‘रियल टाइम मोनिटरिङ्का आधारमा अस्पताललाई अक्सिजन दिन्छाैं’
यदि संक्रमितलाई अक्सिजन चाहिने रहेछ भने त्यही अक्सिजन दिइनेछ नत्र सामान्य अवस्था रहे घरमा नै पठाइन्छ ।
काठमाडौं । अहिले नेपालमा कोरोना संक्रमितको उपचारमा अक्सिजनको हाहाकार छ । समयमा नै अक्सिजन नपाएर कयौं संक्रमितको मृत्यु भइरहेको छ । अहिले संक्रमितको चाप अनुसार देशभर दिनहुँ २२ हजार थान अक्सिजनको सिलिण्डरको माग छ तर जेनतेन १६ हजार सिलिण्डरको मात्रै पूर्ति भइरहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
कोभिड – १९ समन्वय तथा व्यवस्थापन केन्द्र सिसिएमसिले अस्पतालहरुमा कोटा प्रणाली लागू गरेपछि अक्सिजनको अभाव झनै बढ्यो । तर अहिले अक्सिजनको व्यवस्थापन गर्ने जिम्मा स्वास्थ्य मन्त्रालय आफैले लिएको छ यो सँगै अक्सिजनमा कोटा प्रणाली खारेज भएको छ ।
मन्त्रालयले अक्सिजन व्यवस्थापनको जिम्मा लिएपनि माग अनुसार सहज आपूर्ति भने अझै हुन सकिरहेको छैन । यस्तो अवस्थामा मन्त्रालयले अक्सिजनको जोहो कसरी गर्दैछ भन्ने विषयमा हामीले प्रवक्ता प्राडा.जागेश्वर गौतमसँग कुरा गरेका छौ ।
रियल टाइम मोनिटरिङ्का आधारमा अस्पतालहरुमा अक्सिजन दिने हो ।
कोटा प्रणाली हटेको छ, मन्त्रालयले अक्सिजनको व्यवस्थापन कसरी गर्दैछ ?
हो । अहिले देशका विभिन्न स्थान विशेषगरि काठमाडौं उपत्यकामा अक्सिजनको अभाव चरम छ । मागभन्दा आपूर्ति कम भएकाले सबैतिर एकैपटक अक्सिजनको हाहाकार मच्चियो । हामीले अस्पतालहरुमा अक्सिजनको अवस्था बुझ्न, निगरानी राख्न मन्त्रालयले ११ औं तहका २ जना डाक्टरको संयोजकत्वमा दुईवटा टिम बनाएका छौं । त्यो टिमले अस्पतालहरुमा अक्सिजनको माग कति छ भनेर बुझ्छ र कहाँ - कति आवश्यक पर्छ सोही आधारमा अहिले उपलव्ध भएको अक्सिजन वितरण गर्छ ।
अस्पतालहरुमा अक्सिजन केका आधारमा उपलव्ध भइरहेको छ ?
कोरोना संक्रमितहरुको उपचार गरिरहेका काठमाडौं उपत्यकाका हरेक अस्पतालहरुको अनलाइन रेकर्ड हामीसँग हुन्छ । ईमरजेन्सी, हाई डिपेन्डेन्सी यूनिट, आइसियु तथा वार्डमा कति संक्रमित छन् उनीहरुको अवस्था के हो हामी नियाल्छौ र रियल टाइम मोनिटरका आधारमा अस्पतालहरुमा अक्सिजन दिने हो ।
उपत्यकामै दैनिक करिव ६ हजार सिलिण्डर अक्सिजन पुरा गर्न सकिएको छैन, सबैले अक्सिजन कहिले पाउने ?
अहिले परिस्थिति जटिल छ । मन्त्रालयले सबैसँग सहयोगको अपिल गरिरहेको छ । एक्कासी अक्सिजनको माग देखिएपछि यस्तो अवस्था आएको हो । हामीले सबै अस्पतलाहरुलाई अहिलेलाई इलेक्टिभ सर्जरी रोक्नु भनेका छौ । सरकारीमा सर्जरी बन्द छ भने केही निजीमा भइरहेका छन् । सर्जरी गरेको बिरामीलाई अक्सिजन चाहिन सक्छ भने कहिलेकांही भेन्टिलेटरको पनि आवश्यकता पर्न सक्छ ।
अहिले अक्सिजन, आइसियु र भेन्टिलेटरको अभाव भइरहेको अवस्थामा अलि पर सर्जरी गर्दा बिरामीलाई असर नपर्ने केसमा किन सर्जरी गर्न पर्यो भन्ने कुरा हो ।
पहिलाको भन्दा अहिले अक्सिजनको समस्या केही कम भएको छ । केही दिनमा अक्सिजन सहज हुनेछ ।
महामारीमा साथ सहयोग सबैको चाहिन्छ । नागरिक आफुपनि सचेत हुन जरुरी छ । अरुले सचेतता र सावधानी अपनाएर कोरोनाबाट जोगिने होइन । आफु जोगिन आफैले स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ । व्यवस्थापन तहमा बसेकाहरुले सही व्यवस्थापन गर्नुपर्छ भने सरकारले सहि समयमा उचित निर्णय लिन जरुरी हुन्छ ।
रह्यो अक्सिजनको कुरा । हामीसँग अक्सिजनका ४ वटा स्रोत छन् । एउटा,अस्पतालमै भएका अक्सिजन प्लान्ट । कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, गंगालाल र प्रसुती अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट छन् । अर्को,केही अस्पतलाहरुमा लिक्विड अक्सिजन ट्यांक छन् । यस्तो अक्सिजन ट्रमा, टेकु अस्पतालमा छ । भारतबाट लिक्विड अक्सिजन ल्याउने तयारी भइरहेको छ । तर अक्सिजन बोक्ने कम्पनीसँग २ वटामात्रै ट्यांकर रहेछ जसका कारण हामीलाई लिक्वड अक्सिजन ल्याउन गार्हो भइरहेको छ । कम्पनीलाई ट्यांकर थप्न भनेका छौ, ट्यांकर थप हुने बित्तिकै लिक्विड अक्सिजन आइहाल्छ ।
तेस्रो स्रोत भनेको अक्सिजन उत्पादन गर्ने उद्योगहरु । काठमाडौं उपत्यकामा ८ गरि देशभर सानाठुला गरि लगभग २४ वटा उद्योगहरु रहेछन् । उद्योगहरुमा पनि बिजुली आपूर्ति नहुँदा उत्पादनमा समस्या भइरहेको थियो, हामीले बिजुली आपूर्तिका लागि पनि भनिसक्यौं ।
अक्सिजनको अर्को स्रोत भनेको कन्सन्टेटर हो । कन्सन्टेटरले प्रति मिनेट १० लिटर अक्सिजन मात्रै दिन्छन् त्यसैले यो सामान्य संक्रमितलाई मात्र उपयोगी हुन्छ ।
हामीले हालै ७५ वटा कन्सन्टेटर ल्याएका छौ । ओमन र चीनबाट पनि अक्सिजन सिलिण्डर आएको छ, त्यो हामी ७ प्रदेशमा पठाउँछौ । यसै हप्ता १६ सय सिलिण्डर ल्याइदै छ,लिक्विड अक्सिजन र ट्याङक पनि ल्याउदैछौ । पहिलाको भन्दा अहिले अक्सिजनको समस्या केही कम भएको छ । केही दिनमा अक्सिजन सहज हुनेछ ।
बिरामीको आफन्तलाई अक्सिजन ल्याऊ अनि भर्ना गर्छु भन्नू गैरजिम्मेवार अभिव्यक्ती हो ।
निजी अस्पतालहरुले अक्सिजन भएन भनेर बिरामी भर्ना रोकिसके, अझै केहीदिन पर्खन पर्ने ?
नेपालको अहिलेको अवस्था दोस्रो लहर हो । देशमा आमसभा, जुलुस, प्रर्दशन, भीडभाडले यो अवस्था निम्त्याँछ भनेर हामी चिन्तित थियौ । पहिलो लहरमा संक्रमितहरु गम्भिर बिरामी भएनन् र अक्सिजनको अभाव पनि थिएन । त्यतिबेला हामीले निजी अस्पताल र मेडिकल कलेजहरुलाई कोभिडका लागि छुट्टै बेड छुट्याऊ भन्यौ । त्यसो भनिरहँदा हामी कोभिडका बिरामी हेर्न सक्दैनौ भनी कतिपय निजी अस्पतालहरु पछि हटे ।
अहिले दोस्रो लहर आयो, निजीले कोभिडका बिरामी हेर्नुको विकल्प रहेन, हेरिराछन् । दोस्रो लहरमा हामी निजी अस्पतालहरुलाई अक्सिजन प्लान्ट जोड, अक्सिजनको व्यवस्था गर भन्दा विभिन्न वहाना देखाएर हामी सक्दैनौ भनिराछन् र बिरामीलाई फिर्ता पठाइराछन् ।
काठमाडौंका सरकारी अस्पतालमा कोभिड ओपिडी शुरु गरिएको छ । कोभिड पोजिटिभ बिरामी जाँचेर सामान्य भएमा घरमा पठाउने, अक्सिजन चाहिए ओपिडीमै दिने र हेर्ने, सिरियस भए भर्ना गर्ने गरि व्यवस्था मिलाइएको छ ।
निजि अस्पतालमा पनि यसरी नै व्यवस्थापन गर्न भनिएको छ । यसले अस्पतालको भर्ना र अक्सिजनको चाप घटाउँछ । जसले गर्दा अक्सिजन र बेड नपाउने समस्या कम हुन्छ । बिरामीको आफन्तलाई अक्सिजन ल्याऊ अनि भर्ना गर्छु भन्नू गैरजिम्मेवार अभिव्यक्ती हो । भोलि डाक्टर र नर्स ल्याउ भन्ने कुरा आउला, यो गैरजिम्मेवारीको पराकाष्ठा हो । नसक्नेले छाड्नु पर्छ, त्यसपछि सक्नेले व्यवस्थापन गर्छ।
मेरो भन्नुको अर्थ के हो भने सबैले सही समयमा उचित निर्णय लिनुपर्छ । पहिला कोभिडको बेड छुट्याउन नमानेका निजी अस्पतालहरुले अहिले कोभिडको बिरामी मात्रै हेरिरहेका छन् । अहिले अक्सिजन राख भन्दा किन ढिला गर्नु ?, आखिर उनीहरुले राख्नै पर्छ । अहिले मेडिकल सामग्रीहरुमा कर छुट दिएको बेला सजिलै अक्सिजन प्लान्ट जोड्न पाउनु त व्यवसायीक रुपले पनि त फाइदै छ ।
विभिन्न अनुसन्धानले कोरोना महामारी लामो समयसम्म जान्छ भन्ने देखाइसकेका छन् । यो अवस्थामा नागरिकले वर्र्षौसम्म मास्क लगाउनपर्ने, भौतिक दुरी कायम गरि बस्नुपर्ने देखिन्छ भने अस्पतालहरुमा पूर्वाधार मर्मतसम्भार तथा थप्नुपर्ने देखिन्छ ।
अक्सिजन, बेड छैन, अवस्था सामान्य होइन । तयारी नपुगेको होइन ?
यस्तो हो । अस्पतालहरुमा नर्मल अवस्थामा पनि संक्रमितहरु अस्पताल पुग्ने गरेका छन् । जसले गर्दा पनि बेडको कमी भएको हो । सिकिस्त बिरामी जसलाई अस्पतालमै राखेर उपचार गर्नुपर्छ उहाँहरुलाई मात्रै अस्पताल जानू/लैजानू भनिरहेका छौ । अहिले हामीले कोरोना संक्रमितको उपचार गर्न उपत्यकामा १३ वटा अस्पताल छुट्याएका छौ ।
आफुलाई केही असहज हुने बित्तिकै जान सकिन्छ । आर्मी अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, शशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र नोबेल अस्पताल तथा किष्ट अस्पताल ग्वार्को र धुलिखेल अस्पताल काभ्रेमा कोभिड ओपिडिको व्यवस्थापन गरिएको छ । यी अस्पतालहरुमा कोभिड ओपिडि सञ्चालन भइरहेको छ ।
अहिले दोस्रो लहर हो । तेस्रो चौथो लहर पनि नआउला भन्न सकिन्न ।
त्यसैले पूर्ण सावधानी अपनाउन जरुरी छ ।
यी अस्पतालमा १३ जना जनशक्ति खटाएका छौ । उनीहरुले औषधि खपत, बिरामीको अवस्था बुझ्छन् । यी अस्पतालले संक्रमितलाई अवस्था हेरी घर पठाउने, भर्ना गर्ने या आइसियुमा राख्ने निर्णय लिनेछन्।
त्यहाँ गएपछि स्वास्थ्यकर्मी प्रत्यक्ष निगरानीमा स्वास्थ्य जाँच गरिन्छ । यदि संक्रमितलाई अक्सिजन चाहिने रहेछ भने त्यही अक्सिजन दिइनेछ नत्र सामान्य अवस्था रहे घरमा नै पठाइन्छ । यसबाट पनि अस्पतालहरुमा बेडको केही व्यवस्थापन हुन्छ भन्ने विश्वास हामीले लिएका छौ । अहिले दोस्रो लहर हो । तेस्रो चौथो लहर पनि नआउला भन्न सकिन्न । त्यसैले पूर्ण सावधानी अपनाउन जरुरी छ ।
सुविधा सम्पन्न अमेरिका इटाली जस्ता देशको उदाहरण भन्न चाहन्छु । त्यहाँ संक्रमण बढ्दा उमेर पुगेकालाई आइसियु र भेन्टिलेटरमा राखिएन । कारण बेड पुगेन,स्रोत साधनले भ्याएन । उमेरका आधारमा उपचार भयो भन्ने समाचार तपाई हामीले पढेकै हौं । त्यसैले सावधानी अपनाइएन भने अमेरिका र इटालीको जस्तै अवस्था नआउला भन्न सकिन्न । यसबाट जोगिने अचुक उपाय भनेको स्वास्थ्यका मापदण्ड इमान्दारीका साथ पालना गर्नुमात्रै हो ।
तपाईँको अभिमत