ब्रेन डेथ भएका गोविन्दकाे मिर्गाैलाले जसलाई पुर्नजीवन दियो...
१३ वर्षकै उमेरमा मिलनका दुबै मिर्गाैलाकाम नलाग्ने भएका थिए ।
काठमाडौं । आजभन्दा करिब ४ वर्ष अघि । २०७४ वैशाख २९ गतेको दिन । मिलन श्रेष्ठका लागि नयाँ विहानी बनेर उदायो । उहाँका लागि उदाएको त्यो बिहान सिन्धुलीका २४ वर्षे गोविन्द भुजेलका लागि भने कहिल्यै नबिउँझिने पल बनेर आएको थियो ।
१३ वर्षकै उमेरमा मिलनका दुबै मिर्गाैलाकाम नलाग्ने भएका थिए । औषधि उपचारले केही नलागेपछि उहाँ डाइलासिसको चरणमा हुनुन्थ्यो । ‘म उपचारका क्रममा ललितपुस्थित निदान अस्पतालमा लाइनमा बसेको थिएँ’, आज जीवनको १८ वशन्त टेकिसकेका मिलन त्यो दिन सम्झनुहुन्छ, ‘त्यहीबेला मलाई एउटा फोन आयो, फोनमा जे खबर सुने, त्यो खुशीले मेरो खुट्टा भुइँमै अडिएन । जीउ त्यसै त्यसै उडे झैँ भयो । मनमा आनन्दको अर्कै बतास चल्यो ।’
‘भाइ तिमी मिर्गाैलाप्रत्यारोपणका लागि तयार मानसिकतामा बस’, मैले ब्रेन डेथ भएका व्यक्तिको मिर्गाैला पाए मिर्गाैला लिन तयार छु भनी मञ्जुरीनामा दर्ता गराएको स्थानबाट मलाई फोन आयो, ‘एक जना ब्रेन डेथ भएका व्यक्तिको मिर्गाैला मिल्छ जस्तो छ । यदि क्रस म्याचिङ भयो भने तिम्रो प्रत्यारोपण हुन्छ ।’
मिर्गाैलाको डाइलासिस गर्न लामबद्द मिलनलाई नाँचु कि उफ्रिउँ झैँ भयो । उहाँ फोनमा सुनेको समाचारले दंग पर्नुभयो । खुशीले दुबै आँखामा पानी छचल्कियो ।
०००
सबै परीक्षण सकियो । उहाँका लागि मिर्गाैला म्याच भयो । काठमाडौं लाजिम्पाटका मिलन त्यसबेला १३ वर्षका मात्रै हुनुहुन्थ्यो । सानै उमेरमा मिर्गाैलाको समस्या देखिएपछि उहाँले उपचार गर्नुभयो । औषधि खानुभयो । औषधिले लामो समय मिर्गाैलाजोगाउन सकेन । उहाँका दुबै मिर्गाैलाकाम नलाग्ने भइसकेका थिए ।
छोरा–छोरीलाई आमा बुवाको मिर्गाैला म्याच हुने सम्भावना भए पनि उहाँको पारिवारिक अवस्थाले भने त्यो सम्भावना पहिल्यै समाप्त भइसकेको थियो ।
आमा बुवाका एक्लो सन्तान भए पनि मिलन आठ वर्षको हुँदा नहुँदै आमाकाे साथ छुटेकाे थियो । बाबु आफै बिरामी अवस्थाका । छोरा–छोरीलाई आमा बुवाको मिर्गाैला म्याच हुने सम्भावना भए पनि उहाँको पारिवारिक अवस्थाले भने त्यो सम्भावना पहिल्यै समाप्त भइसकेको थियो ।
नजिकका अरु आफन्तको मिर्गाैला लिएर प्रत्यारोपणको प्रयास पनि असफल भएका मिलनको अगाडि जीवन लम्ब्याउने एउटै उपाय थियो– डाइलाइसिस । नेपालमा त्यतिबेला ब्रेन डेथ भएकाहरुको अंगदान गर्न पाउने सम्बन्धि कानुन त बनिसकेको थियो । तर तर ब्रेन डेथ भएका कुनै पनि मानिसको मिर्गाैला निकालेर अर्काे व्यक्तिमा प्रत्यारोपण भने गरिएको थिएन । त्यसैले पनि मिलन आफ्नो जीवन लम्ब्याउने एउटै विकल्प रोजेर हिँडिरहनु भएको थियो, डाइलाइसिस गराएर ।
वैशाख २९ को त्यो दिन भने उहाँको जीवनमा नयाँ रंग लिएर आयो । ब्रेन डेथ भएका व्यक्तिको मिर्गाैला आफूलाई म्याच गरेमा लिन तयार छु भनि उहाँले मन्जुरीनामा दिइसक्नुभएको थियो । डाइलाइसिस गर्दा रुग्ण र कमजोर शरीर भए पनि उहाँ खुशीले हलुंगो बन्नुभयो ।
मिलन स्मरण गर्नुहुन्छ, ‘हुन त दुर्घटनामा परेर उहाँकाे ब्रेन डेथ भएको थियो । एउटा जीवन सकिएको खबर पक्कै सुन्दा नमिठो थियो । तर उहाँ गए पनि मलाई जीवन दिएर जानुभयो ।’ बैशाख २९ गते मिलनसँगै ५५ वर्षका गोविन्द तिमल्सिनाको पनि मिर्गाैला प्रत्यारोपण भयो । दुर्घटनामा परेका सिन्धुलीका २४ वर्षीय युवा गोविन्द भुजेलको ब्रेन डेथ भएपछि उहाँको मिर्गाैलालाई झिकिएको थियो । तिनै गोविन्दको मिर्गाैलाले एकै दिन २ जनाले पुर्नजीवन पाए ।
त्यो प्रत्यारोपण नेपालकै लागि ब्रेन डेथ भएका व्यक्तिको मिर्गाैलालिएर गरिएको पहिलो प्रत्यारोपण थियो ।
मिर्गाैला एवं कलेजो प्रत्यारोपण विशेषज्ञ एवं मानव अंग प्रत्यारोपण केन्द्रका तत्कालिन निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा मिलन र गोविन्दको प्रत्यारोपण गरिएको थियो । त्यो प्रत्यारोपण नेपालकै लागि ब्रेन डेथ भएका व्यक्तिको मिर्गाैला लिएर गरिएको पहिलो प्रत्यारोपण थियो ।
चार वर्ष अघि गरिएको मिर्गाैला प्रत्यारोपणको क्षण सम्झँदै मिलन भन्नुहुन्छ्, ‘ब्रेन डेथ भएका गोविन्द भुजेलको मिर्गाैला मैले नपाएको भए आज म कहाँ हुन्थेँ, वा कुन अवस्थामा हुन्थे भन्न सक्दिन ।’ सामान्य व्यक्तिसरह जीवन बाँचिरहनु भएका मिलन यतिबेला बिजनेस विषयमा स्नातक गर्दै हुनुहुन्छ । उहाँ स्वथ्य मात्र होइन पढाइमा पनि अब्बल हुनुहुन्छ ।
बुवा, काका, हजुरआमासँगै रहनुभएका मिलन प्रत्यारोपणपछि चिकित्सकको सल्लाहअनुसार खानपान र सरफाइमा ध्यान दिइरहेको सुनाउँनुहुन्छ ।
२०७४ सालमा चुनाव प्रचार–प्रसारकाे क्रममा जीपबाट खसेर दुर्घटना हुँदा गम्भिर घाइते हुनु भएका गोविन्दलाई काठमाडौं तिनकुनेस्थित कान्तिपुर अस्पताल ल्याइयो । तर गोविन्दलाई बचाउन सकिएन ।
गोविन्दको ब्रेन डेथ भएपछि कान्तिपुर अस्पतालका चिकित्सकहरुले उहाँको अंग अर्काे व्यक्तिलाई दिन सकिन्छ भनेर परिवारलाई जानकारी गराइयो तर परिवारबाट सहमति पाउन निकै कठिन थियो । सिन्धुलीका समाजसेवी बिनाेद बराल उक्त गाउँकै विश्वासपात्र हुनुहुन्थ्यो । नफर्कने गोविन्दको मिर्गाैलाले अरु २ जनाले पुर्नजीवन पाउन सक्छ भनेर उहाँले परिवारलाई सम्झाइबुझाइ गरि अंग दान गर्न राजी गर्नुभयाे । जुन नेपालकाे इतिहासमै ब्रेन डेथ भएका व्यक्तिको अंग लिइएको पहिलो केस थियो ।
०००
नेपालमा ब्रेन डेथ कार्यक्रम कसरी सुरु भयो ?
नेपालमा ब्रेन डेथ (मष्तिष्क मृत्यु) भएका व्यक्तिको अंग अर्को आवश्यक भएको जिवित व्यक्तिको शरीरमा राखेर पुर्नजीवन दिने कार्यक्रमको सुरुवात डा. पुकारचन्द्र श्रेष्ठले गर्नुभयो । उहाँकाअनुसार ब्रेन पूर्ण रुपमा क्षति भएर सम्पूर्ण कार्य बन्द भएको अवस्थालाई ब्रेन डेथ भनिन्छ ।
ब्रेन डेथ भएका व्यक्ति कुनै पनि हालतमा फर्कन सक्दैनन् । त्यस्ता व्यक्तिहरूको अंग अन्य व्यक्तिमा प्रयोग गर्नसके हजारौं नेपालीले नयाँ जीवन पाउने छन् ।’
ब्रेन डेथ भएका व्यक्तिहरूको अन्य अंगहरूले केही समय (अत्यन्तै कम समय) काम गरिरहेका हुन्छन् । तर बिस्तारै–बिस्तारै अरु अंगको गुणस्तर खराब हुँदै जान्छ । डा. श्रेष्ठ सचेत गराउँनुहुन्छ, ‘मानिसहरूलाई लाग्न सक्छ, ब्रेन डेथ भएपछि पनि बिरामीको हात खुट्टा चलिरहेको हुन्छ, ब्यूतिन सक्छ, तर त्यो भ्रम मात्र हुनसक्छ । चिकित्सा विज्ञानले प्रमाणित गरेको छ कि ब्रेन डेथ भएका व्यक्ति कुनै पनि हालतमा फर्कन सक्दैनन् । त्यसैले त्यस्ता व्यक्तिहरूको अंग अन्य व्यक्तिमा प्रयोग गर्नसके हजारौं नेपालीले नयाँ जीवन पाउने छन् ।’
ब्रेनले काम नगर्ने भएपछि शरीरका अरु अंगहरूले पनि बिस्तारै काम गर्न छाड्छन् । नेपालमा वर्षेनी दुर्घटना वा अन्य कुनै रोगका कारण २ हजार भन्दा बढी र काठमाडौंमा मात्रै १ हजारभन्दा बढीको ब्रेन डेथ हुने गरेको छ । यही तथ्यांकलाई मध्यनजर गर्दै डा. श्रेष्ठ नेपालमा पनि ब्रेन डेथ भएकाहरुको अंग अरु व्यक्तिमा प्रयोग गर्न सके धेरै नेपालीको ज्यान जोगिने भन्दै ब्रेन डेथ कार्यक्रमका लागि निरन्तर लाग्नुभयो ।
बेलायतमा ६ वर्षसम्म कलेजो र मिर्गाैला प्रत्यारोपणमा सहभागी हुनुभएका डा. श्रेष्ठले त्यहाँ ८० प्रतिशत प्रत्यारोपण, ब्रेन डेथ भएका व्यक्तिहरूको अंग प्रयोग गरि गरिएको बताउनुहुन्छ । वि.स.२०६५ मा बेलायतबाट फर्किएपछि डा. श्रेष्ठले अंग प्रत्यारोपण ऐन कानुन र जानकारीका लागि ८ वर्ष कसरत गर्नुपर्यो ।
८ वर्षको अथक प्रयासपछि अन्तत २०७२ सालमा मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ लाई संसोधन गरि ऐनको दायरा बृहत्तर बनाइयो । २०७३ साल मंसिर १६ गते नियमावली बन्यो । मानव शरीरको अंग प्रत्यारोपण(नियमित तथा निषेध) ऐन २०५५ मै आएको थियो तर त्यो ऐनको व्यवस्था साँघुरो भएकाले नगन्य संख्यामा मात्रै मिर्गाैला प्रत्यारोपण भइरहेको थियो ।
ऐन संसोधनका लागि तत्कालिन स्वास्थ्यमन्त्री खगराज अधिकारीको देन ठुलो रहेको छ भने नियमावली बनाउन तथा कार्यान्वयन गर्न तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाको भुमिका अतुलनिय रहेको छ । नियमावली बनेको तेस्रो दिनमा नेपालमा कलेजो प्रत्यारोपणको सुरुवात भएको थियो ।
ब्रेन डेथ भएका व्यक्तिको अंग सबैले पाउँदैनन् । सर्वप्रथम, ब्रेन डेथ भएका व्यक्तिको अंग म्याचभएमा आफू सो अंग लिन तयार रहेको भनी बिरामीले उपचाररत अस्पतालमा मञ्जुरीनामा दिनुपर्दछ ।
त्यसरी मञ्जुरीनामा दिएका व्यक्तिहरूमध्ये पनि सबैभन्दा बढी समय अंगको पर्खाइमा बसेको, डाइलाइसिस धेरै समयदेखि गरिरहेको, ब्रेन डेथ भएका व्यक्ति र लिने व्यक्तिको उमेर समान भएमा अंग लिने व्यक्ति र ब्रेन डेथ भएका व्यक्तिको अंगको म्याचिङ राम्रो भएमा र ब्रेन डेथ भएका व्यक्ति महिला वा पुरुष जो भएपनि महिला पहिलो प्राथमिकतामा पर्नेछ भनेर नियमावलीमा प्राथमिकता निर्धारण गरिएको छ ।
नेपालमा अहिलेसम्म भएका मिर्गाैला तथा कलेजो प्रत्यारोपणमा अंग दिने व्यक्तिहरू महिला रहेको तर महिलालाई अंग दिने संख्या न्यूनरहेकाले महिलाको जीवन जोगाउन महिलालाई प्राथमिकतामा राखिएको श्रेष्ठ बताउनुहुन्छ ।
उहाँको अंग निकाल्न सकिन्छ भनेर आफन्तलाई सम्झाउन हामीलाई निकै सकस हुन्छ
ब्रेन डेथ भएकाे कति समय सम्म अंग प्रयोग गर्न सकिन्छ ?
चिकित्सकले बिरामीलाई ब्रेन डेथ भएको घोषणा गरेको जतिसक्दो छिटो त्यस्ता व्यक्तिको अंग निकालिहाल्नुपर्छ । अंग निकालेपछि आइस बक्समा राख्नुपर्छ । अंग निकालिसकेपछि मिर्गाैला २४ घण्टा, कलेजो र आमाशय १० देखि १२ घण्टा, मुटु तथा फोक्सो ४ देखि ६ घण्टाभित्र अर्काे जिवित शरीरमा प्रयोग गर्नुपर्छ । तर नेपालमा अहिलेसम्म जम्मा ३ जना ब्रेन डेथ भएका व्यक्तिहरुको मिर्गाैला र कलेजो ६ जना व्यक्तिमा प्रयोग गरिएको छ ।
ब्रेन डेथ भएका व्यक्तिहरूको अंग अरु बिरामीमा प्रयोग गर्ने काम निकै चुनौतीपूर्ण रहेको बताउँदै डा. श्रेष्ठले यो कार्यक्रम सफल बनाउन जनचेतनामा जोड दिनुपर्ने बताउनुहुन्छ । ‘बिरामी आईसीयूमा हुन्छ, बाहिर आफन्त कुरिहेका हुन्छन् । तपाईको बिरामीको ब्रेन डेथ भइसक्यो अब बाँच्नु हुन्न । उहाँको अंग निकाल्न सकिन्छ भनेर आफन्तलाई सम्झाउन हामीलाई निकै सकस हुन्छ’, डा श्रेष्ठले भन्नुभयो, ‘त्यसैले ब्रेन डेथका बारेमा अहिलेबाट नै जनचेतना फैलाउन जरुरी छ ।’
जगन्नाथ ढकाल
तुलसा घिमिरे
तपाईँको अभिमत