फार्मेसी परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी तण्डुकारलाई
काठमाडौँ । नेपाल फार्मेसी परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी उषा तण्डुकारलाई दिइएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले परिषद्को प्रशासनिक कामलाई निरन्तरता दिने उद्देश्यसहित उहाँलाई उक्त जिम्मेवारी दिएको हो ।
स्वास्थ्य मन्त्री निशा मेहता ले मन्त्रीस्तरीय निर्णयमार्फत अर्को व्यवस्था नभएसम्मका लागि तण्डुकारलाई परिषद्को नेतृत्व सम्हाल्ने जिम्मेवारी तोक्नुभएको मन्त्रालय स्रोतले जनाएको छ ।
तण्डुकार वरिष्ठ औषधि व्यवस्थापक (दशौँ तह) हुनुहुन्छ । उहाँ यसअघि मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखामा कार्यरत रहँदै औषधि व्यवस्थापन, नियमन तथा गुणस्तरसम्बन्धी क्षेत्रमा काम गर्दै आउनुभएको थियो ।
यसअघि परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेयले गत २२ वैशाखमा पदबाट राजीनामा दिनुभएको थियो । सरकारले ल्याएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ पछि विकसित परिस्थितिलाई ध्यानमा राख्दै उहाँले मार्गप्रशस्त गर्नुभएको बताइएको छ ।
पाण्डेयको राजीनामापछि परिषद्को नियमित काम प्रभावित हुन नदिन मन्त्रालयले निमित्त रजिष्ट्रारको व्यवस्था गरेको हो ।
हाल मन्त्रालयले विभिन्न स्वास्थ्यसम्बन्धी परिषद् तथा काउन्सिलहरूमा अस्थायी नेतृत्वमार्फत दैनिक प्रशासनिक तथा सेवा प्रवाहका कामलाई अघि बढाइरहेको जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत