'परिवार योजनाका साधनले जनसंख्या ऋणात्मक हुने दाबी मिथ्या'
नेपालमा परिवार योजनाका साधन प्रयोगकै कारण चाँडै जनसंख्या ऋणात्मक हुने भन्दै फैलाइएको प्रचार गलत रहेको सरोकारवालाहरूले बताएका छन्। महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र एम्प्लीफाइ चेञ्जले आयोजना गरेको छलफल कार्यक्रममा जनसंख्या वृद्धि दर र प्रजनन दर घट्नुको मुख्य कारण बसाइँसराइ, ढिलो विवाह, अध्ययन तथा रोजगारीका कारण सन्तान जन्माउन ढिलाइ भएको बताइएको हो।
कार्यक्रममा हाल ३४ प्रतिशत विवाहित महिलाका श्रीमान् विदेशमा रहेकाले पनि जनसंख्या वृद्धिदरमा असर परेको जानकारी दिइयो।
सन् २०११ मा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेकोमा सन् २०२१ मा २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ। विज्ञहरूका अनुसार नेपालमा जनसंख्या ऋणात्मक हुन अझै २५ देखि ४० वर्ष लाग्न सक्छ।
३३ जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक देखिए पनि यसको कारण परिवार योजना नभई रोजगारी, शिक्षा, स्वास्थ्य, सडकजस्ता पूर्वाधार अभावका कारण सहरतर्फको बसाइँसराइ रहेको बताइएको छ।
कार्यक्रममा परिवार योजना जनसंख्या घटाउने मात्र नभई आमा, नवजात शिशु, किशोरी स्वास्थ्य सुधार, महिला सशक्तीकरण, गरिबी न्यूनीकरण र प्रजनन अधिकार सुनिश्चित गर्ने प्रभावकारी माध्यम भएको सरोकारवालाको भनाइ छ ।
हेल्थपाटी
तपाईँको अभिमत