नर्सलाई सरकारी सरह तलब दिन मेडिकल कलेज सञ्चालक तयार
नर्सलाई सरकारी सरह (३४,७३०/–) तलब दिन मेडिकल कलेज सञ्चालक तयार भएका छन् । शनिबार नर्सहरूको माग सम्बोधन गर्न बसेको वार्तामा सरकारी सरह तलब दिन मेडिकल कलेजर र ठुला अस्पतालहरू तयार भएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार ठूला अस्पताल र मेडिकल कलेजहरूले कात्तिक महिनादेखि शतप्रतिशत तलब दिने सहमति भएको छ। अन्य अस्पतालहरूले भने हालका लागि ८० प्रतिशत तलब दिने र सरकारले नर्सहरूको समस्या समाधानका लागि बनाएको कार्यदलले प्रतिवेदन बुझाएपछि ती अस्पतालले पनि सरकारी सरह तलब दिने व्यवस्था गरिने छ।
डा. बुढाथोकीले कार्यदलको अवधि एक महिना थपिएको जानकारी दिनुभयो। तर, जेनजी तर्फबाट सहभागी नर्स प्रतिनिधिले भने सहमतिपत्रमा हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको छ। उहाँहरूले सरकारी सरह तलब मात्र होइन, पोसाक, हजाड, रात्रिकालीन लगायत सम्पूर्ण भत्ता उपलब्ध गराउनुपर्ने माग राख्नुभएको थियो।
वार्तामा स्वास्थ्य मन्त्री डा. सुधा शर्मा, सचिव डा. विकास देवकोटा, समितिका संयोजक डा. श्रीकृष्ण श्रेष्ठ, प्रवक्ता डा. प्रकाश बुढाथोकी, नेपाल नर्सिङ संघकी अध्यक्ष र महासचिव, साथै निजी मेडिकल कलेज र अस्पतालका प्रतिनिधिहरू सहभागी रहनुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत