सातै प्रदेशमा अटिजम नमुना विद्यालय स्थापना गरिने
सरकारले सातै प्रदेशमा अटिजम नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ । अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि प्रत्येक प्रदेशमा सुविधासम्पन्न आवासीय विद्यालय सञ्चालन गर्ने योजना सरकारले सार्वजनिक गरेको हो ।
आज अप्रिल २, विश्व अटिजम सचेतना दिवसको अवसरमा बिहिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलको अध्यक्षता र स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको उपस्थितिमा भएको कार्यक्रममा उक्त कार्यक्रमको घोषणा भएको हो ।
साथै कार्यक्रममा अन्य मन्त्रालयका मन्त्रीहरू, सचिवहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको बैठक बसेको थियो । उक्त बैठकले सातै प्रदेशमा एक–एक अटिजममा आधारित नमुना विद्यालय स्थापना गर्ने तय गरेको छ ।
सरकारले यस कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन विभिन्न मन्त्रालयबीच समन्वय गर्ने निर्णय गरेको छ । त्यसका लागि अवधारणा–पत्र तयार गर्न प्राविधिक समिति गठन गरिएको छ ।
नेपालको जनगणना २०७८ अनुसार अटिजम भएकाहरुको संख्या ४ हजार ८८४ देखिन्छ । तर, विश्व स्वास्थ्य संगठनले भने नेपालमा झण्डै तीन लाखमा यस्तो समस्या रहेको अनुमान गरेको छ ।
यसअघि पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न निर्देशन दिनुभएको थियो ।
हेल्थपाटी 
तपाईँको अभिमत