सबैका लागि स्वास्थ्य : नीति गज्जब, कार्यान्वयन झुर
सन्दर्भ : युनिभर्सल हेल्थ कभरेज दिवस
युनिभर्सल हेल्थ कभरेज (युएचसी) भनेको विश्व स्वास्थ संगठनले प्राथमिकता दिएको सबैका लागि स्वास्थ्य भन्ने एउटा कार्यक्रम हो । जुन हरेक वर्ष डिसेम्बर १२ मा मनाउने गरिन्छ ।
१२ डिसेम्बर,२०१२ मा संयूक्त राष्ट्रसंघले युएचसीको आवश्यकताबारे एक ऐतिहासिक प्रस्ताव पारित गरेको थियो । त्यसपछि विश्व बैँक र विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य क्षेत्रको दिगो विकासका लागि उच्च प्राथमिकताको रुपमा युएचसी दिवसलाई पहिचान गर्यो।
फलस्वरुप २०१४ देखि हरेक वर्ष डिसेम्बर १२ लाई युएचसी दिवसका रुपमा संसारभर मनाउन थालियो । दशौँ युएचसी दिवस ‘सबैका लागि स्वास्थ्यः समयमै काम गरौँ’ भन्ने विषयमा केन्द्रित भएर मनाउन लागिएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नमा कसैलाई पनि उसको आर्थिक दुरावस्थाले नरोकोस् भन्ने मूल्य र मान्यता स्थापित गर्न हरेक यस दिनमा युएचसी मनाउने गरिएको हो ।
यो स्वास्थ्यमा मानवको अधिकारलाई सुनिश्चितता दिने एक प्रभावकारी दिवस हो । आर्थिक अवस्था धेरै न्यून र मध्यम भएका संसारका १०० भन्दा बढी देशमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ । यो दिवस संसार भरका सबै मानिका लागि हो।
यस दिनले अति न्यून आय भएका र स्वास्थ्य सेवामा पँहुच पुग्दै नपुगेका सबैलाई स्वास्थ्य सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
खासगरी युएचसी स्वास्थ्य सेवासँग सम्बन्धित विभिन्न विषयहरु, जस्तै रोगको उपचार, रोकथाम, व्यवस्थापन, अस्पताल सुविधा, हेरविचारसहित आवश्यक सबै स्वास्थ्य सेवाहरु र सरसफाईका बारेमा जनचेतना जगाउने दिन हो । साथै आर्थिक कठिनाइबिना स्वास्थ्य सेवाहरु उपलब्ध गराउन विश्वव्यापी रुपमा आह्वान गर्ने एउटा विशेष दिन पनि हो ।
संयुक्त राष्ट्रसंघले अनुमोदन गरेको दिगो विकासका लक्ष्य (सन् २०१६–२०३०) लाई पनि युएचसीले समावेश गरेर त्यसै अनुरुप स्वास्थ्यसँग सम्बन्धित विषयहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । दिगो विकासका १७ वटा लक्ष्यमध्ये लक्ष्य नं ३ मा स्वस्थ जीवन समावेश गरिएको छ । सबै उमेरका र सबैको कल्याणका लागि स्वस्थ जीवनको सुनिश्चितता हुनुपर्ने प्रस्ताव लक्ष्य नं ३ मा समावेश गरिएको छ ।
मानव जीवनमा प्राप्त गर्ने थुप्रै जन्मसिद्ध अधिकारहरु मध्येमा स्वास्थ्य अधिकार एक प्रमुख अधिकार हो । बिना कुनै भेदभाव स्वास्थ्य सेवा लिन पाउनु तथा आफ्नो स्वास्थ्य आफ्नै नियन्त्रणमा राख्नु नै स्वास्थ्य अधिकार हो ।
साधारण रुपमा स्वास्थ्य अधिकार भन्नाले स्वास्थ्य सेवा र अस्पतालहरुमा पहुँच पुग्नु भन्ने मात्र बुझिन्छ । तर संयुक्त राष्ट्रसंघले पारित गरेको सम्झौताअनुसार स्वास्थ्यका केही निर्धारक सूचकहरु छन्, जसमा सफा पिउने पानी र सरसफाई, सफा खाना, पर्याप्त पोषण तथा आवास, मर्यादित काम र वातावरणीय अवस्था, स्वास्थ्य सम्बन्धि शिक्षा र सूचना तथा लैंगिक समानताहरु पर्दछन् । यी सम्पूर्ण सूचकहरु समावेश गरी स्वास्थ्य जीवनयापन कायम गर्न सकेमा मात्र स्वास्थ्यको हक सुनिश्चित गरिएको स्वीकार्न सकिन्छ ।
नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको छ । उमेर बढ्दै जाँदा आउने शारीरिक र मानसिक परिवर्तनका कारण धेरैजसो ज्येष्ठ नागरिकहरु विभिन्न जटिल तथा दीर्घकालीन रोगको शिकार हुन पुग्छन् जसकारण ज्येष्ठ नागरिकहरुका लागि अझै बढी स्वास्थ्य सेवा र सुविधा आवश्यक पर्न सक्छ ।
घट्दो जन्मदर र बढ्दो औषत आयुले विगतका एक शताब्दीमा ६० वर्ष भन्दा माथिको जनसंख्या विश्वव्यापीरुपमा अकल्पनीय ढंगमा वृद्धि भइरहेको छ । तर त्यो जनसंख्याको स्वास्थ्य अवस्था भने खस्किदो छ । प्राप्त तथ्याङ्क अनुसार ८० प्रतिशत ज्येष्ठ नागरिकहरु कुनै एक प्रकारको जटिल स्वास्थ्य समस्याबाट पीडित छन् ।
६८ प्रतिशत ज्येष्ठ नागरिकहरु कुनै दुई प्रकारको जटिल स्वास्थ्य समस्याबाट पीडित छन् । उनीहरुमा देखिने प्रमुख स्वास्थ्य समस्या भनेको उच्च रक्तचाप रहेको छ । यो समस्या करिब ५८ प्रतिशत ज्येष्ठ नागरिकहरुमा रहेको छ । यसबाहेक उच्च कोलेस्टेरोल, बाथ, मुटु रोग, मधुमेह, मिर्गौला सम्बन्धि समस्या, डिप्रेसन र अल्जाइमर्स ज्येष्ठ नागरिकहरुमा हुने प्रमुख स्वास्थ्य समस्यामा पर्दछन् ।
नेपालमा पनि ज्येष्ठ नागरिकहरुको संख्या तीव्र गतिमा वृद्धि भइरहेको छ । हाल कुल जनसंख्याको १०.२१ प्रतिशत संख्या ज्येष्ठ नागरिको छ । अर्थात् अहिले नेपालमा करिब ३० लाख व्यक्तिहरु ६० वा सो भन्दा माथिको उमेर समूहका छन् । ज्येष्ठ नागरिकहरुको संख्यामा वृद्धि भएसँगै उनीहरुलाई स्वास्थ्यमा पहुँच पुर्याउन नेपाल सरकारले थुप्रै नीति तथा कार्यक्रमहरु निर्माण गरेको छ ।
नेपालको संविधानमा स्वास्थ्यमा समान पहुँचको प्रावधान उल्लेख गर्नुका साथै ज्येष्ठ नागरिकहरुलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको हक दिइएको छ ।
युएचसीलाई सुनिश्चित गर्न हालै मात्र नेपालमा पहिलो पटक ज्येष्ठ नागरिकको स्वास्थ्य सेवा रणनीति बनेको छ । यो ज्येष्ठ नागरिकको स्वास्थ्य क्षेत्रमा भएको ठूलो प्रगति हो ।
ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जोखिम र उनीहरुको स्वास्थ्य सम्बन्धि अधिकारलाई मध्यनजर गर्दै उक्त नीति निर्माण गरेको हो । यो नीति ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था सुधार्न निर्देशन दिँदै सम्बन्धित निकायलाई जवाफदेही बनाउन सहयोग गर्ने खालको छ ।
जसमा ज्येष्ठ नागरिकको लागि गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच एवम् उपलब्धता पहिलो प्राथमिकतामा रहेको छ । यसैगरी ज्येष्ठ नागरिकहरुका लागि स्वास्थ्य प्रवद्र्धन र संरक्षण गर्न, गुणस्तरीय स्वास्थ्य उपचार, सेवाप्रवाह तथा सामाजिक स्वास्थ्य बिमाको सक्षम कार्यन्वयन तथा सुदृढीकरण गर्ने विषय पनि यस नीतिमा छ ।
स्वस्थ बुढेसकालका सम्बन्धमा सचेतना र जागरणका लागि बहुपक्षीय कार्ययोजना र पारिवारिक तथा सामुदायिक सहयोग प्रणालीको सुदृढीकरण र विस्तार पनि यस नीतिमा उल्लेख गरिएको छ।
ज्येष्ठ नागरिकका लागि सबै तहमा आधारभूत उपचारात्मक सेवा, दीर्घकालीन उपचार, समुदायमा आधारित उपचार तथा घरायसी तहका उपचारात्मक सेवामा संलग्न स्वास्थ्य संस्थाहरुको क्षमता अभिवृद्धि गर्ने कुरा यो नीतिको अर्को सुन्दर पक्ष हो । ज्येष्ठ नागरिकको स्वास्थ्यसम्बन्धि एकीकृत सूचना व्यवस्थापन प्रणालीको विकास, उपयोग र अद्यावधिक गर्न आधार निर्माण एवम् सुदृढीकरण तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न उपयुक्त जनशक्तिको योजना, व्यवस्थापन र विकासको कुरा पनि यो नीतिले उठान गरेको छ ।
ज्येष्ठ नागरिकका लागि लैंगिक समतायुक्त तथा समावेशी स्वास्थ्य उपचार सेवाको प्रत्याभूति तथा जवाफदेहिताको सुनिश्चितता गर्नुपर्ने करा पनि उक्त नीतिमा समावेश छ ।
ज्येष्ठ नागरिक लक्षित सामाजिक स्वास्थ्य बिमालाई वित्तीय रुपमा दिगो र प्रभावकारी कार्यान्वयन, सुदृढीकरण तथा विस्तार गर्न र प्रदेश तथा स्थानीय तहमा जेरियाट्रिक स्वास्थ्य सेवाको संस्थागत एकीकरण तथा विकास गर्ने अवधारणाहरु पनि यस नीतिमा समावेश छन्।
यस नीतिले नेपालको संविधान र नीतिगत प्रतिवद्धतालाई आत्मसात गर्दै स्वास्थ्य बुढ्यौलीका लागि बलियो आधार प्रदान गर्दछ । स्वास्थ्य बुढ्यौली भन्नाले ज्येष्ठ नागरिकहरुको कार्यात्मक क्षमताको विकास गर्ने तथा सक्रियता कायम राख्ने प्रक्रिया हो ।
नेपालमा ज्येष्ठ नागरिकको स्वास्थ्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु पनि सञ्चालन हुदैछ । हालसम्म ६० भन्दा माथि अस्पतालहरुमा ज्येष्ठ नागरिक वार्ड सञ्चालनमा ल्याएको छ । शहरी र ग्रामीण स्वास्थ्य केन्द्रले ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिँदै स्वास्थ्य सेवा उपब्लध गराउँछ । प्रत्येक वडामा स्वास्थ्य सेवा प्रदान गर्न सामुदायिक नर्सलाई परिचालन गरेको छ ।
मुटु रोग, क्यान्सर, अल्जाइमर्स, पार्किन्सन र मिर्गौला सम्बन्धि रोग लागेका ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचारका लागि १ लाख रुपैयाँ दिने गरेको छ । त्यस्तै ७५ वर्ष माथिका मुटु तथा मिर्गौला रोग लागेको ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ ।
स्थानीय सरकारले गरिब तथा सिमान्तकृत ज्येष्ठ नागरिकलाई वार्षिक रुपमा २००० देखि ५००० उपचार खर्च व्यहोर्ने गरेको छ । स्वास्थ्य बिमाले पनि धेरै ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य उपचारमा राहत दिएको छ । यस बिमा अन्र्तगत ज्येष्ठ नागरिकहरुलाई विभिन्न प्रकारको औषधि तथा सेवाहरु निशुल्क उपलब्ध गराउँदै आएको छ । अहिले आधारभूत स्वास्थ्य केन्द्रमा ३९ प्रकारको औषधि र जिल्लास्तरीय अस्पतालमा ७२ प्रकारको औषधि निशुल्क रुपमा प्राप्त गर्न सकिन्छ । त्यस्तै गरेर स्थानीय तथा प्रदेश सरकारले स्थानीय ज्येष्ठ नागरिकको स्वास्थ्य अधिकारलाई ध्यान दिँदै अन्य थुप्रै कार्यक्रमहरु तर्जुमा गरेको छ ।
चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी र स्याहारकर्ताको विकास तथा क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम पनि सञ्चालन हुँदैछन् । स्वास्थ्य क्षेत्रको पाठ्यक्रममा पनि जेरियाट्रिक विषयलाई समेटिन थालिएको छ ।
यी सम्पूर्ण नीति तथा कार्यक्रमहरुलाई नियाल्दा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अधिकार सुनिश्चित गर्न राष्ट्रको तर्फबाट कुनै कमी देखिँदैन । तर यी नीति कार्यक्रमहरुबाट ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थामा साचेको जस्तो सुधार आउन भने सकेको छैन।
ज्येष्ठ नागरिकहरु आफ्ना लागि बनेको स्वास्थ्य अधिकारका विषयमा अनविज्ञ छन्। दुर्गम क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिकहरुमा त झन् यस्ता कुराको बारेमा चेतना नै छैन । राष्ट्रले दिएको स्वास्थ्य अधिकार र ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबीच ठूलो खाडल छ।
ती अधिकारले सम्पूर्ण ज्येष्ठ नागरिकहरुलाई समेट्न नसक्नुको कारणहरु हामीले अध्ययन गर्न आवश्यक छ ताकि यी स्वास्थ्य नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यन्वयन गर्दै सबै ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अधिकार सुनिश्चित गर्न सकियोस् ।
(लेखक जेष्ठनागरिक सम्बन्धि काम गर्ने संस्था एजिङ नेपालमा आवद्ध हुनुहुन्छ)
तपाईँको अभिमत