औषधि उद्योगलाई क्षयरोग लाग्न सुरु भएको छ, फैलिन सक्छ (भिडियो)
नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले नेपालका औषधि उद्योगलाई क्षयरोग लाग्न सुरु भएको बताउनुभयो।
हेल्थपाटीसँगको कुराकानीका क्रममा प्रधानले धेरै औषधि उद्योगहरू आर्थिक संकटबाट गुज्रिरहेको जानकारी दिनुभयो।
‘अहिले उद्योगहरूलाई नराम्रो भनिहाल्न पनि मिल्दैन तर राम्रो भन्ने ठाउँ पनि हामीले पाएका छैनौँ’ प्रधानले भन्नुभयो’ त्यस्तो खालको अवस्थामा छ ।’
नेपालका औषधि उद्योगको स्तर बढ्दै गएको, औषधिको गुणस्तरमा अब्बल बन्दै गएको तर आर्थिक र स्थिरताको हिसाबले औषधि उद्योग खस्कँदै गएको उहाँको भनाइ छ ।
‘जति धेरै औषधि उद्योगहरू खुल्दै गए, त्यति धेरै नयाँ–नयाँ प्रविधिहरू आउँदै गए । नयाँ-नयाँ औषधिहरू उत्पादन हुन थाले’ प्रधान सुनाउनुहुन्छ, ‘ नेपालमा भएका चिकित्सकले त्यसमा विश्वास गरे । नेपाल सरकारले पनि अन्तर्राष्ट्रिय स्तरअनुसारका मापदण्ड बनाउँदै गयो । यसरी औषधि उद्योगहरू गुणस्तरमा अब्बल बन्दै गए।’
प्रधानका अनुसार अहिले नेपालमा ८० देखि ८२ उद्योगले औषधि उत्पादन गरिरहेका छन् । एउटा उद्योग स्थापना गर्न करिब ७० देखि ८० करोड लगानी हुन्छ । यो हेर्दा ६०–६५ अर्ब लगानी भएको छ ।
नेपालमा वार्षिक ६०–६५ अर्बको औषधि विक्री हुन्छ । यसमा नेपाली औषधिले करिब ५० प्रतिशत हिस्सा ओगटेको छ । जम्मा ३०–३२ अर्ब मात्रै नेपाली ओषधिको व्यापार छ । यसो हुँदा नेपाली औषधि उद्योगमा गरेको लगानी फिर्ता नआउने अवस्था छ ।
जसरी व्यक्तिलाई पोषण नपुगेर क्षयरोग हुन्छ, त्यस्तै औषधि उद्योगलाई आर्थिक प्रोत्साहन अर्थात पोषण नपुगेर क्षयरोग लाग्न सुरु भएको प्रधानको तर्क छ ।
केही उद्योगहरू बन्द हुने प्रक्रियामा रहेको पनि उहाँले जानकारी दिनुभयो ।
‘उद्योगलाई पोषण दिन पुगेन, आर्थिक प्रोत्साहनहरू पुगेन, जसले गर्दा अब उद्योगहरूलाई क्षयरोग लाग्न सुरुभयो’ प्रधानले भन्नुभयो, ‘सरकारले त्यसको निम्ति छिट्टै उपचार सुरु गर्नुपर्छ नत्र त्यो फैलिन्छ ।’
सरकारले ध्यान नदिएको खण्डमा थुप्रै औषधि उद्योगहरू आर्थिक संकटमा पर्ने अवस्था देखिएको प्रधानले बताउनुभयो ।
प्रधानका अनुसार नेपालमा औषधि उद्योगले करिब ३५ देखि ४० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगार दिइरहेको छ । वार्षिक ५–६ अर्बको कर औषधिजन्य उद्योगले तिरिरहेका छन् ।
यसलाई ध्यानमा राखेर सरकारले औषधि उद्योगलाई आर्थिक संकटबाट जोगाउन काम गर्नुपर्ने प्रधानको भनाइ छ ।
औषधि उद्योगलाई जोगाउन गर्नुपर्ने काम के हो त ?
सरकारले जम्मा २ वटा काम गरे नेपालका औषधि उद्योगको अवस्था राम्रो हुने प्रधानले स्पष्ट पार्नुभयो ।
एउटा कम्तिमा ४ वटा नेपाली कम्पनीले उत्पादन गर्न औषधि विदेशबाट आयात गर्न बन्द गर्ने, अर्काे सरकार र सरकारी निकायले जति पनि ओषधि खरिद गर्ने गर्छन्, त्यसमा नेपाली औषधि भएसम्म विदेशी औषधि नलिने ।
सरकारबाट यी दुई कुरा मात्रै सुनिश्चित भए औषधि उद्योगको संकट बिस्तारै हट्दै जाने प्रधानको दावी छ ।
‘यति काम गर्नेवित्तिकै नेपालका औषधि उद्योगलाई क्षयरोग लाग्न सुरु भएको छ त्यो बन्द हुन्छ’ प्रधान भन्नुहुन्छ, ‘क्षयरोग फैलिँदैन । निको हुन्छ ।’
नेपाली औषधि उद्योगले लाखौँलाई प्रत्यक्ष रोजगार दिने । नेपाल औषधिमा आत्म निर्भर बन्दै जाने प्रधानले बताउनुभयो ।
नेपाली औषधि उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न पाउँदा ९० प्रतिशतसम्म नेपालको आवश्यकता पूर्ति गर्न सक्ने दावी प्रधानको छ।
नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानसँग गरिएको कुराकानी भिडियोमा
तपाईँको अभिमत