असन्तुष्ट पक्षको दबाबपछि नर्सिङ संघको पुनः आन्दोलन घोषणा

फाइल तस्बिर ।
नेपाल नर्सिङ संघले पुनः आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको सहमतिमा असन्तुष्ट रहेका आन्दोलनकारी नर्स तथा स्वास्थ्यकर्मीको दबाबपछि संघले पुनः आन्दोलन स्थगति गर्ने निर्णयबाट संघ 'ब्याक' भएको हो ।
आइतबार साँझ विज्ञप्ति जारी गर्दै संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
विज्ञप्तिमा भनिएअनुसार न्यूनतम पारिश्रमिक सरकारी सरह दिने बुँदामा सहमति भएपनि अन्य बुँदामा आन्दोलनरत पक्षको आपत्ति रहेको हुनाले आन्दोलनरत नर्स र नेपाल नर्सिङ सङ्घबिच भएको आकस्मिक छलफलबाट पुनः पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम सुचारु गर्ने निर्णय भएको हो । ‘आज मिति २०८२/७/१६ गते बसेको आकस्मिक छलफलबाट असहमति जनाउँदै आन्दोलनका कार्यक्रमहरू पूर्वयोजनाअनुसार जारी राख्दै आजको मितिबाट ४८ घण्टाभित्र हाम्रो माग सम्बोधन नभएमा सरकारी, निजी, गैरसरकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यक बाहेकका सम्पूर्ण नर्सिङ सेवाहरू निजी तथा सरकारी स्वास्थ्य संस्थाहरूमा देशव्यापी रूपमा ठप्प पार्ने घोषणा गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।
शनिबार मन्त्रालयमा भएको सहमतिमा न्यूनतम पारिश्रमिक सरकारी सरह भनेर नतोकी एकमुष्ठ ‘ग्रस’ तलब ३४,७३० रुपैयाँ दिने भनिएको भन्दै नर्स तथा स्वास्थ्यकर्मी संघर्ष समितिकी संयोजक ज्योति रानाभाटलगायतले असन्तुष्टि जनाउनुभएको थियो । उहाँले सहमतिमा हस्ताक्षर नगरी छलफलबाट बाहिरिनुभएको थियो ।
आइतबार बिहानबाट उहाँसहितका करिब १५० जनाको सङ्ख्याका नर्सहरूले नर्सिङ संघको केन्द्रीय कार्यालय लाजिम्पाट घेरेर संघलाई दबाब दिएका थिए ।
हेल्थपाटी
तपाईँको अभिमत