चिकित्सकहरूको विरोधपछि नेपाल मेडिकल काउन्सिलले फिर्ता लियो पुरानो निर्णय
दर्ता खारेज गर्ने निर्णय स्थगित
काठमाडौँ, ५ जेठ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ३६ जना गैरआवासीय नेपाली चिकित्सकको नाम दर्ता कितावबाट हटाउने निर्णय स्थगित गरेको छ ।
काउन्सिलको गत २९ वैशाखमा बसेको पूर्ण बैठकले यसअघि गरिएको नाम दर्ता खारेजसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्ने तथा ती चिकित्सकहरूको नाम दर्ता कितावमा यथावत राख्ने निर्णय गरेको हो ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेका अनुसार अब विदेशमा रहेका नेपाली मूलका चिकित्सकलाई गैरआवासीय नेपाली चिकित्सकको सूचीमा दर्ता हुन आह्वान गरिनेछ । उहाँले गैरआवासीय चिकित्सकको रूपमा नाम दर्ता भएपछि मात्र उनीहरूको नाम नेपाली चिकित्सकको मूल दर्ता कितावबाट स्वतः हट्ने बताउनुभयो।
यसअघि नाम खारेज गर्ने विषयमा सूचना जारी भएको थियो । अहिले उक्त निर्णय कार्यान्वयन नगर्ने निर्णय गरिएको हो, डा.पाण्डेले भन्नुभयो “विदेशमा रहेका गैरआवासीय नेपाली चिकित्सकलाई गैरआवासीय लाइसेन्स लिन आह्वान गरिनेछ ।”
यसअघि काउन्सिलले दुई पटक सार्वजनिक सूचना जारी गर्दै विदेशी राहदानी लिएका ३६ जना चिकित्सकको नाम दर्ता कितावबाट हटाइएको जानकारी दिएको थियो । उक्त निर्णयको विदेशमा रहेका नेपाली चिकित्सकहरूले विरोध गरेका थिए ।
काउन्सिलको २०८२ भदौ १२ गते बसेको पूर्ण बैठकले नेपाली नागरिकता त्याग गरी विदेशी राहदानी लिएका चिकित्सकको नाम दर्ता कितावबाट हटाउने निर्णय गरेको थियो ।
त्यतिबेला गरिएको निर्णयमा विदेशी राहदानी लिएका चिकित्सकलाई एकपटकका लागि ‘गुड स्ट्यान्डिङ’ प्रमाणपत्र जारी गरी त्यसपछि काउन्सिलको दर्ता कितावबाट नाम हटाउने उल्लेख गरिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत