२०८ वर्षअघि भीमसेन थापाले सुरु गरेका थिए नेपालमा खोप अभियान
विश्व स्वास्थ्य संगठनले अप्रिल २४ देखि अप्रिल ३० सम्मलाई विश्व खोप सप्ताहका रुपमा मनाउने गरेको छ । यसैलाई आधार बनाएर नेपाल सरकारले पनि बैशाख महिनालाई 'खोप महिना'का रुपमा मनाउँदै आइरहेको छ । खोप सप्ताह वा खोप महिना मनाउनु भनेको बालबालिकाको अमूल्य जीवन बचाउने खोपका बारेमा समुदायमा जनचेतना फैलाउनु हो । यसरी जनचेतना फैलाएर सम्पूर्ण बालबालिकालाई आधारभूत खोपको मात्रा पूरा गराउने वातावरण बनाउनु हो ।
खोप अभियानकै कारणले संसारले असाध्यै ठूला-ठूला उपलब्धि हासिल गरेका उदाहरणहरू छन् । यही शताब्दीमा खोप लगाएकै कारण अत्यन्तै संक्रामक रोग बिफर उन्मूलन भयो। पोलियो रोग उन्मूलन उन्मुख छ । जसका कारण लाखौँ बालबालिकाको जीवन जोगिएको छ। अपांग हुनबाट रोकिएको छ ।
विश्व स्वास्थ्य संगठनले संसारभर विस्तारित खोप कार्यक्रमको सुझाव दिएको पनि अहिले ५० वर्ष पुगिसक्यो । लगभग सोही समयदेखि नेपालका बालबालिकाले पनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका आधारभूत खोपहरू पाइरहेका छन् । अहिले बालबालिकाहरूले १३ वटा रोगविरुद्धका खोप नियमित र निःशुल्क रुपमा आफ्नै घरछेउमा लिन पाउने व्यवस्था छ । जुन खोपले हाम्रो भावी पुस्तालाई विभिन्न रोगबाट जोगाइरहेको छ ।
नेपालका खोप अभियान सुरुवातको इतिहास सयौँ वर्ष पुरानो छ । यस इतिहासका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पनि आधिकारिक दस्तावेज छैन ।
स्वास्थ्य मन्त्रालय र मातहतका निकायहरूमा खोप कार्यक्रमको इतिहास, त्यस कार्यमा संलग्नता र ऐतिहासिक भूमिका निर्वाह गर्ने व्यक्तिका बारेमा विवरण भेट्टाउन मुस्किल पर्छ। यसमा योगदान गर्ने व्यक्तिसँगै इतिहास मेटिएको छ । इतिहास विगत समयलाई देखाउने ऐना हो । इतिहासको रक्षा गर्नु वर्तमानको दायित्व हो ।
हालसम्म प्राप्त प्रमाणका आधारमा आजभन्दा २०८ वर्षअगाडि नेपालमा बिफरको आधुनिक खोप भित्र्याएको देखिन्छ । खोप भित्र्याएर व्यवस्थित खोप अभियान सञ्चालन गरिएको इतिहास भेन्टिन्छ ।
यसको श्रेय नेपालका प्रथम प्रधानमन्त्री भनेर चिनिने तत्कालीन मुख्तियार भीमसेन थापालाई जान्छ ।
वि.सं.१८७३ सालमा नेपालमा बिफरको महामारी फैलियो । त्यो महामारीले दरबारियादेखि सर्वसाधारणसम्मलाई सोत्तर बनाउन थाल्यो । अंग्रेजसँगको युद्धपछि भर्खरै अपमानजनक सुगौली सन्धि गरिएको समय थियो त्यो ।
असमान सन्धिको चोट बिर्सेर वि.सं.१८७३ को असारमा भीमसेन थापाले काठमाडौंस्थित बेलायती रेसिडेन्ट एडवर्ड गार्डनरमार्फत बेलायतसँग नेपालका लागि खोप माग गरे । इतिहासकार सुसन हाइडेनका अनुसार वि.सं. १८७३ असोज १ गते नेपाललाई खोप प्राप्त भयो । त्यसै दिनदेखि बनेपाबाट सर्वसाधारणलाई बिफरको खोप लगाई अभियान सुरु गरियो ।
सो खोप अभियानका बारेमा एडवर्ड गार्डनर लेख्छन्, ‘बनेपामा खोप लगाउन मानिसहरू उत्साहित भएर उपस्थित थिए । मुख्तियार भीमसेन थापाले नै खोप शुरुवात गर्न बनेपा रोजेका हुन् । यो काम सफल हुन्छ भन्ने विश्वास छ।’
त्यो अभियान त सफल भयो तर खोपको निरन्तर आपूर्ति हुन सकेन । एकरुपताका साथ देशभर अभियान चल्न सकेन । छिटफुट रुपमा चाहिँ चलिरह्यो ।
पछि जंगबहादुर राणाले वि.सं. १९०६ मा बिफरविरुद्धको खोप लगाउने योजनासहित देशभर कर्मचारी परिचालन गरेका थिए । खोप लगाउन नमान्नेलाई कानुन बनाएरै खोप लगाउन बाध्य पारिएको थियो ।
वि.सं. १९४३ मा वीर समशेरको शासनकालमा काठमाडौं उपत्यकाका बालबालिकालाई बिफरविरुद्धको खोप दिइएको थियो । त्यो समय राजवैद्यहरूलाई विशेष तालिम दिएर खोप लगाउन खटाइएको थियो ।
राणा कालमा बिफरको मात्रै होइन, हैजाको महामारी रोक्न हैजाविरुद्धको खोप अभियान पनि सञ्चालन गरिएको इतिहासमा भेटिन्छ । टाइफाइडविरुद्धको खोप पनि अभियानकै रुपमा दिइएको प्रमाणहरू पाइएका छन् । त्यसबेला विद्यालयहरूमा गएर विद्यार्थीहरूलाई टाइफाइडविरुद्धको खोप दिइएको थियो । काठमाडौं मुनिसिफिलिटीले त्यो अभियानको व्यवस्थापन गरेको थियो ।
वि.सं.२०२२ मा काठमाडौंको टेकु अस्पतालमा २१ हजार भन्दा बढीलाई हैजाविरुद्धको खोप दिइएको थियो ।
वि.सं. २०१९ सालमा स्वास्थ्य सेवा विभाग अन्तर्गत बिफर उन्मूलन शाखा खडा गरी बिफर खोप अभियानलाई अझै व्यवस्थित बनाइयो । वि.सं.२०२० फागुन १६ गते बिफर नियन्त्रण ऐन र संक्रामक रोग ऐन जारी गरी खोप अभियानलाई कानुनी रुपमा समेत व्यवस्थित गर्ने काम भयो।
खोप लगाएर बिफर उन्मूलन हुनसक्ने, पोलियो उन्मूलन हुनसक्ने जुन वातावरण बन्यो त्यसका लागि इतिहासका ती प्रयासहरूको ठूलो योगदान छ । त्यसको गर्भमा परम्परागत वैद्य, कम्पाउण्डर, अन्य स्वास्थ्यकर्मीको योगदान बिर्सन मिल्दैन । मुख्तियार भीमसेन थापादेखि त्यसपछि र हालसम्मका नेतृत्व, नीति निर्माताको प्रयासलाई पनि कदर गर्नैपर्छ ।
बैशाख महिनालाई खोप महिनाका रुपमा मनाइरहँदा इतिहासका विभिन्न कालखण्डमा खोपमा योगदान दिनेलाई स्मरण गर्दै यो अभियानलाई सफल पारौँ ।
खोपमार्फत हाम्रा प्यारा बालबालिकाहरूलाई अकालमा मृत्यु हुन र अपांग हुनबाट जोगाऔँ । खोपको चेतना अभिवृद्धि गरौँ ।
-लेखक गौतम जनस्वास्थ्यविद् तथा स्वास्थ्य सेवा विभाग, खोप शाखाका पूर्वप्रमुख हुन् ।
तपाईँको अभिमत