नर्स आन्दोलनमा स्वास्थ्य क्षेत्रका संगठनहरूको ऐक्यबद्धता
देशभरका नर्सहरूको आन्दोलनलाई स्वास्थ्य सेवा क्षेत्रसँग सम्बन्धित सबै ट्रेड युनियन र पेसागत संघ–संस्थाहरूले ऐक्यबद्धता जनाएका छन्।
संयुक्त सञ्जालका नाममा जारी विज्ञप्तीमा स्वास्थ्यकर्मीहरूको १५ बुँदे मागलाई समर्थन गर्दै तत्काल समाधानका लागि नेपाल सरकारलाई आग्रह गरिएको छ। विज्ञप्तीमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की संयोजक र नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे सह–संयोजकका रूपमा छन्।
संयुक्त सञ्जालले पहिलो मागका रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०८२/०६/२४ को पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकार सरह नघट्ने गरी दिनुपर्ने, अतिरिक्त कार्यवापत भत्ता दिनुपर्ने, ज्यालादारीमा नचलाउने र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने माग गरेको छ।
त्यस्तै, स्वास्थ्यकर्मीमाथि हुने आक्रमण र तोडफोड रोक्न सरकारलाई आग्रह गर्दै स्वास्थ्य संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न माग गरिएको छ। विज्ञप्तीमा उपभोक्ता संरक्षण ऐनका स्वास्थ्यसँग बाझिएका दफा तत्काल संशोधन गरी विगतका सम्झौता कार्यान्वयन गर्न पनि जोड दिइएको छ।
संयुक्त सञ्जालले मागहरू अविलम्ब सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ। विज्ञप्तीमा भनिएको छ, “मागहरू बेवास्ता गरिए उत्पन्न हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र सरोकारवाला निकायहरूको हुनेछ।”
हेल्थपाटी
तपाईँको अभिमत