'नेपाली औषधिको गुणस्तरमा प्रश्न गर्ने ठाउँ नै छैन'
नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यही फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो-२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ भन्ने जानकारीका साथै नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् ।
एक्स्पोका सम्बन्धका एपोनकी क्वालिटी सर्कल संयोजक प्रशंसा श्रेष्ठसँग गरिएको कुराकानी तल प्रस्तुत छ।
नेपालका औषधि उत्पादक कम्पनीले उत्पादन गरेका औषधिको गुणस्तर कस्तो छ ?
नेपालका औषधिका गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डको रहेको छ । विश्व स्वास्थ्य संगठनको जिएमपीको मापदण्डमा नै औषधि उद्योग रहेका छन् । गुणस्तरमा हामीले केही पनि कमी गरेको जस्तो लाग्दैन । अहिले औषधि व्यवस्था विभागले अनुमतिपत्र दिँदा नै गुणस्तरलाई कडाइ गरेको हुन्छ । जसले गर्दा नेपाली औषधिको गुणस्तरमा प्रश्न गर्ने ठाउँ नै छैन ।
पहिले उद्योगहरूले गुणस्तरमा धेरै लगानी गर्दैनथे । अहिले नयाँ–नयाँ फर्मास्युटिकल कम्पनीले गुणस्तरमा ध्यान दिएको पाइन्छ । तिनीहरुले गुणस्तरमा पनि लगानी गरिरहेका छन् । विश्वमा कोभिड–१९ मा धेरै मानिसहरू मरे । तर नेपालमा केही भएन । त्यसबाट पनि गुणस्तर नाप्न सकिन्छ ।
विश्वको तुलनामा नेपालका औषधि कस्तो छ ?
विश्वको तुलनामा हामी अझै जान सकेका छैनौँ । भारत विश्वको नम्बर १ औषधि उत्पादन गर्ने देश हो । भारत बल्ल विश्वस्तरको औषधि उत्पादन गर्ने मुलुकमा पर्दैछ भने हामी आफ्नै मेहनत र बलवुताले औषधि उत्पादन गरिरहेका छौँ । हामीलाई कतै सहयोग छैन । तैपनि औषधिको गुणस्तरमा सम्झौता गरेका छैनौ । भारतमा विदेशी लगानी, प्रविधि हस्तान्तरण भएको छ । हामी अन्तर्राष्ट्रि स्तरमा पुग्न समय लाग्छ ।
नेपाली औषधि विश्व स्वास्थ्य संगठनको मापदण्डमा पुगेको छ कि छैन ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचो)को मापदण्ड हाम्रा उद्योगबाट उत्पादन हुने औषधिले पुरा गरेको छन् । डब्लुएचो जिएमपी पुरानो उद्योग पनि नयाँ प्रविधि भित्र्याएर गुणस्तरीय औषधि उत्पादन गर्न लागिरहेका छन् ।
औषधि गुणस्तर बनाउन के–के कुरामा ध्यान दिनुपर्दछ ?
औषधिको गुणस्तर बनाउनका लागि कच्चा पदार्थदेखि प्रविधिसम्मका कुरालाई ध्यान दिनुपर्दछ । औषधि बनाउन प्रयोगात्मक, जिएमपीलाई कुन तहमा प्रयोग गरिरहेका छौँ, त्यसमा पनि औषधिको गुणस्तर भर पर्दछ । कच्चा पदार्थमा विश्लेषण गर्दा प्राविधिकले कस्तो गरेको छ त्यो कुरा पनि हेर्न सकिन्छ । औषधिमा ०.५ ले पास फेल भन्न सकिन्छ । औषधि जस्तो संवेदनशील कुरामा प्राविधिक जनशक्ति पनि अनुभवी चाहिन्छ । भारत अहिलेको पनि विश्वको तुलनामा प्रविधि र रिसर्च पुगेको छैन । हामी भारत जस्तै हो । भारत भन्दा कम छैनौँ । औषधिमा सचेतना आयो भने हामी अन्तर्राष्ट्रिय स्तरमा पुग्छौँ ।
औषधि उद्योगमा राम्रो जनशक्ति पाउन कति सजिलो छ ?
अहिले औषधि उद्योगका लागि दक्ष जनशक्ति नै पाउन समस्या छ । मुख्य कुरा मानिसहरू कम्पनीमा एक वर्ष काम गर्छ अनि अर्को राम्रो ठाउँ पायो भने जान्छ । हामीसँग औषधि विषय पठाउने १२ कलेज छन् । अहिले फार्मेसी पढेर दक्ष जनशक्ति रोजगारीका लागि बाहिरी मुलुक जाने ट्रेण्ड बढी छ । त्यसैले दक्ष जनशक्ति छैनन् । पढेर निस्केपछि उनीहरुमा प्रयोगात्मक अभ्यास केही हुँदैन।
फर्मास्युटिकल्समा जागिर गर्न थालेपछि हामीले तालिम दिँदै लैजान्छौ र दुई वर्षमा मेसिन हेण्डल गर्न सक्ने भएर ऊ निपूर्ण हुन्छ। जब ऊ एउटा राम्रो जनशक्तिको रुपमा विकास भइसको हुन्छ अनि जागिर छाड्छ ।
यो दुःखको कुरा हो । फेरि अर्को मानिस ल्याउनुपर्ने हुन्छ । दक्ष जनशक्ति नभएर हामीलाई समस्या छ । मानिसलाई तालिम मात्र दिए जस्तो भइरहेको छ । देशको स्थितिले गर्दा फार्मेसीका दक्षजनशक्ति स्थिर छैनन् ।
औषधिको गुणस्तर बढाउन सरकारले के गर्नुपर्छ ?
हामीलाई चाहिने औषधि एकदमै कम छ । भारतमा कुनै पनि चिज निर्यात गरेपछि आयात गर्न पाइँदैन भन्ने कानुन छ । नेपालमा पनि उत्पादन भएका औषधि बाहिरबाट खरिद नगर्ने हो र हामीलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार औषधि उत्पादन गर्न भन्ने हो भने हामी तयार छौँ ।
अर्को सीमा नाकामा औषधिका कच्चा पदार्थ त्यतिकै खोलिदिन्छन् । औषधि एउटा निश्चित तापक्रममा खोल्नुपर्ने हुन्छ । पारवहनबाट औषधिका समान आउँदा कहिले फुटेर, कहिले प्वाल पारेर आएको हुन्छ ।
स्थानीय उद्योगलाई प्रवर्द्धन गर्न सरकारले त्यसमा ध्यान दिनुपर्छ ।
सरकारले भएसम्म नेपाली औषधि नै खरिद गर्नुपर्छ। बरु औषधिको गुणस्तरमा कडाइ गरोस ? सरकारले यही, यस्तै चाहिन्छ भनेर भनोस् हामी दिन्छौँ । पारासिटामोल २०० रुपिया प्रतिकेजी पनि आउँछ । ९०० रुपियाँ प्रतिकेजी पनि आउँछ ।२०० रुपियाँको पारासिटामोलको गुणस्तर ९०० रुयियासँग दाँज्न मिल्दैन ।
हेल्थपाटी
तपाईँको अभिमत