‘आयोडिनयुक्त नुन स्वास्थ्यका लागि अपरिहार्य’
अखाद्य र पुनः प्याकेजिङ गरिएको नुनमाथि कडा निगरानी आवश्यक
झापा । पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न अनौपचारिक माध्यममार्फत आयोडिनयुक्त नुनबारे अनेकौँ भ्रम र अपुष्ट जानकारी फैलिन थालेपछि स्वास्थ्य क्षेत्रका विज्ञ, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवाला निकायले त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले वैज्ञानिक तथ्य र प्रमाणित स्वास्थ्य अध्ययनलाई आधार बनाएर मात्र धारणा बनाउन उपभोक्तालाई आग्रह गरेका छन् ।
राष्ट्रिय उपभोक्ता मञ्च द्वारा बिर्तामोडमा आयोजित ‘बजारमा उपलब्ध नुनको गुणस्तर तथा यसको उपभोगबाट हुनसक्ने जोखिम’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले आयोडिनयुक्त नुन मानव स्वास्थ्यका लागि आवश्यक र लाभदायक रहेको स्पष्ट पार्नुभएको हो । कार्यक्रममा स्वास्थ्यकर्मी, खाद्य गुणस्तरसम्बन्धी निकायका प्रतिनिधि, जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा स्थानीय सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा वरिष्ठ बालरोग विशेषज्ञ तथा स्वास्थ्य मन्त्रालयका पूर्व अतिरिक्त सचिव डा. टंक बाराकोटीले बालबालिकाको शारीरिक र मानसिक विकासमा आयोडिनको अत्यन्त महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँका अनुसार बाल्यावस्थामा आयोडिनको कमी भएमा सिकाइ क्षमता कमजोर हुने, स्मरणशक्ति प्रभावित हुने तथा स्नायुसम्बन्धी समस्या उत्पन्न हुन सक्ने जोखिम रहन्छ ।
“आयोडिन शरीरलाई अत्यन्त कम मात्रामा आवश्यक पर्ने तत्व हो, तर यसको प्रभाव निकै महत्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो, “यसको अभावले दीर्घकालीन स्वास्थ्य समस्या निम्तिन सक्छ, त्यसैले आयोडिनयुक्त नुनलाई बेवास्ता गर्नु उपयुक्त हुँदैन ।”
जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले आयोडिनको कमीले गलगाँड, अत्यधिक थकान, मानसिक विकासमा अवरोध तथा शरीरको वृद्धि प्रक्रियामा असर पुर्याउन सक्ने बताउनुभयो । उहाँले गर्भवती महिला, सुत्केरी आमा र बालबालिकामा आयोडिनको पर्याप्त मात्रा झन् आवश्यक हुने उल्लेख गर्नुभयो ।
उहाँका अनुसार नेपालमा विगतमा आयोडिनको कमीका कारण देखिएका स्वास्थ्य समस्यालाई नियन्त्रण गर्न आयोडिनयुक्त नुनको प्रयोग प्रभावकारी सावित भएको छ । त्यसैले भ्रमपूर्ण प्रचारका आधारमा आयोडिनयुक्त नुनको प्रयोग घटाउनु स्वास्थ्यका दृष्टिले उचित नहुने उहाँले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च का केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले सामाजिक सञ्जालमार्फत आयोडिनयुक्त नुनबारे आधारहीन प्रचार भइरहेको भन्दै त्यसबाट भ्रमित नहुन उपभोक्तालाई आग्रह गर्नुभयो । उहाँले दैनिक करिब पाँच ग्रामसम्म आयोडिनयुक्त नुनको प्रयोग स्वास्थ्यका लागि उपयुक्त मानिने जानकारी दिनुभयो ।
उहाँले पछिल्लो समय विभिन्न नाम र आकर्षक प्याकेजिङ प्रयोग गरेर बजारमा बिक्री गरिँदै आएका केही नुनको गुणस्तरमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै उपभोक्ताले आधिकारिक रूपमा प्रमाणित तथा मापदण्ड पूरा गरेका उत्पादन मात्रै प्रयोग गर्नुपर्ने बताउनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख सुवासचन्द्र वस्तीले बजारमा पुनः प्याकेजिङ गरेर फरक–फरक नाममा नुन बिक्री भइरहेको गुनासो प्राप्त भइरहेको जानकारी दिनुभयो । उहाँले यस्ता उत्पादनमध्ये केहीले गुणस्तर मापदण्ड पूरा नगर्ने सम्भावना रहेको भन्दै नियमित अनुगमनलाई प्रभावकारी बनाइने बताउनुभयो ।
उहाँका अनुसार कानुनी प्रक्रिया पूरा नगरी पुनः प्याकेजिङ गरेर बिक्री गरिने खाद्य वस्तु अवैध मानिन्छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले यस्ता गतिविधिमाथि कडाइ गर्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेसन का अधिकृत ब्रजेस झाले नेपालमा वितरण हुँदै आएको आयोडिनयुक्त नुन सरकारले तोकेको मापदण्डअनुसार उत्पादन र परीक्षण गरिने जानकारी दिनुभयो । उहाँले गुणस्तरीय र सुरक्षित नुनको प्रयोगले मात्रै जनस्वास्थ्य संरक्षणमा सकारात्मक योगदान पुग्ने बताउनुभयो ।
बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य सामग्रीको गुणस्तरमा कुनै पनि प्रकारको सम्झौता गर्न नहुने बताउनुभयो । उहाँले स्थानीय तहले बजार अनुगमनलाई थप प्रभावकारी बनाउने तथा उपभोक्ता सचेतनासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी विज्ञ तथा सरोकारवालाले सामाजिक सञ्जालमा फैलिने अपुष्ट र भ्रामक जानकारीभन्दा वैज्ञानिक अध्ययन, स्वास्थ्य विज्ञको सुझाव तथा सरकारी मापदण्डलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो । साथै, उपभोक्तालाई प्रमाणित, गुणस्तरीय तथा मापदण्डअनुसार उत्पादन गरिएका आयोडिनयुक्त नुनको प्रयोग गर्न आग्रह गरिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत