अवैधानिक स्वास्थ्य संस्थामा सेवा दिए कारबाही हुने, मेडिकल काउन्सिलको चेतावनी
काठमाडौं, १७ वैशाख । अवैधानिक रूपमा सञ्चालन भइरहेका स्वास्थ्य संस्था र क्लिनिकप्रति कडाइ बढाउँदै नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूलाई सचेत गराएको छ।
काउन्सिलले दर्ता नभएका तथा स्वीकृतिविहीन संस्थामा संलग्न नहुन स्पष्ट निर्देशन जारी गरेको हो।
काउन्सिलद्वारा जारी सूचनामा चिकित्सकहरूले सेवा दिने स्थान छनोट गर्दा विशेष सतर्कता अपनाउनुपर्ने उल्लेख छ। कुनै पनि स्वास्थ्य संस्थासँग आबद्ध हुनुअघि त्यसको कानुनी मान्यता, दर्ता अवस्था तथा स्वीकृत सेवाहरूको दायरा राम्रोसँग बुझ्नुपर्ने बताइएको छ। यसबाहेक संस्थाको पूर्वाधार, उपकरण, जनशक्ति र सेवा क्षमताको अवस्था मूल्याङ्कन गरेर मात्र सेवा सुरु गर्न सुझाव दिइएको छ।
काउन्सिलका अनुसार चिकित्सकले आफूले अध्ययन गरेको विषय, सीप र दर्ता प्रमाणपत्रअनुसार मिल्ने सेवामै संलग्न हुनुपर्छ। फरक प्रकृतिको सेवा प्रदान गर्दा उपचारमा त्रुटि हुने र बिरामीको सुरक्षामा जोखिम बढ्ने सम्भावना रहने औंल्याइएको छ।
सूचनामा अवैधानिक स्वास्थ्य संस्थामा काम गर्नु पेशागत आचारसंहिता विपरीत हुने मात्र नभई कानुनी रूपमा पनि दण्डनीय रहेको उल्लेख छ। यस्ता गतिविधिमा संलग्न पाइएमा नेपाल मेडिकल काउन्सिल ऐन तथा प्रचलित नियमावलीअनुसार कारबाही गरिने काउन्सिलले जनाएको छ।
पछिल्ला दिनहरूमा अनुमतिविना सञ्चालनमा रहेका क्लिनिक तथा स्वास्थ्य केन्द्रहरूको संख्या बढ्दै गएको गुनासो आएपछि काउन्सिलले निगरानी कडा बनाएको जनाएको छ। यस्ता संस्थाबाट प्रदान हुने सेवा मापदण्डअनुसार नहुँदा बिरामीको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने जोखिम रहेको काउन्सिलको भनाइ छ।
काउन्सिलले चिकित्सकहरूलाई पेशागत नैतिकता, कानुनी दायित्व र बिरामीप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सेवा दिन आग्रह गरेको छ। साथै, स्वास्थ्य सेवाको गुणस्तर सुधार र विश्वसनीयता कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ।
हेल्थपाटी
तपाईँको अभिमत