भारतबाट आएकाको पहिचान तुरुन्तै गरौँ, देश संकटमा पर्न सक्छ
महामारीमा शून्य सहलशिलता प्रयोग गरौँ
राज्यले खोज्दै क्वारेन्टाइनमा राख्नु भन्दा पनि आफै सचेत भई क्वारेन्टाइनमा बस्नु अन्तिम उपाय हो ।
कोरोना भाइरस रोगको संक्रमण फैलिएपछि विश्व एउटै नीति अनुसार चलिरहेको छ भने विश्वका सबै मानिसम एकै किसिमको त्रास र उस्तै अवस्थामा बसिरहेका छन् । अधिकांश देश लकडाउनमा छन् । भारतमा २१ दिने लकडाउन शुरु भइसकेको छ । लकडाउनमा सबै जना घरभित्र बस्नुपर्छ । लकडाउनले बाहिरका मानिससँगको भेटलाई टाढा राख्दछ र संक्रमण हुने सम्भावना अत्यन्तै न्यून रहन्छ भन्ने मान्यता राख्दछ । तर घरभित्रै बस्दा र परिवारसँगै बस्दा विशेष ध्यान दिनुपर्ने अहिलेको अवस्था छ ।
विश्वकै पुरानो तथा विश्वसनीय मेडिकल जरनल ल्यान्सेटमा प्रकाशित एक अध्ययनका अनुसार कोरोना भाइरस रोगको अधिकांश संक्रमण परिवारका सदस्यबाट एक आपसमा फैलिएको छ । र यसको पहिलो शिकार परिवार र त्यसपछि साथीभाइ, आफन्त, समाज, देश हुँदै विश्व नै आक्रान्त छ । अर्थात् लामो समयसम्म एक मिटरभन्दा कम दूरीको सम्पर्कमा बस्नेहरुका बीचमा संक्रमण धेरै फैलिएको छ । यसको अर्थ के हो भने प्रभावित देशबाट घर आएका र उनीहरुको परिवार बढी सचेत हुनुपर्दछ ।
नेपालमा लकडाउन भएको आज दोस्रो दिन हो । हिजो पहिलो दिन नेपालमा आमनागरिकले लकडाउनलाई २०६२/६३ सालतिर हुने नेपाल बन्द जस्तो ठानेर मुलसडकमा सवारी साधन नचलाउने र कम मानिसको आवतजावत भए पनि भित्री बाटोमा पसल, होटलहरु खुला रहनुका साथै निर्वाध रुपमा मानिसहरु आवतजावत गरिरहेका थिए ।
यो अवस्थामा भारतबाट फर्केका एक जनामा मात्र संक्रमण भएर परिवारसँगै बसिरहँदा यसले कस्तो रुप लेला ? यो सोचनीय छ ।
बाँकी दिनमा पनि यही अवस्था दोहोरियाे र सरकारले कोरोना भाइरस संक्रमण रोक्नलाई गरेको लकडाउन असफल भयो भने के हुन्छ ? के हामी आफ्नै स्वास्थ्यप्रति अलिकति पनि चिन्तित हुन जरुरी छैन ? कि त्यो पनि सरकारले मात्रै सोच्नु पर्ने हो ? याद गरौं तपाई हाम्रो एउटा सानो कमजोरीले हाम्रो देशको अवस्था चीन, इटाली र स्पेनमा जस्तै भयावह स्थिति नआओस् । बेलैमा सावधानी अपनाउँ । यो संकटको समय हो नेपाल बन्द होइन ।
यसको दुई दिन अगाडिसम्म हवाई उडान मार्फत हजारौं मानिस नेपाल भित्रिएका छन् । नेपालमा पनि विमानस्थलमा परीक्षणका क्रममा कुनै पनि लक्षण नदेखिएका व्यक्तिमा संक्रमणको पुष्टि भएपछि यसले थप चिन्ता बढेको छ । फ्रान्सबाट आएकी विद्यार्थी विमानस्थलमा लक्षण नदेखिए पनि घरमा नै क्वारेन्टाइनमा बस्नुभयो । तर क्वारेन्टाइनको समयमा लक्षण देखिएपछि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो ।
यो त एक प्रतिनिधि घटना मात्रै हो । सचेत नागरिकले त क्वारेन्टाइनबाट तुरुन्त खबर गरि परीक्षण गर्दा कोरोना भाइरस फैलने त्रास कायमै छ । प्रतिवन्धित मुलुकबाट आएका ७३ जना नागरिकलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । फ्रान्सबाट आएकी विद्यार्थीसँगै आएका सम्पूर्ण यात्रुलाई सरकारले सम्पर्कमा ल्याई घरमा नै सेल्फ क्वारेन्टाइनमा रहन आग्रह गरि कुनै पनि लक्षण देखिएमा तुरुन्तै खबर गर्न भनिसकेको छ ।
व्यक्ति, परिवार, समुदाय र देशलाई नै यो घातक महामारीबाट जोगाऔँ ।
तर व्यक्ति आफै सचेत नभएसम्म राज्यले जस्तोसुकै कडा नियम लगाए पनि संक्रमण रोकिँदैन । प्रभावित देशबाट आएका व्यक्तिहरु भाइरसकाे कुनै लक्षण छैन भन्दै परिवार, साथीभाइसँग बसिरहेका छन् । राज्यले खोज्दै क्वारेन्टाइनमा राख्नु भन्दा पनि आफै सचेत भई क्वारेन्टाइनमा बस्नु अन्तिम उपाय हो । यदि तपाईं र तपाईंका परिवार सचेत हुनु भएन भने एक, दुई गरि परिवार नै सखाप हुनेछ ।
भारतमा अहिलेसम्म ५ सय ५६ जनामा संक्रमण भएको छ भने १० जनाको मृत्यु भइसकेको छ । नेपालको सीमा जोडिएको पूर्वदेखि पश्चिमसम्म पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्डमा संक्रमणको पुष्टि भइसकेको छ ।यी लगायत दिल्ली, पञ्जाब, हरियाणा, आन्द्र प्रदेश, तेलंगना राज्य सबैभन्दा धेरै नेपाली रहेको क्षेत्र हो । यी सबै राज्यमा कोरोना भाइरसको संक्रमण भइसकेको छ ।
पछिल्लो साता यी क्षेत्रबाट लाखौं मानिस नेपाल भित्रिएका छन् । ती सबैको तथ्यांक र सम्पर्क सरकारसँग छैन । सम्पर्कमा रहेकालाई क्वारेन्टाइनमा राख्दा पर्खाल चढेर रातारात भागेको दृश्य हामीलाई अवगत नै छ । यस्तो अवस्थामा सरकारले मात्र नभई संक्रमण रोक्न आम सचेत नागरिक नै जागरुक हुन जरुरी छ । तपाईं हाम्रो घर, छिमेक, टोल जहाँ भए पनि जो कोही भारतबाट आएको थाहा भएमा तुरुन्तै होम क्वारेन्टाइनमा छुट्टै बस्न प्रेरित गरौँ । यसका लागि आवश्यक परे प्रशासनको सहयोग लिन समेत पछि नपरौँ ।
महामारीमा शून्य सहलशिलता प्रयोग गरौँ, आफू बचौँ, परिवार, समाज र देशलाई बचाऔँ । यो तपाईं हाम्रो कर्तव्य हो । सरकारले सबैलाई नियाल्न नसकेको पनि हुन सक्छ । यदि तपाईं हामी आम नागरिक सचेत हुने हो भने हाम्रो घर छिमेकमा जति मानिस भारतबाट आएका छन् उनीहरुलाई क्वारेन्टाइनमा बस्ने वातावरण मिलाऔँ ।
तराईंका धेरैजसो घरको संरचना सेल्फ आइसोलेसनमा बस्न मिल्ने खालको छैन । एउटै कोठामा सबैजना बस्नुपर्ने बाध्यता छ । अर्काे कुरा भारतमा मजदुरी गरेर आउने धेरै मानिस यो रोगबारे त्यति जानकार छैनन् । आफू भारतबाट आएको थाहा पाए क्वारेन्टाइनमा राख्ने डरले कतिपय मानिस लुकेर परिवारसँग बसिरहेका हुन सक्छन् तर यसले पहिलो शिकार परिवारलाई नै बनाउँछ भन्ने उनीहरुलाई थाहा नहुन पनि सक्छ ।
यो अवस्थामा भारतबाट फर्केका एक जनामा मात्र संक्रमण भएर परिवारसँगै बसिरहँदा यसले कस्तो रुप लेला ? यो सोचनीय छ । त्यसैले व्यक्ति, परिवार र समाज सचेत भई प्रभावित देशबाट आएका प्रत्येक व्यक्ति सेल्फ आइसोलेशनमा बसौँ । आफ्नो घरमै बस्ने वातावरण छ भने घरमा नै बसौँ, व्यवस्था नहुनेलाई सहयोग गरौँ । व्यक्ति, परिवार, समुदाय र देशलाई नै यो घातक महामारीबाट जोगाऔँ ।
तपाईँको अभिमत