मानसिक समस्या बढेसँगै आत्महत्याका घटना पनि वृद्धि
ओखलढुंगा, २३ चैत । ओखलढुंगा जिल्लामा मानसिक स्वास्थ्य समस्या वर्षेनी तीव्र रूपमा बढ्दै गएको पाइएको छ।
स्वास्थ्य कार्यालय रुम्जाटार ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जिल्लामा मानसिक रोगीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको हो।
कार्यालयका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा मानसिक बिरामीको संख्या निरन्तर उकालो लागेको देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा २७० जना रहेका मानसिक बिरामीको संख्या आर्थिक वर्ष २०८०/८१ मा बढेर ५२२ पुगेको थियो भने आर्थिक वर्ष २०८१/८२ मा झण्डै दोब्बर वृद्धि भई ९६३ पुगेको छ।
स्वास्थ्य कार्यालय रुम्जाटारका जनस्वास्थ्य निरीक्षक नवराज बानियाँ ले मानसिक रोगीको संख्या यसरी तीव्र रूपमा बढ्नु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो। उहाँका अनुसार मानसिक स्वास्थ्य समस्याको समयमै पहिचान, उचित उपचार तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि अत्यन्त आवश्यक रहेको छ।
मानसिक रोगको वृद्धि सँगसँगै जिल्लामा आत्महत्याका घटनामा पनि वृद्धि भएको देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा २६ जनाले आत्महत्या गरेका थिए भने चालु आर्थिक वर्षमा हालसम्म ३२ जनाले आत्महत्या गरिसकेका छन्।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगा का अनुसार आत्महत्याका प्रमुख कारणमा मानसिक तनाव, आर्थिक समस्या, पारिवारिक असमझदारी, वैवाहिक विवाद तथा अवैध प्रेम सम्बन्ध रहेका छन्।
प्रहरीले आत्महत्या न्यूनीकरणका लागि मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिहरूलाई समयमै उपचार तथा परामर्श सेवा उपलब्ध गराउनुका साथै समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ।
जनस्वास्थ्य निरीक्षक बानियाँका अनुसार स्वास्थ्य कार्यालयले मानसिक स्वास्थ्य सेवा विस्तार, परामर्श सेवाको सुदृढीकरण तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम अघि बढाएको छ।
स्वास्थ्य कार्यालयले सबै नागरिकलाई मानसिक समस्या देखिएमा लुकाएर नराखी खुला रूपमा उपचार तथा परामर्श लिन अनुरोध गरेको छ।
हेल्थपाटी
तपाईँको अभिमत