कोरोना विरुद्धको खोप पाएपछि बा– आमा फुरुङ्ग !
हेटौडाकी छ्याम् कुमारी घिमिरेको ३ वर्ष अगाडि मुटुको अपरेशन गरिएको थियो । अहिले उहाँ ७३ वर्षकी हुनुभयो । उहाँले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाउनु भएको छ । दीर्घ रोगी भएकाले संक्रमणको जोखिम उहाँलाई धेरै थियो त्यसैले नेपालमा खोप आउने हल्ला चलेलगत्तै पालो पर्खेर बस्नुभएकी घिमिरे खोप आएको एक महिनामा खोप लगाउन पाउँदा फुरुंग हुनुहुन्छ ।
कोरोनाले भटाभट मानिसहरु बिरामी हुन थालेपछि उहाँलाई बिफर महामारीको बेलामा जस्तै डर लागेको थियो । आफ्नो टोलमा दिनकै ६–७ जना बच्चाको बिफरबाट मृत्यु भएको प्रत्यक्ष देख्नुभएकी घिमिरेलाई कोरोनाबाट पनि त्यस्तै हुने हो कि भन्ने त्रास सधै रहिरह्यो । उहाँलाई नेपाल र भारतमा फैलिएको बिफर महामारीको याद अहिले पनि ताजै छ । ५५ वर्ष अगाडि भारतको कानपुरमा रहँदा उहाँकी ५ महिनाकी छोरीलाई बिफरले सिकिस्तै बनाएको थियो ।
घिमिरे सम्झनुहुन्छ, ‘५ महिने छोरीको जीउभरी जुनेलीको फुल जस्तो घाउ नै घाउ थियो, शरीरमा एक गेडो तील राख्ने ठाँउसमेत थिएन । सुरुमा ३–४ दिन हनहनी ज्वरो आयो, त्यसपछि बिबिरा देखियो,त्यतिबेला आफ्नो दुध दोएर छोरीलाई चम्चाले खुवाउँथे, अस्पताल लैजानुपर्छ भन्ने पनि थाहा थिएन, कसैले लैजाऊ भनेर पनि भनेनन् । सर– सफामा ध्यान दिइ मैले मुख बाँरे । १५ दिनपछि छोरीको अवस्था सुधार हुँदै गयो ।’
यसैगरी काठमाडौं हात्तीगौडाकी ७९ वर्षकी काली खत्रीले पनि कोरोना विरुद्धको खोप लगाउइसक्नु भएको छ । उहाँको मुहारमा चमक र बोलिचाली अहिले पनि युवा उमेरमा भए जत्तिकै तेज छ । पाठेघरमा समस्या भएपछि अस्पताल भर्ना भएको बाहेक अरु समस्या भएर उहाँले औषधि खान परेको छैन ।
उहाँको परिवारमा पनि घिमिरेको जस्तै बिफरले आक्रान्त पारेको थियो । ५० वर्षअघि उहाँकी दिदिलाई बिफरले थला पार्यो । १६ वर्षकी दिदि बिफरले थलिँदा खत्री १३ वर्षकी हुनुहुन्थ्यो । अहिले पनि शरीरमा दिदिको बिफरको दाग देखिन्छन् । ‘बडा – बडा भटमासको गेडा जस्तो घाउ आएको थियो, ज्वरोले थलिएकी थिई दिदि । टेकु अस्पतालमा २२ दिनसम्म केराको पात जस्तोमा सुताएर दिदिलाई औषधि मुलो गरियो । बिफर महामारीलाई झेल्नुभएकी खत्री भन्नुहुन्छ, ‘कोरोना आएदेखि अनुहारै नचिन्ने गरि स्वास्थ्यकर्मीहरुले पीपीई लगाइ उपचार गरेको देख्दा मन भारी हुन्थ्यो ।’
अघिल्लो दिनसम्म कोरोना विरुद्धको खोप लगाउने योजना नबनाउनुभएकी खत्रीलाई आफन्तहरुले खोप नलगाए बिरामी हुने सम्भावना झनै बढी हुन्छ भनेपछि उहाँले हिजो खोप लगाएको बताउनुहुन्छ ।
काठमाडौंका अजुर्नबाल केसी ८० वर्षको हुनुभयो । १० जनाको परिवार रहेको उहाँको घरमा कोरोना विरुद्धको खोप लगाउने नम्वर उहाँ र उहाँकी श्रीमतिको पहिला आयो । सुरु देखि नै खोप लगाउन आँतुर उहाँले गंगालाल अस्पतालमा खोप लगाउनुभएको छ । उहाँ, अरु व्यक्तिहरुलाई पनि नडराई खोप लगाउन आग्रह गर्नुहुन्छ ।
यस्तै केसीसँगै खोप लगाउन अस्पताल पुग्नुभएका भीमसेन केसी दमको बिरामी हुनुहुन्छ । लकडाउन ताका घरबाट बाहिर ननिस्की उहाँको ८ महिना बित्यो । बुढापाकाले खोप लगाउन पाउने भन्ने खबर पाएदेखि नै खोप लगाउन उत्साहित हुनुभएका उहाँ, अब खोप लगाएपछि आफु सुरक्षित हुनेमा विश्वस्त हुनुहुन्छ । तर खोप लगाएपनि स्वास्थ्यकर्मी तथा घर परिवारले मास्क लगाउन छाड्न नहुने सुझाव उहाँलाई दिनुभएको छ ।
६५ वर्षका दिवाकरभक्त खरेलसँग भने कोरोनासहित विफर विरुद्धको पनि खोप लगाएको अनुभव छ । आफु ८–१० वर्षको हुँदा उहाँले बिफरको खोप लगाएको बताउनुहुन्छ । ‘गर्मि समय, बिफरको खोप लगाउने दिन चर्काे घाम थियो, खेलिरहेको थिएँ तेरो पालो आयो भने, दौडेर गएँ । सुई हालेर ननिकालुन्जेल आँखा चिम्म गरेँ,आँखा खोलेपछि त रिगंटा लागेर ढलेछु, खरेल बिफरको खोप लगाउँदाको अनुभव सुनाउनुहुन्छ ।’
कोरोनाको खोप लगाउदा भने उहाँले पत्तै पाउनुभएन । खोप लगाएपछि आफुलाई संक्रमणको जोखिम कम रहने आशा उहाँलाई छ । विज्ञहरुले पनि कोरोना विरुद्धको खोप लगाउन सबैलाई आग्रह गरिरहनुभएको छ । बुढापाका र दीर्घ बिरामीहरुले त खोप लगाउन छुटाउनै नहुने विज्ञहरु बताउनुहुन्छ ।
नेपालमा १४ लाख ७८ हजार बढीले खोप लगाइसक्नुभएको छ जसमा १० लाख ३९ हजारभन्दा बढी संख्या जेष्ठ नागरिकहरुको रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले दोस्रो चरण अन्तर्गत जेष्ठ नागरिकहरुका लागि खोप अभियान चलिरहेको छ । नेपालमा माघ १४ गतदेखि खोप अभियान सुरु भएको थियो ।
तुलसा घिमिरे
जगन्नाथ ढकाल
तपाईँको अभिमत