मदिरा सेवनले कोलोरेक्टल क्यान्सरको जोखिम उच्च
अत्याधिक मदिरा सेवनले कोलोरेक्टल (मलाशय) क्यान्सरको जोखिम बढाउने एक अध्ययनले देखाएको छ। अमेरिकन क्यान्सर सोसाइटी (ACS) ले मदिरा सेवन र यसको स्वास्थ्य प्रभावसम्बन्धी अध्ययन सार्वजनिक गरेको हो।
उक्त अध्ययनमा १८ देखि ५५ वर्ष उमेर समूहका ८८ हजार ९२ अमेरिकी वयस्कलाई करिब २० वर्षसम्म अध्ययन गरिएको थियो। अध्ययनमा सहभागीमध्ये १ हजार ६ सय ७९ जनामा कोलोरेक्टल क्यान्सर पुष्टि भएको जनाइएको छ।
अध्ययन अनुसार प्रतिहप्ता १४ भन्दा बढी मदिराजन्य पेय पदार्थ सेवन गर्नेलाई अत्याधिक मदिरा सेवनकर्ता र प्रतिहप्ता ७ देखि १४ पेय पदार्थ सेवन गर्नेलाई मध्यम सेवनकर्ताको रूपमा वर्गीकरण गरिएको थियो। अत्याधिक मदिरा सेवन गर्ने व्यक्तिमा विशेषगरी मलाशय क्यान्सरको जोखिम उच्च देखिएको अध्ययनले जनाएको छ।
कम मात्रामा मदिरा पिउनेको तुलनामा अत्याधिक पिउनेमा कोलोरेक्टल क्यान्सरको जोखिम ९१ प्रतिशतले बढी रहने अध्ययनबाट पत्ता लागेको छ ।
यससम्बन्धी अध्ययन प्रतिवेदन वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो भने फक्स न्यूजले उक्त अध्ययनलाई आधार मानेर समाचार प्रकाशन गरेको छ।
यता, क्यालिफोर्नियास्थित हेल्थ फङ्सनका प्रमुख डा.मार्क हाइमन शोले मदिराले शरीरका प्रायः सबै अंगमा नकारात्मक असर पार्ने भन्दै मदिरा सेवनमा संयम अपनाउन सुझाव दिनुभएको छ।
हेल्थपाटी
तपाईँको अभिमत