नि:शुल्क मिर्गाैला प्रत्यारोपण गर्न तयार छु, मैले अपरेशन कहाँ गर्ने ?
नेपालमा प्रत्यारोपण थालनी गर्नुभएका अब्बल डा. श्रेष्ठ कामविहिन
काठमाडौं । हँसिलो अनुहार र मिजासिलो स्वभावका अंग प्रत्यारोपण विज्ञ सर्जन डाक्टर पुकारचन्द्र श्रेष्ठले १ हजारभन्दा बढी मिर्गाैला बिरामीलाई मिर्गाैला प्रत्यारोपण मार्फत नयाँ जीवन प्रदान गरिसक्नु भएको छ ।
उहाँलै नै नेपालमा पहिलाे पटक सफल मानव अंग प्रत्यारोपण गर्नुभएको थियो । त्यसअघि २००४ मा वीर अस्पतालमा मिर्गाैला प्रत्यारोपण सुरु भएपनि त्यो सफल हुन सकेन ।
त्यसपछि २००८ को अगस्टमा शिक्षण अस्पतालमा अष्ट्रेलियाबाट विशेषज्ञ बोलाएर मिर्गाैला प्रत्यारोपण गरियो तर त्यसले निरन्तरता पाउन सकेन ।
नेपालकाे सबैभन्दा पुरानाे अस्पताल वीर अस्पतालमा सफल मिर्गाैला प्रत्यारोपण गरेर नेपालमा पनि अंग प्रत्यारोपण सेवा संभव भएकाे प्रमाणित सारा विश्वलाई गर्न डा.श्रेष्ठ सफल हुनुभयाे ।
मिर्गाैला फेल भएका दुई जना युवाको सन् २००८ को डिसेम्वर १२ का दिन वीर अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरि डा. श्रेष्ठले नेपालमा प्रत्यारोपण सेवाको थालनी गर्नुभएको थियो ।
‘सिमित स्रोत र साधनको उच्चतम सदुपयोग गरि प्रत्यारोपण सेवाको जग बसाल्नु आफैंमा चुनौतीपूर्ण थियो, ‘डा.श्रेष्ठ भन्नुहुन्छ तर त्यो चुनौती मेरा लागि सुनौलो अवसर थियो भने बिरामीका लागि बरदान ।’
मिर्गाैला प्रत्यारोपण सेवाको थालनी मात्रै होइन उहाँले अंग प्रत्यारोपणका लागि छुट्टै अस्पताल स्थापनाका लागि ठूलो भूमिका खेल्नुभएको छ । स्वास्थ्य मन्त्रालयको अधिनमा रही अस्पताल गठन आदेश मार्फत उहाँकाे अगुवाइमा ३ महिनामा नै भक्तपुरमा वि.सं. २०६८ सालमा मानव अंग प्रत्यारोपण केन्द्रको स्थापना गर्नुभयो ।
स्थापना भएको ३ महिनापछि उक्त अस्पतालमा डाइलाइसिस सेवा सुरु भयो अनि अर्काे ३ महिनापछि प्रत्यारोपण सेवा नै सुरु भयो ।डा.श्रेष्ठ सम्झनुहुन्छ‚ ‘मानव अंग प्रत्यारोपण केन्द्रबाट दिनको १२० जना सम्मले डाइलाइसिस सेवा लिन पाए भने एक वर्षमा १८३ जना सफल मिर्गाैला प्रत्यारोपण गरियाे। कुनै दिनमा त दिनको ८ जनासम्मको मिर्गाैला प्रत्यारोपण गर्याैं।’ डा.श्रेष्ठले उक्त अस्पतालमा ७ सय भन्दाबढीको सफल मिर्गाैला प्रत्यारोपण गर्नुभयाे ।
८ बर्ष मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यकारी प्रमुख भएर कार्यरत डा.श्रेष्ठलाई सरकारले १० महिनाअघि वीर अस्पतालमा काज फिर्ता गरेकाे छ । विगत १० महिनादेखि उहाँले एक जनाको पनि अंग प्रत्यारोपण गर्न पाउनु भएको छैन ।उहाँलै नै नेपालमा पहिलाे पटक मानव अंग प्रत्यारोपण सेवा सुरुवात गर्नुभएको वीर अस्पतालमा प्रत्यारोपण यूनिटनै किन निस्कि्य भयाे भन्ने प्रश्नकाे जवाफ डा.श्रेष्ठसंग छैन ।उहाँले आफु यूनिट प्रमुख भएर ४ वर्षमा ९९ जनाको सय प्रतिशत सफल प्रत्यारोपण गर्नुभएको थियो ।
८ वर्षपछि फेरि सोही अस्पतालमा पुग्दा आफू छँदाको यूनिट पनि नरहेको र प्रत्यारोपण सेवा सूचारु हुन नसकेको दुखेसो गर्नुहुन्छ डा.श्रेष्ठ । बिरामीहरु बारम्बार उहाँलाई प्रश्न गर्नुहुन्छ डा. साब मेरो मिर्गाैला प्रत्यारोपण कहिले हुन्छ ? डा.श्रेष्ठ भन्नुहुन्छ, मैले अपरेशन कहाँ गएर गरौँ ? म निःशुल्क मिर्गाैला प्रत्यारोपण गर्न तयार छु तर गर्ने ठाउँ खोई ? म कहाँ गएर गरिब बिरामीकाे मिर्गाैला प्रत्यारोपण गराैं ?
डा.श्रेष्ठ भन्नुहुन्छ‚ ‘वीरमा नसके ट्रमा सेन्टरमा मिर्गाैला प्रत्यारोपण गर्ने वातावरण मिलाउन मन्त्रालयसम्म पहल गरिरहेकाे छु‚ सचिव ज्यूले पनि पहल गर्नुभयाे, अझै सुरू भएकाे छैन‚ कहाँबाट किन राेकियाे थाहा छैन । मैले प्रत्यारोपण नगरी हाजिर गरेर मात्र बस्नु परेकाे छ‚ गरिब बिरामीकाे अकाल जीवन गुमाउनु परेकाे छ ।’
वीरमा प्रत्यारोपणका लागि पहिला पनि आफ्नो छुट्टै सर्जिकल वार्ड थिएन । न्यूरो डिपार्टको अपरेशन थियटरमा पालो पर्खेर प्रत्यारोपणको समय मिलाउनुपर्थ्याे । इमरजेन्सी केस आए कहिलेकाँही प्रत्यारोपणको समय सार्नुपर्ने बाध्यता पनि थियो । पुरानो भवनमा आइसियु वार्ड रहेकोमा भूकम्पले भत्काएपछि बन्द भएकाे प्रत्यारोपण सेवा फेरी सुरु हुन सकेकाे छैन ।
श्रेष्ठकै नेतृत्वमा अंग प्रत्यारोपण सम्बन्धी कानुनलाई परिमार्जन गर्दै उक्त अस्पतालमा मस्तिष्क मृत्यु भएकाको मिर्गाैला र कलेजो प्रत्यारोपण पनि सुरुवात भयो । उहाँले ब्रेन डेथ भएका ३ जना मिर्गाैला प्रत्यारोपण तथा ३ जनाकाे कलेजो अर्काे व्यक्तिमा सफल प्रत्यारोपण गर्नुभयाे ।
वीर अस्पतालमै ११ वर्ष अगाडि नै एकै व्यक्तिको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण सेवा सुरु गर्नुभएका डा.श्रेष्ठले अंग प्रत्यारोपण केन्द्रमा १४/१५ जनाको दोस्रो पटक सत प्रतिशत सफल मिर्गाैला प्रत्यारोपण गर्नुभएकाे छ ।
बाल्यकाल देखि अंग प्रत्यारोपण विज्ञ सम्मकाे यात्रा
बागलुङको सम्पन्न परिवारमा जन्मनुभएका डा.श्रेष्ठ परिवारकाे कान्छो छोरा हुनुहुन्छ । बाबु न्यायाधीश, जेठा दाजु इन्जिनियर र माइला दाजु न्यायाधीश पछि प्रधान न्यायाधीश रहनुभएका श्रेष्ठलाई बाल्यकालमा पाइलट बन्ने चाहना थियो । तर बेलैमा उपचार नपाई कलिलै उमेरमा धेरैले अकालमा ज्यान गुमाउन परेको नेपालको टिठ लाग्दो दृश्यले एकाएक उहाँको सानो छँदाको रहरलाई मोडिदियो ।
उहाँलाई समयमा नै उपचार पाए अकालमै मृत्युवरण गर्न पर्ने नेपालीको बाध्यता केही कम हुने थियो कि भन्ने लाग्न थाल्यो र डाक्टर बन्ने अठोट लिनुभयो । गाउँकै विद्यामन्दिर विद्यालयबाट एसएलसी पास गरेपछि डा.श्रेष्ठले अमृत साइन्स कलेजबाट आइएसी गर्नुभयो ।
बंगलादेशबाट एमबीबीएस शिक्षा पुरा गरि नेपाल फर्किएपछि लोक सेवा आयाेगकाे परीक्षा मार्फत सरकारी सेवामा प्रवेश गर्नुभयो । त्यतिबेला लुम्बिनी अञ्चल अस्पतालमा मेडिकल अफिसरका रुपमा नियुक्त हुनुभएका डा.श्रेष्ठले त्यहाँ पुगेपछि फेरि अर्काे डरलाग्दो दृश्य देख्नुभयो ।
दुर्घटनामा परि अंगभंग भएको अवस्थामा घाइतेलाई समयमा नै अस्पताल ल्याइए पनि पर्याप्त सर्जन नहुँदा कयौं बिरामीको मृत्यु भएको आँखै अगाडि देखेपछि श्रेष्ठले आफू सर्जन हुने संकल्प गर्नुभयो । सर्जनको कमी भएको महसुस गरेपछि उहाँले सर्जरी विषयमा स्नातकोत्तर गर्नुभयो ।
भनिन्छ, गर्दै जाँदा सिकिन्छ । डा.श्रेष्ठको जीवनमा पनि त्यस्तै हुँदै गयो । अध्ययन सँगसँगै काम गर्दै जाँदा उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा फरक–फरक समस्या देख्नथाल्नुभयो । कहिले समयमा नै अस्पताल नपुग्दा बिरामीको बाटैमा मृत्यु हुने, कहिले अस्पताल पुर्याए पनि डाक्टर नहुँदा उपचार नपाएर बिरामीको ज्यान जाने ।
अत्याधिक मदिरा सेवनकाे कारण कलेजो बिग्रिएर ३०–३२ वर्षकै उमेरमा युवाहरुको मृत्यु भएको घटनाले श्रेष्ठलाई कलेजो प्रत्यारोपण गर्ने डाक्टर हुने इच्छा जगायो । श्रेष्ठलाई बेलायत सरकारको छात्रबृत्तिमा कलेजो प्रत्यारोपण सम्बन्धी अध्ययनको मौका मिल्यो । सन् २००० मा बेलायत जानुभएका उहाँको ८ वर्ष उतै बित्यो ।
बेलायतको बसाइ उहाँकाे जीवनमा काेशेढुङ्गा सावित भयाे, उहाँलाई आफ्नाे जीवन लक्ष्यलाई मजबुत तथा आफुलाई दक्ष तथा प्रतिष्ठित अंग प्रत्यारोपण विज्ञ बन्ने माैका मिल्याे । डा.श्रेष्ठले उक्त माैकाकाे भरपुर सदुपयाेग गर्दै आफुलाई याेग्य तथा सफल अंग प्रत्यारोपण विज्ञ सावित गर्नुभयाे। बेलायतमा छँदा अपरेशन थियटरमा बिरामीको सर्जरी गर्ने क्रममा सिनियर डाक्टरलाई एसिस्ट गर्दाको क्षण सम्झदा उहाँलाई अहिले पनि हाँसो लाग्छ ।
‘आफुभन्दा अग्ला–अग्ला, सिनियर, आफ्नो र उनीहरुको भाषा फरक अंग्रेजीकाे लवज पनि फरक । आफूले बोलेको नबुझ्ने होकि भन्ने डर त हुन्थ्यो नै, डा.श्रेष्ठ भन्नुहुन्छ, ‘उहाँहरु भन्दा होचो भएकोले मैले खुट्टा उचालि उचालि सिनियरले कलेजो/मिर्गाैला प्रत्यारोपण गरेको हेर्नुपर्थ्याे, कहिले त देख्थिन पनि।’
८ वर्ष बेलायत बस्दा ६ वर्षसम्मकाे कडा परिश्रम, पेशाप्रतिकाे लगाव तथा सिक्ने उत्सुकताकाे नतिजा स्वरुप ६ वर्षमा श्रेष्ठ दक्ष प्रत्यारोपण विज्ञ हुनुभएकाे र आफैं प्रत्यारोपण गर्न सक्षम रहेकाे र आफ्नै अगुवाईमा प्रत्यारोपण गर्न गुरु प्रा.डा. डेभिड टबर्टकाे सुझाव पछि डा.श्रेष्ठले बेलायतमै प्रत्यारोपण थाल्नुभयो । बेलायतमा छँदा आफुले करिव ३ सय जना बिरामीको मिर्गाैला प्रत्यारोपण गरेको उहाँ बताउनुहुन्छ ।
आफू कार्यरत संस्थामा मस्तिष्कको मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिको कलेजो तथा मिर्गाैला प्रत्यारोपण भएको देखेपछि आफ्नो देशमा पनि किन यस्तो नगर्ने भनेर डा.श्रेष्ठले स्वदेश फर्कने सोच बनाउनुभयो ।
एकै व्यक्तिको दोस्रो र तेस्रो पटकसम्म सफल मिर्गाैला प्रत्यारोपण गर्नु भएका श्रेष्ठलाई नेपाल नफर्कन त्यहाँका सिनियर डाक्टर र सहकर्मीले धेरै पटक अनुरोध गर्नुभएको थियो । ‘नेपालमा प्रत्यारोपण सेवा नै सुरु नभएको अवस्थामा तिम्रो सिप खेर जान्छ भनी पिर गर्नुहुन्थ्यो, डा.श्रेष्ठ भन्नुहुन्छ, ‘मेरो देशमा प्रत्यारोपण सेवा सुरु गर्न मलाई सहयोग गर्नुहोस् भनेर मैले भन्नेगर्थे । मेरा गुरु प्रा.डा.डेभिड टबर्टले मलाई यस कार्यमा निकै सहयोग गर्नुभएको छ । ’
बिरामीहरु के भन्छन्
भारतमा मिर्गाैला प्रत्यारोपण असफल भई नेपाल आउनुभएका धर्मराज भुषाल डा. श्रेष्ठ आफ्नो लागि भगवान सरह हुनुभएको प्रशंसा गर्नुहुन्छ । ‘मेरो महिनौ समय निकै कष्टसँग बित्यो, भारतमा उपचार सफल हुन सकेन । नेपाल फर्किएपछि म वीर अस्पताल भर्ना भएँ, अनि डा.श्रेष्ठले हाँस्दै भन्नुभयो केदारजी म तपाईको अपरेशन गर्ने व्यक्ति हुँ, चिन्ता लिन पर्दैन ठिक भइन्छ ।’ डा.श्रेष्ठले भुषालको ११ वर्षअघि वीरमा दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्नु भएको थियो ।
अपरेशनपछि हाम्रो छोराको के होला भनेर पीर गर्दै घरमा बसिरहेका थियौंँ, राती १२ बजे डा.श्रेष्ठको मेजेस आयो दीपक जी आत्तिनु पर्दैन बाबुको पिसाव खुलिसकेको छ अवस्था सामान्य छ । अहो यस्तो डाक्टर जसले बिरामीको हरेक अवस्थाबारे परिवारलाई जानकारी गराउनु हुँदो रहेछ जस्तो लाग्यो, उहाँले बिरामी र परिवारका लागि देखाउनुभएको आत्मियता हाम्रो लागि औषधि भन्दा पनि महत्वपूर्ण थियो, औषधि उत्पादक संघका पूर्वअध्यक्ष दिपक दाहालले छोराको मिर्गाैला प्रत्यारोपण गर्दाको समय सम्झनुभयो ।
बिरामीको तुलनामा प्रत्यारोपण अति कम
नेपालमा मिर्गाैला प्रत्यारोपण सेवा नहुँदा उपचार नपाई सयौं बिरामीको अकालमै मृत्यु हुने गर्दथ्यो । प्रत्यारोपण सेवा सुरु हुनुभन्दा केही समय अघि मात्रै विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययनले मिर्गाैला प्रत्यारोपण सेवा नभएका नेपाल जस्ता गरिब देशमा मिर्गाैला फेल भएकामध्ये ९० प्रतिशत बिरामीको केही महिनामा नै मृत्यु हुने गरेकाे देखायाे ।
त्यतिबेला डाइलाइसिस सेवा अति नै कम थियो । अहिले देशरभर ७५ वटा डाइलासिस केन्द्रबाट करिव ५ हजार जनाको डाइलाइसिस भइरहेको छ भने ३ वटा सरकारी, ४ वटा निजी अस्पतालले अंग प्रत्यारोपणको अनुमति पाएको छ । पछिल्लो १० वर्षमा मिर्गाैला रोगको उपचारमा देशले काँचुली फेरेको विश्लेषण श्रेष्ठको छ ।
यद्यपि नेपालमा मिर्गाैला बिरामीको स्थिति नाजुक रहेको बेला प्रत्यारोपण सेवा सुरु हुनु सुखद भए पनि बिरामीको तुलनामा यो पर्याप्त नभएको श्रेष्ठको ठम्याई छ । अस्वस्थ खानपिन र जीवनशैली लगायतका विभिन्न कारणले नेपालमा वर्षेनी ३० लाख मानिसमा मिर्गौला सम्बन्धी कुनै न कुनै समस्या देखिँदै आएको छ । जसमध्ये ३ हजार जनाको मिर्गाैलाले काम नगर्ने पाइएको छ । तर वर्षमा २ सय जनाको पनि मिर्गाैला प्रत्यारोपण हुँदैन ।
त्यसैले अब प्रत्यारोपण सेवालाई केन्द्रमा मात्रै नभई सरकारी स्तरमा नै सातै प्रदेशमा विस्तार गर्न ढिला गर्न नहुने श्रेष्ठको सुझाव छ । ब्रेन डेथ भएकाको अंग प्रत्यारोपण गर्ने कार्यलाई तिव्र बनाउनपर्ने उहाँको भनाइ छ । नेपालमा वार्षिक १ हजार जनाको ब्रेन डेथ हुने गरेको पाइएको छ ।
प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणमा सहभागी किन भइएन
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक नेपालमा नै मिर्गाैला प्रत्यारोपण गर्ने चर्चा चलिरहँदा अंग प्रत्यारोपण केन्द्रमै गर्ने हो कि भन्ने चासो पनि बढेको थियो । तर उहाँको प्रत्यारोपण शिक्षण अस्पताल महाराजगञ्जमा गर्ने निधो भयो । नेपालमा नै सक्षम र अब्बल मिर्गाैला प्रत्यारोपण गर्ने डाक्टर हुँदाहुँदै भारतबाट डाक्टर बोलाएर प्रत्यक्ष निगरानिमा प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण गरियो ।
तर प्रधानमन्त्री ओलीको दोस्रो पटकको प्रत्यारोपण अंग प्रत्यारोपण केन्द्रमा नै सम्भव थियो भन्नुहुन्छ डा.श्रेष्ठ । उहाँ भन्नुहुन्छ, ‘प्रधानमन्त्रीको प्रत्यारोपण हुनु अगाडिसम्म सो केन्द्रमा १५ जनाको दोस्रो पटकको प्रत्यारोपण सफल भइसकेको थियो, मेरा लागि दोस्रो पटकको प्रत्यारोपण गर्नु कुनै नौलो थिएन, त्यसैले प्रधानमन्त्रीको दोस्रो प्रत्यारोपण मैले पनि गर्न सक्थेँ तर उपचार गर्ने कुरा प्रधानमन्त्री ज्यूको निजी विषय हो ।’
तपाईँको अभिमत