डाइटिङ : क्यालोरी कम गर्ने डाइटले डिप्रेशनको जोखिम

कडा खालको डाइटिङले मानसिक स्वास्थ्यमा असर पर्ने देखिएको छ । गत मंगलबार (जुन ३) प्रकाशित एक अध्ययनले डाइटिङका नाममा शरीरमा क्यालोरी घटाउँदा डिप्रेशनको जोखिम बढाउने देखाएको छ ।
मेडिकल साइन्सका बारेमा भएका अध्ययन, अनुसन्धानबारे सामग्री प्रकाशित हुने बीएमजे न्यूट्रिशन, प्रिभेन्सन एण्ड हेल्थ जर्नलमा प्रकाशित अध्ययनका अनुसार क्यालोरी कम गर्ने डाइटले डिप्रेशनको जोखिम अत्याधिक रहेको छ ।
विशेषगरी पुरुषहरू र तौलअनुसार अधीक बीएमआई भएका व्यक्तिहरूमा डिप्रेशनको लक्षणहरू बढी देखिने सम्भावना रहेको पाइएको छ ।
बीएमआई भन्नाले शरीरको तौल र उचाइको अनुपातद्वारा मापन गरिने एक संख्यात्मक सूचक हो, जसबाट कुनै व्यक्ति अण्डरवेट (कम तौल), नर्मल, ओभरवेट (अधिक तौल) वा मोटोपनको स्थितिमा छन् कि भनेर थाहा पाउन सकिन्छ ।
अध्ययनले अमेरिकामा राष्ट्रिय स्वास्थ्य तथा पोषण मूल्याङ्कन सर्वेक्षणमा सहभागी भएका २८ हजार भन्दा बढी वयस्कहरूको तथ्याङ्कलाई विश्लेषण गरिएको थियो । ५०.६१ प्रतिशत महिला र ४९.३९ प्रतिशत महिला सहभागी थिए । जसमा ८ प्रतिशत वयस्कलाई डिप्रशेनको लक्षण देखिएको थियो । उनीहरूले तौल घटाउन कम क्यालोरी भएका आहार खाने गरेका थिए ।
सर्वेक्षणमा सहभागीहरूलाई उनीहरूको आहारको गुणस्तर र डिप्रेशनका लक्षणहरूबारे प्रश्न गरिएको थियो । यस अध्ययनले आहारको गुणस्तर पनि महत्त्वपूर्ण रहन्छ भन्ने कुरा देखाएको छ । अत्यधिक प्रशोधित खाना, रिफाइन्ड कार्बोहाइड्रेट, प्रोसेस्ड मासु र मिठाइहरू बढी खाने व्यक्तिहरूमा डिप्रेशनको स्तर उच्च हुने सम्भावना बढी पाइयो ।
मेडिटेरेनियन शैलीको आहार (फलफूल, सागसब्जी, माछा, ओलिभ तेल आदि) खाने व्यक्तिहरूमा डिप्रेशनको जोखिम तुलनात्मक रूपमा कम देखिएको थियो।
अध्ययनले अत्यधिक कडा वा असन्तुलित डाइटप्रति सतर्कता अपनाउनुपर्ने सुझाव दिएको छ । सेन्ट माइकल्स अस्पताल र टोरोन्टो विश्वविद्यालयअन्तर्गतको इन्टरभेन्सनल साइक्याट्री कार्यक्रमका निर्देशक तथा क्लिनिसियन–अनुसन्धाता एवम् अध्ययनका प्रमुख लेखक तथा मनोचिकित्सक डा. वेंकट भाटले विशेषगरी तौल घटाउन क्यालोरी कम खाइरहेका व्यक्तिहरू सचेत हुनुपर्ने बताउनुभएको छ ।
सन्तुलित र दीर्घकालीन रूपमा अपनाउन सकिने आहारहरू रोज्नुपर्ने सुझाव उहाँको छ ।
तपाईँको अभिमत