“सम्पूर्ण निजी अस्पताललाई सरकारले आफ्नो हातमा लिनुपर्छ”
केही दिनयता नेपालभर कोरोना भाइरस संक्रमणको दर बढिरहेको छ । संक्रमण बढ्दै जाँदा उपत्यकाका अस्पतालहरू भरिइसके । स्रोत र साधन हुँदाहुँदै पनि सही तरिकाले व्यवस्थापन हुनसक्दा समस्या उत्पन्न भएको विज्ञहरू बताउँछन् । अझै पनि सक्रिय संक्रमित कम रहेकाले व्यवस्थापनलाई सुधारे अवस्था नियन्त्रणमा आउनसक्ने समय रहेको विज्ञहरूको भनाइ छ । नेपालमा कोेरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि गरिएकाे व्यवस्थाको अवस्था, स्वास्थ्यकर्मीको व्यवस्थापन तथा सरकारले तत्काल अवलम्बन गर्नुपर्ने उपायहरूका विषयमा हेल्थपाटीका लागि जगन्नाथ ढकालले जनस्वास्थ्य विज्ञ प्रा.डा.शरद वन्तसँग कुरा गर्नुभएको छ ।
नेपालमा कोरोना संक्रमितहरूको व्यवस्थापनलाई कसरी नियालिरहनु भएको छ ?
काठमाडौं उपत्यका तथा घनाबस्ती भएका स्थानहरूमा संक्रमित बढे पनि सम्हाल्न नसक्ने स्थिति अझै आइसकेको छैन । अहिलेको अवस्थालाई नियन्त्रण बाहिर जान नदिन तत्कालै हामीले काम गर्न सक्छौँ, त्यसका लागि संक्रमणको दर तथा संख्याको प्रक्षेपण गरि उचित रणनीतिका साथ अघि बढ्नुपर्छ ।
म यो किन भनिरहेको छु भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ पहिलोसाता सम्म ३९ हजार सक्रिय संक्रमित हुन्छ भनेर प्रक्षेपण गरि सोही अनुसार अघि बढेको करिव २ महिना भयो तर हाल सक्रिय संक्रमितको संख्या ९ हजार हुँदैमा किन हाहाकार मच्चिँदैछ ? ३९ हजार संक्रमितका लागि तयारी गरिएको भए अहिले किन अस्पतालका बेडहरू भरिन्थे, बेड अभाव भयो भनेर किन भन्नु पर्थ्याे ? यस्तो अवस्था आउनु भनेको समयमा सहि व्यवस्थापन हुन नसक्नुको परिणाम हो । काठमाडौंमा खै त पर्याप्त कोभिड डेडिकेटेड अस्पताल र आइसोलेसन भवनहरू ?
कस्तो व्यवस्थापन हुन पर्थ्याे र अझै पनि व्यवस्थापन गर्न सकिने अवस्था छ कि छैन ?
अझै पनि हामीसँग समय छ । थोरै समयमा धेरै काम गर्न सकिन्छ । सबै सक्रिय संक्रमितका लागि अस्पतालको आवश्यकता पर्दैन । सबैलाई सुविधा सम्पन्न र प्रविधियुक्त अस्पताल चाहिँदैन । लक्षण नदेखेएिका संक्रमितलाई स्वास्थ्यकर्मीको निगरानीमा सुरक्षित आइसोलेसनमा राखेमात्रै पनि पुग्छ । आइसोलेसन सुधारिएको क्वारेन्टिन भएमात्रै पनि पुग्छ ।
सबै संक्रमितलाई आइसीयू र भेन्टिलेटरको खाँचो पर्दैन । अहिले आइसीयू र भेन्टिलेटरमा १०० जनाजति संक्रमितको उपचार भइरहेको जानकारी मन्त्रालयले गराएको छ । अब सोच्नुस् त बाँकी त आइसोलेसनमा छन् नि । यदि सुरक्षित आइसोलेसनको व्यवस्था गर्नसके स्थिति सामान्य बनाउन सकिन्छ नि ।
आइसोलेसन व्यवस्थापनका लागि भनेर मन्त्रालयले मेडिकल कलेजहरूलाई एक तिहाई बेड संख्या छुट्याउन भनिसकेको छ नि ?
जनस्वास्थ्यको दृष्टिकोणले यो ठिक निर्णय होइन । किन कि संक्रमितहरूहरूलाई कहिल्यै पनि छरेर राख्नुहुँदैन । यसरी राख्दा संक्रमण फैलने संभावना, व्यवस्थापनमा कठिनाई र आर्थिक भार पनि धेरै पर्न जान्छ । संक्रमितका लागि छुट्टै अस्पताल र आइसोलेसन भवन चाहिन्छ । अस्पतालहरूमा बेड छुट्याउने निर्णय पनि सही छैन । अस्पतालहरूमा बेड संख्या छुट्याउनु भन्दा ती अस्पतालहरूलाई सरकार आफैले लिएर व्यवस्थापन गर्न जरुरी छ । केही समयका लागि देशभरका अस्पतालको व्यवस्थापन सरकार आफैले गरेर त्यहाँ भएका स्रोत, साधन, कर्मचारी, स्वास्थ्यकर्मीको उपयोग गर्नुपर्छ ।
अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीको खर्च सरकारले व्यहोर्नुपर्छ । सबै अस्पताललाई आफ्नो नियन्त्रणमा लिई कोभिड र नन–कोभिडका लागि भनेर वर्गीकरण गरी उपचार गर्ने व्यवस्था मिलाउनु पर्छ ।
निजी अस्पताललाई पनि कोरोना उपचारको लागि अनुमति त दिइएको छ नि ?
अनुमति होइन सम्पूर्ण निजी अस्पताललाई सरकारले आफ्नो हातमा लिनुपर्छ र व्यवस्थापन सरकार आफैले गर्नुपर्छ । निजी अस्पतालका लागि दैनिक बिरामी हेरेको आधारमा मन्त्रालयले शुल्क तोकेको छ । यो अपरिपक्व निर्णय हो । निजीलाई अनुमति दिइएपछि कोरोना उपचारमा मनोमानी भइरहेको छ । लक्षण नभएका पनि अस्पताल पुगेका छन् तर गम्भीर किसिमका संक्रमितलाई बेड नपाउने स्थिति छ ।
त्यसो भए तत्काल समस्या समाधानका लागि सरकारले गर्न सक्ने कामहरू के–के छन् ?
एकदमै सहज तरिकाबाट व्यवस्थापन गर्न सकिन्छ । सर्वप्रथम संक्रमितहरूको प्रक्षेपण गरौँ । सम्पूर्ण कोभिड बिरामीका लागि कति बेड चाहिन्छ अनुमान गरौँ । डेडिकेटेड अस्पतालको परिकल्पना गरिनुपर्छ । सो मध्ये लक्षण भएका बिरामी र गम्भीर बिरामीलाई आवश्यक पर्ने बेड संख्याबारे खाका बनाऊँ । निजी अस्पताललाई निश्चित कोटा दिएर होइन त्यहाँका सम्पूर्ण स्रोत साधनलाई परिचालन गरौँ ।
लक्षण भएका संक्रमितलाई मात्रै अस्पतालमा राख्ने व्यवस्था मिलाऊँ । लक्षण नभएकालाई व्यवस्थित र सुरक्षित आइसोलेसन भवनको व्यवस्था गर्न सकिन्छ । त्यसका लागि नयाँ भवन निर्माण गर्नु पर्दैन । हामीसँग भएकै संरचनाहरूलाई प्रयोग गर्न सकिन्छ । जस्तैः आइसोलेसन भवनका लागि दशरथ रंगशाला, स्टाफ कलेज, आर्मी तथा प्रहरीका तालीम केन्द्र एबं व्यारेकलाई उपयोगमा लिएर बहुसंख्यक संक्रमितलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न सक्छौँ र यो तत्काल गर्न सकिने काम हो ।
अर्काे कुरा, हामीसँग संरचनाहरू छन् तर प्रणालिहरू टुक्रिएका छन् । यो भनेको महामारीका बेलामा त केन्द्रीकृत निर्णय हुन जरुरी छ तर हाम्रो देशमा पालिका र वडा–वडाले आ–आफ्नै निर्णय गरिरहेका छन् । यसरी महामारी नियन्त्रण हुन सक्दैन । व्यवस्थापनमा झन्–झन् जटिलता थपिदँ जान्छ र अवस्था भयावह हुन्छ । यो नेपालको मात्र एकल समस्या होइन । विश्वले भोगेको साझा समस्या हो । समस्या जहीँतहीँ छन्, ती समस्यालाई पहिल्याएर समाधानतर्फ लम्कनु चाहिँ महत्वपूर्ण हुन्छ ।
होम आइसोलेसनको अभ्यास पनि भइरहेको छ नि ?
नेपालको सन्दर्भमा यो व्यवस्था सबैलाई उपयुक्त छैन । सबैको घरमा आइसोलसनको मापदण्ड पूरा गर्ने अवस्था नहुन सक्छ तर होम आइसोलेसन बस्न चाहन्छन् र सरकारले बस्न पनि दिइरहेको छ, यस्तो अवस्थामा उनीहरूबाटै परिवार तथा समाजमा कोरोना फैलिन सम्भावना अत्याधिक हुन्छ । यसको अलवा घर–घरमा बस्ने तर स्वास्थ्यकर्मीको कमजोर निगरानी हुने हो भने तुरुन्तै बिरामीलाई अक्सिजनको आवश्यकता पर्न पनि सक्छ अनि त्यो बेला के गर्ने ? त्यसैले संस्थागत आइसोलेसनलाई जोड दिनुपर्छ, अस्पतालहरूलाई सधैँ तयारी अवस्थामा राख्नुपर्छ ।
दिनानुदिन स्वास्थ्यकर्मीहरू संक्रमित भइरहेका छन्, यस्तो अवस्थामा स्वास्थ्यकर्मीको व्यवस्थापन कसरी गर्न सकिन्छ ?
यसमा चाहिँ यस्तो हो । स्वास्थ्यकर्मीहरू संक्रमित नभए पनि अहिलेको भारलाई सम्बोधन गर्नु निकै कठिन विषय हो । संक्रमित नभएका स्वास्थ्यकर्मीले पनि दिनरात खटेर काम गर्न सक्दैनन् । डायपर लगाएर पनि काम गर्नुपर्ने अवस्था आएको छ । यो बेला सबैले दुख गर्नुपर्छ र भारलाई काम गर्न लाग्नुपर्छ । स्वास्थ्यकर्मीको समस्या पनि नेपालमा मात्रै होइन, विश्वभर छ ।
नेपालको सन्दर्भमा स्वम्सेवकलाई परिचालन गर्न सकिन्छ । यस्तो बेलामा सबै तालिम प्राप्तलाई मात्रै खटाउन सकिँदैन । अहिले पनि हजारौ अनमीहरू बेरोजगार छन् उनीहरूलाई खटाउन सकिन्छ । तालिमप्राप्त स्वमस्थयकर्मीको अभाव भएका स्थानमा स्वयमसेवकहरूले सहयोग गर्न सक्छन् । विशेषज्ञले गर्ने काम पारामेडिक्सले गर्न पर्ने अवस्था पनि आउन सक्छ ।
यसैगरी रिटायर्ड डाक्टरहरूलाई पनि परिचालन गर्न सकिन्छ । त्यस्ता व्यक्तिहरूको खोजी राज्यले गर्नुपर्छ । यही बेला त हो नि उनीहरूको परिचालन गर्ने । हाल नेपालमा सञ्चालित मेडिकल कलेजहरूका विद्यार्थीहरू छन् । २० वटा मेडिकल कलेज होलान् प्रत्येक वर्ष करिव २ हजार विद्यार्थी उत्पादन गर्छन् । अहिले उनीहरूको पढाई पनि छैन । त्यो ठूलो जनशक्तिलाई उपयोग गर्नुपर्छ ।
यसैगरी २ सय वटा जति नर्सिङ कलेज छन्, त्यहाँका विद्यार्थीहरूलाई परिचालन गर्न सकिन्छ । जनस्वास्थ्यका विद्यार्थीहरूलाई पनि खटाउन सकिन्छ । चौथो, पाचाैँ वर्षमा अध्ययनरत मेडिकल विद्यार्थीले सोझै बिरामीलाई जाँच्न नसके पनि विशेषज्ञ डाक्टरलाई सहयोग त गर्न सक्छ नि ।
दोस्रो विश्वयुद्दमा सोभियत संघमा स्वास्थ्यकर्मीको अभाव हुँदा चौथो, पाँचौ र छैंठौ वर्षमा डाक्टर पढिरहेका विद्यार्थीलाई उपचार गर्न पठाइयो, उनीहरूले आफसूले जानेको सीप र ज्ञानका आधारमा बिरामीको उपचार गरे । उनीहरूले अस्पतलामा भन्दा धेरै काम सिके पनि । यो सिक्ने अवसर पनि हो, विद्यार्थीहरूलाई सहि सदुपयोग गर्नुपर्छ ।
पीसीआरको दायरा नबढेकै हो ?
सर्बप्रथम, क–कसको पीसीआर गर्ने भन्ने कुरा प्रष्ट हुन जरुरी छ । क्वारेन्टिनमा रहेका व्यक्तिहरूमा पीसीआर परीक्षणको दायरा बढाउनुपर्छ । क्वोन्टिनमा रहेका व्यक्तिहरू भनेका दुई थरिका हुन्छन् । एक–ट्राभल हिस्ट्री भएका र अर्काे कन्ट्याक्ट ट्रेसिङमा परेका । त्यहाँ संक्रमित र आंशकित दुवै हुनसक्छन् त्यसैले परीक्षणको दायरा बढाई संक्रमितको पहिचान गरी आइसोलेसनमा राख्नुपर्छ ।
निश्चित अवधिसम्म क्वारेन्टिनमा राखेर नेगेटिभ आएका व्यक्तिलाई घर पठाउनुपर्छ । यसो गर्दा संक्रमितको पहिचान तुरन्तै हुन्छ र संक्रमण अन्यत्र फैलन पाउँदैन । पीसीआरको दायरा बढ्नुपर्छ भन्दैमा फेरि घरघरमा गएर जो सुकैको पनि परीक्षण गर्न आवश्यक छैन । पहिलो प्राथमिकता क्वारेन्टिनको व्यक्तिलाई दिइनुपर्छ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत