रेजिडेन्ट चिकित्सकलाई अत्यधिक ड्युटी नलगाउन नेपाल मेडिकल काउन्सिलको आग्रह
काठमाडौं । नेपाल मेडिकल काउन्सिल ले विभिन्न विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा शिक्षण अस्पतालहरूमा स्नातकोत्तर तहमा अध्ययनरत रेजिडेन्ट चिकित्सकलाई अत्यधिक कार्यबोझ दिइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलले सोमबार विज्ञप्ति जारी गर्दै एमडी, एमएस तथा एमडीएस तहमा अध्ययनरत रेजिडेन्ट चिकित्सकलाई नियमित रूपमा २४ घण्टादेखि ३६ घण्टाभन्दा बढी समयसम्म ड्युटीमा खटाइने गरिएको जानकारी प्राप्त भएको उल्लेख गरेको हो ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेद्वारा जारी विज्ञप्तिमा लामो समयसम्म लगातार ड्युटी गर्दा चिकित्सकहरू चरम शारीरिक तथा मानसिक थकानको अवस्थामा पुग्ने उल्लेख गरिएको छ । यस्तो अवस्थाले चिकित्सकको निर्णय क्षमतामा असर पुग्ने र उपचार प्रक्रियामा अनजानमै त्रुटि हुन सक्ने जोखिम बढ्ने काउन्सिलको भनाइ छ ।
निमित्त रजिष्ट्रार डा. पाण्डेले रेजिडेन्ट चिकित्सकहरू स्वास्थ्य सेवा प्रणालीको महत्वपूर्ण जनशक्ति भएको उल्लेख गर्दै उहाँहरूको स्वास्थ्य र कार्यक्षमता सुरक्षित राख्नु अत्यावश्यक रहेको बताउनुभयो । “अत्यधिक कार्यबोझका कारण चिकित्सक शारीरिक र मानसिक रूपमा कमजोर हुँदा त्यसको प्रत्यक्ष असर बिरामीको उपचार तथा सुरक्षामा पर्न सक्छ,” उहाँले बताउनुभयो ।
उहाँले बिरामीलाई सुरक्षित, प्रभावकारी तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक स्वयंको स्वास्थ्य अवस्था पनि अनुकूल हुनुपर्ने विषयलाई काउन्सिलको ‘कोड अफ इथिक्स’ ले स्पष्ट रूपमा उल्लेख गरेको जानकारी दिनुभयो ।
काउन्सिलले २४ घण्टे ड्युटी सम्पन्न भएपछि अनिवार्य रूपमा पर्याप्त विश्रामको व्यवस्था गर्न सम्बन्धित विश्वविद्यालय, प्रतिष्ठान तथा अस्पताल प्रशासनलाई आग्रह गरेको छ । साथै रेजिडेन्ट चिकित्सकको मानसिक स्वास्थ्य संरक्षण, तनाव व्यवस्थापन तथा सहज कार्यस्थल वातावरण निर्माणका लागि आवश्यक परामर्श तथा सहयोग संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ ।
त्यसैगरी, नियमित ड्युटिबाहेक रेजिडेन्ट चिकित्सकलाई सामान्यतया हप्तामा बढीमा दुई पटक मात्रै २४ घण्टे ड्युटीमा खटाउन सकिने व्यवस्था कार्यान्वयन गर्न पनि काउन्सिलले सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छ ।
काउन्सिलले स्वास्थ्य सेवा क्षेत्रको गुणस्तर सुधार, चिकित्सकको मनोबल अभिवृद्धि तथा बिरामी सुरक्षालाई सुनिश्चित गर्न सबै शिक्षण संस्था तथा अस्पताल प्रशासन जिम्मेवार र संवेदनशील बन्नुपर्ने आवश्यकता औंल्याएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत