजो दिनुभएको हो ।
आमालाई कलेजो दिनुभएकी उषा
मेडिकल कलेजका विशेषज्ञ डा. सञ्जय यादव, डा. एकानन्द सिंह, डा. प्रविन जोशी, डा. जयन्त कुमार साह, डा. अभिषेक भट्टराईको टोलीले १२ घण्टा लगाएर शल्याक्रिया गर्नुभएको थियो । साथै प्रत्यारोपणमा एनेस्थेसियोलोजिष्ट डा. किरण अधिकारी, डा. सुरेश गौतम डा. नविन यादव, हेपाटोलोजिष्ट डा. सागर पौडेल, डा. बरुण श्रेष्ठ, रेडियोलोजिष्ट डा. विज्ञान पौडेल, स्टाफ नर्स अन्जु थापा, श्रृती यादव, सलिना तिवारी, सूमि कार्की अस्मिता थापा, पष्पा थापा मगर बायोमेडिकल इन्जिनियर प्रकास खतिवडा सहभागी हुनुहुन्थ्यो ।
शल्यक्रियामा नयाँ दिल्ली स्थिति एपोलो अस्पतालका डा. निरभ गोयलले प्राविधिक सहयोग गर्नुभएको थियो । कलेजो काम नलाग्ने भएपछि धनकुमारीको कलेजोलाई पुर्नजीवन दिन छोरी उषाले कलेजोको केही मात्रा निकालेर प्रत्यारोपण गरिएको शल्यक्रियामा सहभागी डा.सिंहले जानकारी दिनुभयो ।
लामाको स्वास्थ्य जाँच गराउदा कलेजो काम नलाग्ने गरी बिग्रिएकोले प्रत्यारोपणको विकल्प थिएन । बिग्रिएको कलेजोलाई पुर्नजीवन दिन निज विरामीको छोरी उषा तामाङ्गको शरिरमा असर नपर्ने गरी आवश्यक कलेजोको मात्रा निकालेर प्रत्यारोपण गरिएको हो । हाल कलेजो ग्रहण गर्ने आमा र कलेजो दान गर्ने छोरी दुबैको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।
नेपालमा हरेक वर्ष एक हजार जनाको कलेजो फेल हुने अनुमान छ । सामान्यतया कलेजो दूषित पानी र खानाबाट नै बिग्रन्छ ।
नेपालबाट बर्षेनी ६० जना बिरामी कलेजो प्रत्यारोपणका लागि विदेश जाने गरेको सिंहले बताउनुभयो । काठमाडौं उपत्यका बाहिर पनि कलेजो प्रत्यारोपण सुरु भएपछि प्रत्यारोपणका लागि विदेशमा जानपर्ने बाध्यता कम हुने अनुमान गरिएको छ । नेपालमा नै प्रत्यारोपणको दरलाई बढाउने सहज अवस्था भए विदेशको भर पर्नपर्ने बाध्यताको अन्त्य छिट्टै हुने विश्वास डा.सिंहको छ ।
नेपालमा हरेक वर्ष एक हजार जनाको कलेजो फेल हुने अनुमान छ । सामान्यतया कलेजो दूषित पानी र खानाबाट नै बिग्रन्छ । साथै हेपाटाइटिस बी र सी जो रगतको माध्यमबाट पनि सर्दछ जसलाई साइलेन्ट किलर पनि भनिन्छ ।
चिकित्सा विज्ञानमा जटिलतम सेवा मानिने कलेजो प्रत्यारोपणका लागि नेपालमा चारवटा स्वास्थ्यसंस्थाले अनुमति पाएका छन् ।
तथ्यांक अनुसार नेपालमा झण्डै ६० प्रतिशत कलेजो रक्सी तथा हेपाटाइटिस “बी“ र “सी“ का कारण बिग्रने गर्दछ । मधुमेहका कारण कलेजोमा बोसो जमेर पनि कलेजो बिग्रने चिकित्सकहरु बताउनुहुन्छ ।
शरिरमा ५० देखि ६० प्रतिशत कलेजो बिग्रिसकेपछि मात्र यसको लक्षण देखिने र त्यतिबेला कलेजोलाई जोगाउन निकै मुस्किल हुने भएकाले कम्तिमा बर्षमा एक पटक कलेजको अवस्था के छ भनेर जाँच गराउन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपानेको सुझाव छ । उहाँले दैनिक १५ सय बढी बिरामी आउने सो कलेजमा उपचारका लागि आउने र प्रत्येक दिन ३० भन्दा बढि शल्यक्रिया हुने जानकारी दिनुभयो ।
चिकित्सा विज्ञानमा जटिलतम सेवामध्ये मानिने कलेजो प्रत्यारोपणका लागि नेपालमा चारवटा स्वास्थ्य संस्थाले अनुमति पाएका छन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिले सरकारी स्तरमा भक्तपुरस्थित शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताललाई कलेजो प्रत्यारोपण अनुमति दिएको छ भने नीजिस्तरमा चितवनको चितवन मेडिकल कलेज भरतपुर र कलेज अफ मेडिकल साइन्सेस नेपाल लाई कलेजो पत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति पाएको छ ।
तपाईँको अभिमत