नर्सिङ सङ्घले गर्यो चरणबद्ध आन्दोलन घोषणा, अत्यावश्यक बाहेक सबै नर्सिङ सेवासमेत बन्द गरिने

फाइल तस्बिर ।
नेपाल नर्सिङ संघले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार संघको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
सेवा सुविधा वृद्धिको माग गर्दै नर्संहरू आन्दोलित भएका हुन् ।
पत्रकार सम्मेलनमा नेपाल नर्सिङ सङ्घकी केन्द्रीय अध्यक्ष प्रा. चन्द्रकला शर्माले आन्दोलनका कार्यक्रम अनुसार कात्तिक ४ देखि ११ गतेसम्म देशभरिका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य शैक्षिक संस्थाहरुमा कालो पट्टी बाँधेर काम गर्ने निर्णय भएको जानकारी गराउनुभयो । कात्तिक १२ देखि १८ गतेसम्म दिनको दुई घण्टा बिहान १० देखि १२ बजेसम्म अत्यावश्यक सेवा बाहेकका नर्सिङ सेवा बन्द गर्ने पनि उहाँले जानकारी गराउनुभयो ।
यसैगरी, कात्तिक १८ गतेसम्म मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदन अनुसार थप कार्य तालिका प्रकाशित गरिने बताइएको छ ।
उहाँले नर्सले काम गरीसकेपछि उनीहरुको रोजिरोटीको लागि आवश्यक तलब सुविधा हुनुपर्ने भन्दै सङ्घले त्यसैको लागि आन्दोलन गर्ने घोषणा गरेको बताउनुभयो ।
हालसम्म पनि नर्सिङ सेवालाई श्रम ऐनअन्तर्गत राखिएको भन्दै स्वास्थ्य सेवा अन्तर्गत राखिनुपर्ने सङ्घकी महासचिव डा. देवकाकुमारी आचार्यले बताउनुभयो ।
मणिपाल अस्पतालका नर्सहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक माग गर्दै आन्दोलन थालेपछि अन्य स्थानका नर्सहरू पनि आन्दोलित भएका हुन् ।
हेल्थपाटी
तपाईँको अभिमत